धुन्चे । लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको नौकुण्ड मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले गोसाईँकुण्ड गाउँपालिकाले साबिकको धुन्चे गाविस-९ सङ्घीयता लागू भएपछि गोसाईँकुण्ड-६, नागुङ र सप्चेका १६ घरधुरीका होमस्टे (घरबास) सञ्चालकलाई रु.तीन लाखबराबरको आवश्यक सामग्री वितरण गरेको छ ।


शनिबार त्यस क्षेत्रमा घरबास सञ्चालन गरिरहेका १६ घरधुरीलाई आवश्यक सामग्री प्रेसरकुकर, डिनर प्लेट, बाल्टिन, कप वितरण गरिएको समितिका अध्यक्ष निमावाङ्जु थोक्राले जानकारी दिनुभयो । गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाह, सोही वडाका अध्यक्ष दावासिदार वाइबा, टुल्कु छोलिङ गुम्बाका प्रमुख लामा दावासिदार घले र नौकुण्ड मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष निमावाङ्जु थोक्राले संयुक्त रूपमा ती सामग्री हस्तान्तरण गर्नुभएको हो । तीन वर्षदेखि होमस्टे सञ्चालक १० घरधुरी र ६ वटा नयाँ घरधुरी गरी १६ वटा घरधुरीका सञ्चालकलाई निकुञ्जले तालिम दिएको थियो ।

तालिमको सदुपयोग गर्न आग्रह गर्दै पर्यटक आतिथ्यतामा सामग्री वितरण गरिएको आयोजकले बताएको छ । घरबास राम्रोसँग सञ्चालन गर्न सके स्थानीय क्षेत्रमै रोजगारी मिल्ने अध्यक्ष कैसाङनुर्पुले बताउनुभयो । नागुङ क्षेत्रमा तरकारी, माछापालन, स्याउ र होमस्टेको सम्भावना भएको ठाउँ भएकाले राम्रो कामको नतिजा ढिलो हुन्छ, यसलाई निरन्तरता दिनसमेत उहाँले आग्रह गर्नुभयो । होमस्टे सञ्चालक ग्यालदोर्जे तामाङले भन्नुभयो, ‘‘गाउँठाउँलाई परिचित गराउँदै स्थानीय उत्पादनको बिक्री प्रवद्धनमा जोड दिइरहेका छौँ, गाउँमा नै अमेरिका, जापान, अस्ट्रेलिया, मलेसिया, दुबईको जति नै कमाइ गर्छाैँ ।’’






प्रतिक्रिया