अझै पनि धेरै ठाउँमा ‘असल बुहारी’को परिभाषा त्यही पुरानो सोचबाट निर्देशित छ – सबैभन्दा पहिले उठ्ने, पछि सुत्ने, सबैलाई खुसी राख्ने, कहिल्यै गुनासो नगर्ने, आफ्नो पीडाभन्दा परिवारको आवश्यकतालाई प्राथमिकता दिने र परिस्थिति जस्तोसुकै भए पनि मुस्कुराइरहनुलाई असल मानिन्छ । श्रमलाई कर्तव्य मानिन्छ, थकान र त्यागलाई स्वाभाविक ठानिन्छ, योगदानलाई कमै स्विकारिन्छ । विशेषगरी जागिरे बुहारीको अवस्था अझ जटिल छ । उनी परिवारकी बुहारी होइनन्; एउटी कर्मचारी, आमा, श्रीमती, छोरी, बुहारी र धेरै अवस्थामा परिवारको आर्थिक आधार पनि हुन् ।

घर भनेको केवल इँटा, ढुङ्गा, सिमेन्ट र छानाको संरचना होइन । यसमा बस्ने सबैको सम्बन्ध, विश्वास, सम्मान, अपनत्व र पारस्परिक जिम्मेवारीले बनेको जीवित संरचना हो । कुनै पनि परिवारको समृद्धि बैंक खातामा रहेको रकमले मात्र मापन हुँदैन; त्यस परिवारभित्र सदस्यले एक–अर्कालाई कति सम्मान गर्छन्, सुन्छन्, बुझ्छन् र कठिन समयमा साथ दिन्छन् भन्ने कुराले मापन गर्छ । यही कारणले घरको वास्तविक मेरुदण्ड आर्थिक स्रोत मात्र नभई सम्बन्धको सन्तुलन पनि हो र त्यो जोगाउने सबैभन्दा ठुलो जिम्मेवारी घरकी बुहारीले बोकेकी हुन्छिन् ।नेपाली समाजमा ‘बुहारी’ शब्दले केवल विवाहपछि घरमा प्रवेश गर्ने महिलालाई जनाउँछ । यसले एउटा जीवन, जिम्मेवारी, पहिचान र सङ्घर्षको नयाँ सुरुवात जनाउँछ । छोरी जन्मघरको संस्कार, भाषा, व्यवहार, खानपान, पारिवारिक मूल्य, सामाजिक सम्बन्ध र जीवनशैलीसँग हुर्किएर कर्मघरको फरक सोच, बानी, रुचि, बोल्ने शैली, काम गर्ने तरिका र वातावरणमा रमाउन सक्नुपर्छ । नारी विवाहपछि एकै दिनमा अर्को घरमा प्रवेश गर्छिन् जहाँ सबै कुरा नयाँ हुन्छ – मानिस, सम्बन्ध, संस्कार, नियम, अपेक्षा र जिम्मेवारी । समाजले यसलाई सामान्य प्रक्रिया ठान्छ, तर मनोवैज्ञानिक दृष्टिले यो एउटा व्यक्तिले आफ्नो सम्पूर्ण जीवनको परिवेश परिवर्तन गर्नुजत्तिकै हो । एउटा संस्थाबाट अर्को संस्थामा जागिर बदल्दा पनि मानिसलाई नयाँ वातावरणमा घुलमिल हुन समय चाहिन्छ । नयाँ विद्यालयमा भर्ना भएका बालबालिकालाई पनि नयाँ साथी र शिक्षकसँग घुल्न समय लाग्छ । तर, एउटी बुहारीलाई भने विवाहको भोलिपल्टदेखि नै नयाँ घरको संस्कारमा पूर्ण रूपमा ढल्नुपर्ने अपेक्षा गरिन्छ । प्रश्न उठ्छ – परिवारले पनि उहाँलाई बुझ्न, पुरानो जीवन स्वीकार गर्न र नयाँ वातावरणमा सहज बनाउन उस्तै प्रयास गर्छ त ? दुर्भाग्यवश, नेपाली समाजका धेरै परिवारमा उत्तर अझै पनि सहज छैन । अझै पनि धेरै ठाउँमा ‘असल बुहारी’को परिभाषा त्यही पुरानो सोचबाट निर्देशित छ – सबैभन्दा पहिले उठ्ने, पछि सुत्ने, सबैलाई खुसी राख्ने, कहिल्यै गुनासो नगर्ने, आफ्नो पीडाभन्दा परिवारको आवश्यकतालाई प्राथमिकता दिने र परिस्थिति जस्तोसुकै भए पनि मुस्कुराइरहनुलाई असल मानिन्छ । श्रमलाई कर्तव्य मानिन्छ, थकान र त्यागलाई स्वाभाविक ठानिन्छ, योगदानलाई कमै स्विकारिन्छ । विशेषगरी जागिरे बुहारीको अवस्था अझ जटिल छ । उनी परिवारकी बुहारी होइनन्; एउटी कर्मचारी, आमा, श्रीमती, छोरी, बुहारी र धेरै अवस्थामा परिवारको आर्थिक आधार पनि हुन् । बिहान घाम नउदाउँदै उठेर भान्साको काम, बालबालिकाको तयारी, वृद्ध सदस्यको हेरचाह र घरको व्यवस्थापन गर्दै कार्यालय पुग्ने साँझ फर्किँदा फेरि अर्को कार्यकाल सुरु हुन्छ । कार्यालयको काम सकिएपछि जिम्मेवारी समाप्त हुँदैन, बरु अर्को स्वरूपको काम सुरु हुन्छ ।
नेपालका स्वास्थ्यकर्मी, बैंककर्मी, शिक्षक, सरकारी कर्मचारी, निजी क्षेत्रका कर्मचारी वा अन्य पेसामा आबद्ध हजारौँ महिलाको दैनिकी यस्तै छ । बिहानको घरायसी सबै काम सकेर जाँदा दिनभर कार्यालयको लक्ष्य, सेवाग्राहीको दबाब, कार्यसम्पादनको मूल्याङ्कन, समयसीमा र मानसिक तनाव झेलेर घर फर्किन्छिन् । घर फर्केपछि पनि आरामभन्दा पहिले फेरि भान्सा, बच्चाको गृहकार्य, वृद्धको औषधि, पाहुनाको स्वागत र अर्को दिनको तयारीमै आफ्नो लागि नसोच्दै समय बित्छ । परिवारको व्यवस्थापन पनि बुहारीकै जिम्मेवारी मानिन्छ । तर, यही जिम्मेवारीको बिचमा कसैले सोध्दैन – आज तिमी धेरै थाकेकी छौ ? यही प्रश्नको अभावले धेरै महिलाको मनमा एउटा अदृश्य एक्लोपन जन्माउँछ । समाजले महिलालाई ‘शक्तिकी देवी’ भनेर सम्मान गर्छ, तर त्यो सम्मान व्यवहारमा कति देखिन्छ ? देवीको उपमा दिन सजिलो छ, तर उनी पनि थाक्ने, रुने, निराश हुने, गल्ती गर्ने र सहाराको आवश्यकता पर्ने सामान्य मानिस हुन् भन्ने स्वीकार गरिँदैन । महिलाको सहनशीलतालाई कहिलेकाहीँ समाजले अधिकारजस्तै प्रयोग गरेको देखिन्छ । सहिदिन्छन् भन्ने मान्यताले उनलाई अझ धेरै सहन बाध्य बनाइन्छ ।सबै सासू खराब र सबै बुहारी सही हुन्छन् भन्ने पनि होइन । नेपाली समाजमा अत्यन्तै प्रेमपूर्ण, सहयोगी र उदाहरणीय परिवारको सङ्ख्या पनि कम छैन । तर, जहाँ समस्या छ, त्यसबारे मौन बस्नु समाधान होइन । परिवारभित्रको तनाव, पुस्ताबिचको दूरी, संवादको अभाव, अदृश्य श्रमको अवमूल्यन र महिलाको मानसिक स्वास्थ्यजस्ता विषयमा खुला बहस हुन आवश्यक छ । किनकि स्वस्थ परिवारविना स्वस्थ समाज निर्माण हुन सक्दैन । आज नेपाल आर्थिक विकास, पूर्वाधार, प्रविधि र डिजिटल रूपान्तरणको कुरा गरिरहेको छ । तर, विकासको एउटा आधारभूत प्रश्न अझै बाँकी छ – यदि घरभित्र महिलाले सम्मान, सुरक्षा, संवाद र भावनात्मक साथ पाउँदिनन् भने बाहिरी विकासले मात्रै समाज कति सभ्य बन्न सक्छ ? परिवारभित्रको समानता कुनै राजनीतिक नारा होइन; त्यो सामाजिक स्थायित्वको आधार हो । सम्मान, जिम्मेवारी र अधिकारको सन्तुलन कायम भएको परिवारमा मात्र विश्वासको वातावरण बन्छ र जहाँ विश्वास हुन्छ, त्यहीँबाट समृद्ध समाजको यात्रा सुरु हुन्छ ।
नेपालमा महिलाको शिक्षा र रोजगारीमा सहभागिताले बैंक, अस्पताल, विद्यालय, सरकारी कार्यालय, निजी संस्था, उद्योग, विकास परियोजना र उद्यमशीलतामा उपस्थिति बढ्दै गएको छ । यो सकारात्मक परिवर्तन हो । तर, दुर्भाग्यको कुरा, महिलाको सार्वजनिक भूमिकामा आएको परिवर्तनसँगै घरभित्रको जिम्मेवारीको संरचनामा परिवर्तन देखिँदैन । घरबाहिरको काम थपियो, तर घरभित्रको काम भने उस्तै रह्यो । फलस्वरूप, धेरै जागिरे महिलाको जीवन दोहोरो होइन, कहिलेकाहीँ तेहेरो जिम्मेवारीले भरिएको छ । बिहानको पहिलो प्रहरदेखि नै समय आफ्ना लागि होइन, अरूका लागि खर्च हुन थाल्छ । बुहारीको दिन चियाको कपसँग होइन जिम्मेवारीको सूचीसँग सुरु हुन्छ । भान्सामा आगो बाल्ने, नास्ता तयार गर्ने, बच्चाको टिफिन बनाउने, विद्यालय पठाउने, ज्येष्ठ सदस्यको औषधि र खानपानमा ध्यान दिने, श्रीमान्को आवश्यकताको व्यवस्था गर्ने, घर मिलाउने अनि कार्यालयमा जाने तयारीमा हुन्छ । यी सबै काम अधिकांश घरमा समयको प्रतिस्पर्धामा सम्पन्न हुन्छन् । कार्यालयमा व्यावसायिक दक्षता, अनुशासन र कार्यसम्पादन देखाउनुपर्छ । सेवाग्राहीको अपेक्षा, माथिल्लो तहको मूल्याङ्कन, समयसीमा र कार्यदबाबबिच आफ्नो भूमिका पूरा गर्नुपर्छ, तर साँझ घर फर्किएपछि उनको दिन समाप्त हुँदैन । धेरै पुरुष कर्मचारीका लागि कार्यालयपछि आरामको समय सुरु हुन्छ भने अधिकांश महिलाका लागि दोस्रो कार्यकाल अर्थात् घरको जिम्मेवारी सुरु हुन्छ । समाजशास्त्रीले महिलाको घरभित्रको श्रमलाई ‘अदृश्य श्रम’ भन्ने गरेका छन् । यो श्रम अर्थतन्त्रको तथ्याङ्कमा देखिँदैन, तर परिवारको दैनिक जीवन बहुमूल्य मानिन्छ ।
स्वास्थ्यकर्मी, बैंककर्मी, शिक्षक, प्रहरी, पत्रकार, कर्मचारी र निजी क्षेत्रमा काम गर्ने हजारौँ महिलाको दैनिकी दोहोरो, तेहेरो जिम्मेवारी बहनमै बितिरहेको छ । आफ्नो पेसाप्रति उत्तरदायी छन्, तर घरभित्र पनि महिलाबाट उस्तै पूर्णताको अपेक्षा गरिन्छ । यहीँबाट एउटा गम्भीर प्रश्न जन्मिन्छ-के हामी महिलाको कामको मूल्याङ्कन निष्पक्ष गरिरहेका छौँ ? धेरै परिवारमा यदि खाना पाँच मिनेट ढिलो भयो भने झगडा सुरु हुन्छ, तर त्यो खाना बनाउनुअघि महिलाले बिताएको पाँच घण्टाको श्रम देखिँदैन । एउटा सानो गल्ती तुरुन्तै टिप्पणीको विषय बन्छ, तर सयौँ सही काम सामान्य मानिन्छ । प्रशंसाको अभाव र निरन्तर आलोचनाले मानिसको आत्मविश्वास बिस्तारै कमजोर बनाउँछ । महिलाको मानसिक थकानको एउटा कारण यही पनि हो । परिवारमा अर्को जटिल पक्ष भनेको पुस्तान्तरण हो । आजकी बुहारी प्रविधि, शिक्षा, सूचना र आधुनिक कार्यसंस्कृतिसँग हुर्किएकी हुन्छिन् । आजकी सासूले अर्कै सामाजिक परिवेश देख्नुभएको हुन्छ । दुवै पुस्ताको अनुभव फरक हुनु स्वाभाविक हो । समस्या फरकपनमा होइन, फरकपन स्वीकार नगर्ने प्रवृत्तिमा हुन्छ । ‘हामीले यसरी गरेका थियौँ’ भन्ने अनुभव मूल्यवान् छ, तर ‘अब तिमीले पनि यही गर्नुपर्छ’ भन्ने आग्रहले सम्बन्धमा तनाव ल्याउन सक्छ । त्यस्तै, नयाँ पुस्ताले पनि पुरानो पुस्ताको अनुभवलाई बेवास्ता गर्नु समाधान होइन । दुवै पुस्ताले एक-अर्काबाट सिक्ने संस्कार विकास गर्न सके परिवारको वातावरण धेरै सहज बन्छ । यही सन्दर्भमा श्रीमान्को भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । उनी केवल छोरा मात्र होइनन्, पति पनि हुन् । यदि उनी दुवै सम्बन्धप्रति समान जिम्मेवार भए भने धेरै समस्या सुरुमै समाधान हुन सक्छ । तर, यदि उनी मौन बस्छन्, ‘यो त महिलाको कुरा हो’ भनेर पन्छिन्छन् वा कुनै एक पक्षको अन्धसमर्थन गर्छन् भने सानो गलफती पनि गहिरो दूरीमा बदलिन सक्छ । घरभित्र संवादको पुल बन्नुपर्ने व्यक्ति यदि दर्शक मात्र बने भने सम्बन्धमा मौनता बढ्छ ।
समाजले आज पनि महिलालाई घरको ‘सबै काम सम्हाल्ने’ भूमिकामा हेर्छ । तर, महिला मेसिन होइन, मानिस नै हुन् । उनी पनि थाक्छिन्, निराश हुन्छिन्, आराम, प्रशंसा सुन्न चाहन्छिन् । परिवारको सदस्य हुनु भनेको केवल जिम्मेवारी लिनु मात्र होइन, भावनात्मक सुरक्षा पाउनु पनि हो । यदि घरले आफ्नै सदस्यलाई त्यो सुरक्षा दिन सकेन भने घरभित्रै एक्लोपन जन्मिन्छ । त्यो एक्लोपन नै पछि सम्बन्धमा दूरी, मानसिक तनाव र कहिलेकाहीँ परिवार विघटनको कारणसमेत बन्न सक्छ । यसैले प्रश्न केवल बुहारीले कति काम गरिन् भन्ने होइन, प्रश्न यो पनि हो, परिवारले उहाँको श्रमलाई कति सम्मान ग¥यो, थकान कति बुझ्यो र मौनतालाई कति सुन्ने प्रयास ग¥यो । नेपाली समाजमा सासू-बुहारी सम्बन्धलाई धेरैजसो हास्य, विवाद वा प्रतिस्पर्धाको रूपमा चित्रण गरिन्छ, तर वास्तविकता त्यति