+
Search

ताजा अपडेट +

पपुलर +

सात जिल्लामा ‘बर्डफ्लु’ नियन्त्रण

सात जिल्लामा ‘बर्डफ्लु’ नियन्त्रण
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

काठमाडौँ । देशका विभिन्न ११ जिल्लामा फैलिएको ‘बर्डफ्लु’ सातवटा जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ । पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, नवलपरासी र बागमती प्रदेशको चितवनमा सङ्क्रमण नियन्त्रणमा आएको हो । यद्यपि, उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

Utsuk Books & Stationery

विभागले यी चार जिल्लालाई अझै पनि निगरानीमा राखेको जनाएको छ । अन्य जिल्लामा थप सङ्क्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत बरामद गरी नष्ट गरिरहेको जनाएको छ । बागमती प्रदेशका पाँच जिल्लामा अझै पनि ‘बर्डफ्लु’ सङ्क्रमण देखा परेको छ । प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र काभ्रेपलाञ्चोकमा ‘बर्डफ्लु’ सङ्क्रमण देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जानकारी दिएको हो । पाँच जिल्लामा गत चैत ११ देखि हालसम्म दुई लाख ३८ हजार ६ सय ६९ पन्छी नष्ट गरिएको छ । यस अवधिमा ती फार्ममा रहेका पाँच लाख ११ हजार चार सय २५ वटा अन्डा र ९२ हजार आठ सय २५ सय किलोग्राम दाना नष्ट गरिएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार सङ्क्रमण पुष्टि भएको चितवनको खैरहनी नगरपालिका-१ मा ३८ हजार दुई सय कुखुरा नष्ट गरिएको छ भने दुई लाख ९५ हजार ५० वटा अन्डा र १२ हजार केजी दाना नष्ट गरिएको छ । चितवनकै भरतपुर महानगरपालिका-४ मा रहेको फार्मबाट १८ हजार आठ सय ६३ कुखुरा, ५५ हजार चार सय ४० अन्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको छ । काभ्रेको बनेपा नगरपालिकाको दुईवटा वडा र पनौती नगरपालिकाको तीनवटा वडामा ‘बर्डफ्ल’ सङ्क्रमण पुष्टि भएर पन्छी नष्ट गरिएको हो । डा. घिमिरेका अनुसार बनेपा र पनौती नगरपालिकामा रहेको फार्मबाट ४५ हजार ४४ कुखुरा, १३ हजार आठ सय २१ वटा अन्डा र पाँच हजार एक सय २५ सय केजी दाना नष्ट गरिएको छ । उहाँका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा एक लाख ३६ हजार पाँच सय ६२ कुखुरा नष्ट, एक लाख ४७ हजार एक सय १४ वटा अन्डा र ६२ हजार ६ सय ५० केजी दाना नष्ट गरिएको छ । डा. घिमिरेका अनुसार बागमती प्रदेशका अन्य जिल्लामा ‘बर्डफ्लु’ सङ्क्रमण देखिएको छैन । निर्देशनालयले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जिल्लास्थित पशुसेवा कार्यालयले सङ्क्रमण फैलिएको क्षेत्रका पन्छी नष्ट गर्ने, क्षति विवरण सङ्कलन गर्ने तथा सङ्क्रमण फैलिएको स्थानलाई सुरक्षित गर्ने काम गर्दै आएको छ ।

रोकथामका लागि उच्च सतर्कता

धादिङबेँसी । बर्डफ्लुको जोखिम बढेपछि धादिङ जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्लास्तरीय बर्डफ्लु प्राविधिक समितिले जिल्लाका प्रमुख नाकामा कुखुरा, चल्ला, अन्डा तथा अन्य कुखुराजन्य वस्तुको ओसार-पसारमा विशेष निगरानी सुरु गरेको छ ।

पशुसेवा कार्यालय धादिङका वरिष्ठ पशु विकास अधिकृत डा.बबलु ठाकुरका अनुसार जिल्लाका १३ वटै स्थानीय तहका पशुसेवा शाखाका कर्मचारीलाई सतर्क अवस्थामा राखिएको छ । कुनै पनि स्थानमा रोगको लक्षण देखिए तत्काल जानकारी गराई नमुना सङ्कलन, परीक्षण तथा नियन्त्रणका काम अघि बढाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । सङ्क्रमण प्रभावित जिल्लाबाट धादिङ भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको नियमित जाँच भइरहेको छ । विशेषगरी राजमार्ग क्षेत्रमा जिल्ला प्रशासनसँगको समन्वयमा कुखुरा तथा पन्छीजन्य वस्तु बोकेका सवारीसाधनको नियमित जाँच भइरहेको छ । अनुगमनका क्रममा कुखुराको स्वास्थ्य अवस्था, भेटेरीनरी स्वास्थ्य प्रमाणपत्रलगायत कागजात परीक्षण गरिँदै आएको उहाँले बताउनुभयो । ‘कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार प्रायः रातिको समयमा हुने भएकाले रात्रिकालीन अनुगमनलाई समेत प्राथमिकता दिइएको छ,’ उहाँले भन्नुभयो, ‘बर्डफ्लु देखिएपछि कतिपयले सङ्क्रमित कुखुरा हतारमा बिक्री गर्ने प्रयास गर्न सक्छन् । त्यसैले सङ्क्रमण फैलिन नदिन नाकामा निगरानी बढाइएको हो ।’

‘हालसम्म धादिङमा गरिएको अनुगमनका क्रममा बर्डफ्लु सङ्क्रमण पुष्टि हुने अवस्था देखिएको छैन । कुखुरा फार्म वा अन्य स्थानमा अस्वाभाविक रूपमा कुखुरा मरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन कार्यालयले किसान तथा सर्वसाधारणलाई आग्रह गरेको छ,’ उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पशुसेवा कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न नाकामा नियमित अनुगमन गरिरहेको छ । काठमाडौँलाई देशका अधिकांश जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ धादिङ भएर आवतजावत गर्ने भएकाले जिल्लालाई उच्च जोखिम क्षेत्रका रूपमा राखेर निगरानी थप कडा पारिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह