धुन्चे । नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय तथा विभेदरहित समाज निर्माणको भावनालाई आत्मसात् गर्दै दलित-गैरदलित विवाह गरी सामाजिक सद्भाव, सामाजिक एकता, पारस्परिक सम्मान तथा जातीय विभेद उन्मूलनमा अनुकरणीय योगदान गरेका रसुवा जिल्ला उत्तरगया गाउँपालिकाले ६ दम्पतीलाई रु.५०-५० हजारसहित प्रशंसापत्रले सम्मान गरेको छ ।

उत्तरगयाले गाउँसभा २०औँ अधिवेशन दोस्रो बैठकबाट असार २९ गते दलित-गैरदलित विवाह गर्ने सामाजिक समानता, समावेशीकरण तथा विभेदरहित समाज निर्माणमा पु¥याउनुभएको योगदानको सम्मानस्वरूप प्रशंसापत्रसमेत प्रदान गरिएको पालिका प्रमुख माधव अर्यालले जानकारी दिनुभयो । दलित गैरदलित विवाह गरी सम्मानित हुनेमा उत्तरगया-१ का रोशन तामाङ र उत्तरगया-२ की सुप्रिया परियार, उत्तरगया-३ का सञ्जय विश्वकर्मा र सन्तोषी गुरुङ, सोही वडाका आयुव विक र निशा गुरुङ, उत्तरगया-१ का सुमन तामाङ र उत्तरगया-२ की सरिता नेपाली, उत्तरगया-४ का रविन विश्वकर्मा र नुवाकोट जिल्ला, विदुर-७ की सोनिया बस्नेत, उत्तरगया-२ का शुभराज तामाङ र बराहताल गापा-१ सुर्खेतकी लक्ष्मी बराइली रहेका छन् । यस वैवाहिक सम्बन्धले सामाजिक रूपान्तरण तथा जातीय विभेदमुक्त समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले बताउनुभयो ।






प्रतिक्रिया