सरल छैन । धेरै सासू आफू पहिल्यै बुहारी नै थिए भन्ने बिर्सिन्छन् जसका कारण बुहारीसँगको सम्बन्ध सुमधुर हुँदैन । धेरै अध्ययनले देखाएका छन् कि घरेलु हिंसा केवल शारीरिक हुँदैन । निरन्तर अपमान, घोचपेच, तुलना, बेवास्ता, आर्थिक नियन्त्रण, स्वतन्त्र निर्णय गर्न नदिनु वा भावनात्मक रूपमा एक्लो बनाउनु पनि हिंसाकै रूप हुन् । यस्ता व्यवहारले महिलाको आत्मविश्वास, मानसिक स्वास्थ्य र पारिवारिक सम्बन्धमा गहिरो असर पार्छ । त्यसैले परिवारभित्र बोलिने प्रत्येक शब्दले घर बनाउने वा बिगार्ने शक्ति राख्छ ।
महिलाको जीवनमा प्रसूति अवस्था सबैभन्दा संवेदनशील समय हो । यस समयमा उनको शरीर मात्र होइन, मन पनि ठुलो परिवर्तनबाट गुज्रिरहेको हुन्छ । यदि यही वेला परिवारले आलोचनाभन्दा सहयोग, आदेशभन्दा माया र अपेक्षाभन्दा साथ दियो भने उनी छिट्टै आत्मविश्वासका साथ परिवारमा फर्किन्छिन् । तर, असहयोग र निरन्तर दबाबले प्रसूतिपछिको अपशब्दले मानसिक स्वास्थ्य समस्यालाई बढाउन सक्छ । परिवारलाई सुखी बनाउन कुनै ठुलो आर्थिक लगानी आवश्यक पर्दैन । केही साना व्यवहारले ठुलो परिवर्तन ल्याउन सक्छन्– घरका कामको बाँडफाँट, एक-अर्काको प्रशंसा गर्ने बानी, गल्तीलाई आरोप होइन सिकाइको अवसरका रूपमा लिने संस्कार र सबैभन्दा महत्त्वपूर्ण, एक-अर्काको कुरा धैर्यपूर्वक सुन्ने अभ्यास । विशेषगरी श्रीमान्को भूमिका निर्णायक हुन्छ । श्रीमान् केवल छोरा मात्र होइन श्रीमतीका जीवनसाथी पनि हुन् । उनी आमाको सम्मान गर्दै श्रीमतीको आत्मसम्मान जोगाउने पुल बन्न सके परिवार बलियो हुन्छ । मौन दर्शक बनेर होइन न्यायपूर्ण संवादकर्ता बनेर उभिन सके धेरै विवाद सुरुमै समाधान हुन्छन् ।
नेपाल तीव्र सामाजिक परिवर्तनको चरणमा छ । महिलाको शिक्षा, रोजगारी, नेतृत्व र आर्थिक सहभागिता निरन्तर बढिरहेको छ । तर, परिवारभित्रको सोच र जिम्मेवारी बाँडफाँट त्यही गतिमा परिवर्तन हुन सकेको छैन । यही असन्तुलनले धेरै घरमा अदृश्य तनाव सिर्जना गरेको छ । त्यसैले अब परिवर्तन कानुनले मात्र होइन, घरभित्रको व्यवहारबाट सुरु हुनुपर्छ । परिवारमा बुहारीलाई केवल ‘समायोजन गर्नुपर्ने व्यक्ति’का रूपमा होइन, आफ्नै सपना, भावना, क्षमता र पहिचान भएकी व्यक्तिका रूपमा स्वीकार गर्न आवश्यक छ । बुहारीले नयाँ घरबाट सिक्नुपर्छ, परिवारले नयाँ सदस्यलाई बुझ्नुपर्छ । सम्मान एकतर्फी हुँदैन; त्यो पारस्परिक हुन्छ । घरका कामलाई महिलाको मात्र दायित्व मान्ने सोच अब परिवर्तन हुनुपर्छ । श्रीमान्, सासू-ससुरा, छोराछोरी सबैले आफ्नो क्षमताअनुसार जिम्मेवारी