+
Search

ताजा अपडेट +

पपुलर +

देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानको महाधिवेशनमा जेरियाट्रिक अस्पताल बनाउन छलफल

देवीघाट ज्येष्ठ नागरिक प्रतिष्ठानको महाधिवेशनमा जेरियाट्रिक अस्पताल बनाउन छलफल
त्रिशूली प्रवाह
५१ मिनेट अगाडी

देवीघाट । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान विदुर-५, देवीघाट नुवाकोटको छैटौँ महाधिवेशन आज दिउँसो उद्घाटन भएको छ । ज्येष्ठ नागरिक एवं चन्दादाता बाबुराम अधिकारी र पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले उद्घाटन गर्नुभएको सभामा ज्येष्ठ नागरिक (जेरियाट्रिक) अस्पताल निर्माण गर्ने विषयमा वृहत छलफल भएको छ । नेपाल सरकारले आव.२०८३/०८४ को बजेटबाट अस्पताल निर्माणका लागि रू.एक करोड बजेट विनियोजन गरेको छ ।

Utsuk Books & Stationery

सभामा अध्यक्ष विष्णुप्रसाद नेपालले प्रतिष्ठानको आय-व्यय विवरण र भावी योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रतिष्ठानले सञ्चालन गरेको आश्रममा हाल ३६ ज्येष्ठ नागरिक आश्रित रहेको जानकारी दिनुहुँद भन्नुभयो, ‘‘६ सेवक कर्मचारीबाट उहाँहरूको सेवा प्रदान गरिँदै आएको, हालसम्म २६ जना परलोक हुनुभएको र ३५ जनालाई उहाँहरूकै परिवारजनको जिम्मामा पुनस्र्थापनामा पठाइएको छ ।’’ प्रतिष्ठानको भवनसँगै रहेको ६ रोपनी जग्गा विसं २०८१ पुस १७ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको संयोजकत्वमा बसेको बैठकले सरकारी जग्गा दर्ता उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७९ बमोजिम जेरियाट्रिक अस्पताल भवन निर्माणका लागि सिफारिस भएको थियो । सो सिफारिसअनुसार सरकारले उक्त जग्गा अस्पताल भवन निर्माणका लागि प्रतिष्ठानलाई भोगाधिकार दिने निर्णय गरेको थियो । भवन निर्माणका लागि नुवाकोट जिल्लाका १२ वटै पालिकाले अनुदान दिने निर्णय पालिकासभाबाट भइसकेको जानकारी आएको प्रतिष्ठानका अध्यक्ष नेपालले सभामा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘भवन निर्माणका लागि समाजसेवी र ईश्वरी मनकारी धेरै दाताले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ जेरियाट्रिक अस्पताल गल्छी-केरूङ राजमार्गको मध्यभागमा निर्माण हुने हुँदा आश्रममा रहने प्रौढासहित अन्य क्षेत्र पोखरा, चितवनलगायत पूर्व-पश्चिम सबैतिरबाट उपचार गर्न सहज हुने बताइएको छ ।

विसं २०६७ मा स्थापित प्रतिष्ठानले २०७४ देखि देवीघाटमा निरन्तर असहाय ज्येष्ठ नागरिकको निःशुल्क पौष्टिक आहार, स्वच्छ ताजा दुध, दही, भोजन, आवास र औषधोपचारसहित आश्रम सञ्चालनमा रहेको छ । प्रतिष्ठान गैरराजनीतिक, गैरनाफामूलक, गैरसरकारी र विशेषगरी मानवीय सेवामा समर्पित लोककल्याणकारी संस्था रहेको प्रतिष्ठानका संस्थापक एवं विशिष्ट सदस्य शिवप्रसाद गजुरेलले बताउनुभयो । ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना भएको १५ वर्ष र सञ्चालनमा आएको नौ वर्ष पूरा भएको छ । प्रतिष्ठान स्थापनादेखि हालसम्म नेपालले नेतृत्व गरिरहनुभएको छ । प्रतिष्ठानको छैटौँ कार्यकालका लागि आजको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी संस्थापक गजुरेलले दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह