नेपालको आधुनिक इतिहास परिवर्तनको निरन्तर कथा हो । सात दशकमा सातवटा संविधान र ६ वटा प्रमुख राजनीतिक व्यवस्था फेरिए । राजतन्त्रबाट गणतन्त्रसम्म, एकदलीयबाट बहुदलीय हुँदै सङ्घीयतासम्मको यात्रा गर्यौँ । हजारौँ युवा-युवतीको रगत बग्यो, आन्दोलन भए, समझदारी भए र नयाँ-नयाँ शब्दको जन्म भयो र प्रयोग गर्ने अवसर नेपालीले पाए । लोकतन्त्र, गणतन्त्र, समावेशिता, सङ्घीयता, समानता आदि । तर, आज पनि हामी एउटै प्रश्नको घेरामा घुमिरहेका छौँ, हामी वास्तवमा के खोजिरहेछौँ ? यो प्रश्न केवल राजनीतिक होइन, यो अस्तित्वगत पनि हो । परिवर्तनको नाममा हामीले नियम फेर्यौँ, संविधान पटकपटक लेख्यौँ, शासन व्यवस्था बदल्यौँ, तर संस्कार, सोच र सामाजिक मूल्यमा खासै हलचल ल्याउन सकेनौँ । फलस्वरूप हरेक परिवर्तनपछि निराशा र भ्रमको बादल झन् घनीभूत हुँदै गएको छ । जनताको अपेक्षा पूरा नहुनुको मुख्य कारण यही हो – हामीले बाहिरी संरचनालाई मात्र परिवर्तन गर्ने प्रयास गर्यौँ, भित्री मानसिकता र संस्कारलाई छुन सकेनौँ । इतिहासको पुनरावृत्ति विसं २००७ को क्रान्तिबाट सुरु भएको यो यात्रा २०१५ को संविधानसम्म आइपुग्दा थकित देखिन्छ । वि.सं. २००७ को दिल्ली सम्झौता, २०१७ को संविधान, पञ्चायती व्यवस्था, २०४६ को जनआन्दोलन, २०६२/०६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र – यी सबै घटनाक्रमले एउटा कुरा प्रमाणित गर्छन्, हामी परिवर्तनप्रति लिप्त छौँ, तर परिणामप्रति उदासीन देखिन्छौँ ।

हरेकपटक नयाँ व्यवस्थाले ठुलो आशा जगाउँछ । विसं २००७ मा राणाशासनको अन्त्यपछि ‘लोकतन्त्र’को सपना देखियो । विसं २०४६ मा बहुदल पुनस्र्थापनापछि स्थिरता र समृद्धिको सपना देखियो । विसं २०६४ पछि गणतन्त्र र सङ्घीयताले सबै समस्या समाधान गर्ने भ्रम फैलियो । तर, वास्तविकता फरक छ । भ्रष्टाचार, बेरोजगारी, स्वास्थ्य र शिक्षाको अभाव, न्यायमा ढिलासुस्ती, प्रशासनिक अक्षमता – यी समस्या जस्ताको त्यस्तै रहिरहेका छन् । केवल दोषारोपणको ठाउँ फेरिएको छ । यो पटकपटकको असफलताको जड संस्कारगत हो । हामीले ‘व्यवस्था’लाई दोष दिएर आपूmलाई सजिलै पन्छाउने बानी बसाल्यौँ । राजा थिए भने राजालाई, काङ्ग्रेस-एमाले थिए भने तिनलाई, कहिले गठबन्धन वा दलहरूलाई दोष दिइरह्यौँ । तर, हामी आफैँले निर्वाचित गरेका प्रतिनिधि, हामीले स्विकारेका मूल्य-मान्यता र हामीले जीवित राखेका सामाजिक कुरीतिबारे मौन रहन्छौँ । संस्कार परिवर्तनविना परिवर्तन अधुरो, परिवर्तन सफल हुनका लागि तीन तहमा काम गर्नुपर्छ, संरचना, नीति र संस्कार । हामीले पहिलो दुईमा मात्र ध्यान दियौँ । संरचना फेर्यौँ – राजतन्त्र गयो, गणतन्त्र आयो, प्रदेश बने, नीति बनायौँ – समावेशी कानुन, आरक्षण, सङ्घीय बजेट । तर, संस्कार ? त्यो उस्तै छ । अझै पनि पद र शक्तिलाई साधन होइन, स्रोत मानिन्छ । नातावाद, कृपावाद र आफ्नो टाउको जोगाउने मानसिकता हावी छ । विकास निर्माणमा ‘कमिसन’को संस्कृति सामान्य बनेको छ । राजनीतिलाई सेवा होइन, व्यवसाय ठान्ने प्रवृत्ति बढ्दो छ । सामाजिक रूपमा जात, थर, क्षेत्र र नाताको आधारमा मूल्याङ्कन गर्ने बानी अझै जीवित छ । यी संस्कारले जुनसुकै संविधान वा व्यवस्था ल्याए पनि त्यसलाई भ्रष्ट र अक्षम बनाउँछन् । उदाहरणका लागि, शिक्षा क्षेत्र हेर्नुहोस् । हामीले धेरै नीति बनायौँ, तर पढाइको गुणस्तर कहाँ छ ? स्वास्थ्यमा बजेट बढायौँ, तर सेवा प्रवाह कस्तो छ ? सडक, विद्युत् र पूर्वाधारमा ठुल्ठुला योजना घोषणा हुन्छन्, तर कार्यान्वयनमा भ्रष्टाचार र ढिलासुस्ती । कारण एउटै हो-मानिसको भित्री संस्कार परिवर्तन भएको छैन ।
अब हामी के चाहन्छौँ ? यो प्रश्नको जवाफ खोज्नु नै आजको आवश्यकता हो । हामी के चाहन्छौँ ? पहिलो, स्थिरता र निरन्तरता । पटक-पटक व्यवस्था फेर्ने होइन, भएको व्यवस्थालाई प्रभावकारी बनाउने । सङ्घीयता असफल भयो भन्ने होइन, यसलाई सुधार्ने र जनतासम्म पुर्याउने । दोस्रो, सुशासन र जवाफदेही । भ्रष्टाचार नियन्त्रणविना कुनै परिवर्तनले अर्थ राख्दैन । न्यायप्रणालीलाई छिटो, निष्पक्ष र पहुँचयोग्य बनाउनुपर्छ । तेस्रो, आर्थिक समृद्धि र रोजगारी । युवाहरू विदेश पलायन भइरहेका छन् । स्वदेशमै अवसर सिर्जना गर्न सकेनौँ, भने गणतन्त्र, सङ्घीयता सबै खोक्रा नारा मात्र हुन् । चौथो, शिक्षा र स्वास्थ्यमा क्रान्ति । गुणस्तरीय शिक्षा र स्वास्थ्य नै आधारभूत परिवर्तनको जग हो । पाँचौँ सांस्कृतिक रूपान्तरण । हामीले व्यक्तिगत जिम्मेवारी, मिहिनेत, इमानदारी, समयको सम्मान र सामूहिक हितको संस्कार विकास गर्नुपर्छ । नेताहरूले मात्र होइन, आमनागरिकले पनि आफैँबाट परिवर्तन सुरु गर्नुपर्छ ।
युवाको भूमिका
आजको युवा पुस्ता सबैभन्दा बढी निराश देखिन्छ, तर उनीहरूमा नै सबैभन्दा ठुलो सम्भावना पनि छ । उनीहरूले पुराना ढाँचा र नारालाई प्रश्न गर्न थालेका छन् । सामाजिक सञ्जालमा आक्रोश पोखिन्छ, तर त्यसलाई रचनात्मक ऊर्जामा बदल्न सकेनौँ भने फेरि अर्को निराशाको चक्र सुरु हुनेछ । युवाहरूले राजनीतिलाई ‘सेवा’ बनाउन सक्छन् । प्रविधि, उद्यमशीलता र नवीन सोचबाट देशलाई नयाँ दिशा दिन सक्छन् । तर, यसका लागि उनीहरूले पनि पुरानो ‘आन्दोलन मात्र’को संस्कार छोड्नुपर्छ । निर्माणको संस्कार अपनाउनुपर्छ ।
निष्कर्ष
परिवर्तनका नाममा हामीले धेरै रगत बगायौँ, धेरै सपना देखायौँ, तर अझै पनि हामी ‘के खोजिरहेछौँ’ भन्ने स्पष्ट छैन । समय आएको छ – अब संरचनामा होइन, संस्कारमा परिवर्तन ल्याउने । हरेक नागरिकबाट, हरेक परिवारबाट, हरेक संस्थाबाट यो सुरु हुनुपर्छ । हामीले जुन व्यवस्था रोजेका छौँ, त्यसलाई सफल बनाउने जिम्मेवारी हाम्रै हो । संविधान एउटा कागज हो, त्यसलाई जीवन्त बनाउने हामीहरू हौँ । यदि हामीले आफ्नो सोच, बानी र मूल्य परिवर्तन गर्न सकेनौँ भने आउँदो दशकमा अर्को आन्दोलन र अर्को संविधानको कुरा उठ्नेछ र फेरि उही चक्र दोहोरिनेछ । विदुर-१०, गेर्खुटार, नुवाकोट






प्रतिक्रिया