बाँड्ने संस्कार विकास गर्नुपर्छ । घर चलाउनु एउटै व्यक्तिको जिम्मेवारी होइन, परिवारको साझा उत्तरदायित्व हो । जब जिम्मेवारी बाँडिन्छ, सम्बन्ध पनि बलियो बन्छ । अर्को महत्त्वपूर्ण पक्ष संवाद हो । धेरै परिवार सम्बन्धको अभावले होइन, संवादको अभावले टुट्छन् । मनमा कुरा थुपारेर बस्नुभन्दा समयमै सम्मानपूर्वक छलफल गर्ने संस्कार बसाल्न सके धेरै विवाद जन्मिनै पाउँदैनन् । आलोचनाभन्दा प्रशंसा, आदेशभन्दा सहयोग र शङ्काभन्दा विश्वासले परिवारलाई धेरै बलियो बनाउँछ । सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले आफ्ना छोरालाई पनि घरको काम, हेरचाह र पारिवारिक जिम्मेवारी सिकाउनुपर्छ । समानताको शिक्षा विद्यालयबाट मात्र होइन, भान्साघर र बैठककोठाबाट पनि सुरु हुन्छ । आज हामीले छोराछोरीलाई जे सिकाउँछौँ, भोलिको समाज त्यही बन्छ ।
बुहारी घरमा विवाह गरेर आउँदा एउटा नयाँ आशा, ऊर्जा र पुस्ताको भविष्य लिएर आउँछिन् । उनलाई परिवारको मेरुदण्ड भन्ने हो भने त्यो सम्मान व्यवहारमा पनि देखिनुपर्छ । यदि अदृश्य श्रमिक भन्ने हो भने उनको श्रमलाई देख्ने, मूल्याङ्कन गर्ने र सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । आजको नेपाली समाजले विकासका ठुला सपना देखिरहेको छ । तर, एउटा समाज त्यतिवेला मात्र साँच्चै विकसित हुन्छ, जब घरभित्र महिलाले सम्मानका साथ आफ्नो विचार राख्न सक्छिन्, गल्ती गर्दा अपमान होइन साथ पाउँछिन्, थाक्दा आराम गर्न सक्छिन् र सफल हुँदा खुलेर प्रशंसा पाउँछिन् । सुखी परिवार निर्माण गर्ने जिम्मेवारी बुहारीको मात्र होइन, सासू-ससुरा, श्रीमान्, छोराछोरी र परिवारका हरेक सदस्यको साझा दायित्व हो । परिवारभित्र अधिकारभन्दा कर्तव्य, आदेशभन्दा संवाद, अहंकारभन्दा सहकार्य र सम्बन्धलाई प्राथमिकता दिन सक्यौँ भने धेरै समस्या आफैँ समाधान हुनेछन् ।
अब ‘असल बुहारी’ खोज्ने होइन, असल परिवार बनाउने अभियान सुरु गर्नुपर्छ । सम्मान पाएकी बुहारीले घरलाई सम्हाल्छिन्; जिम्मेवारी पूरा गर्दै सम्बन्ध जोगाउँछिन् र परिवारलाई होइन समग्र समाजको भविष्यलाई पनि सही दिशामा अघि बढाउँछिन् । घरकी बुहारी परिवारकी सेविका होइनन्, सहयात्री, मेरुदण्ड र भविष्यका पुस्ताको पहिलो शिक्षक हुन् । उनीमाथि केवल जिम्मेवारी थप्ने होइन, सम्मान, विश्वास र अपनत्व पनि दिन सक्यौँ भने घरमा शान्ति, परिवारमा एकता र समाजमा सकारात्मक परिवर्तन सम्भव छ । (लेखक लामिछाने पञ्चकन्या गापाका स्वास्थ्य निरीक्षक हुनुहुन्छ ।) शिवराम ढकालसँगको कुराकानीमा आधारित






प्रतिक्रिया