+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट, रसुवा र धादिङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला

नुवाकोट, रसुवा र धादिङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला
त्रिशूली प्रवाह
५१ मिनेट अगाडी

विदुर । नुवाकोट, रसुवा र धादिङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिएको छ । तीन जिल्लाका ३० वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित स्थानीय तह आर्थिक वर्ष २०८२/०८३ का लागि घोषणा भएको हो ।

Utsuk Books & Stationery

 

पूर्ण खोपको सुनिश्चित गर्नका लागि बालबालिकाले बिसिजीदेखि दादुरासम्मको खोप लगाएको हुनुपर्छ । बालबालिकालाई बिसिजी, रोटा, पोलियो, एफआइभिपी, पिसिभी, डिपिटी, हेपाटाइटिस बी, हिब, दादुरा रूबेला, जेई, टाइफाइड, एचपिभी खोप लगाएपछि सबै खोपको मात्रा पूरा भएको हुनुपर्छ । तीन जिल्लामा रहेका १६ महिनादेखि २३ महिनाभित्रका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको प्रतिवेदनको आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न अनुमति दिएको हो ।

खोप समन्वय समिति नुवाकोटको आयोजनामा मंगलबार बट्टारमा भएको कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम स्रोतव्यक्ति उत्तम प्याकुरेलले जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । प्रमाणपत्र हस्तान्तरण गर्दै खोप कार्यक्रमले बालबालिकाको जीवनरक्षा मात्र नभई स्वस्थ समाज निर्माणको बलियो आधार तयार गरेको स्रोतव्यक्ति प्याकुरेलले बताउनुभयो । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्यसचिव एवम् जनस्वास्थ्य कार्यालयका प्रमुख डा.अञ्जु कार्कीले कार्यक्रमको उद्देश्य, पूर्णखोपको आवधारणा र जिल्लामा पूर्णखोपको अवस्थाको विस्तृत जानकारी गराउनुभएको थियो ।

विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको उपस्थिति रहेको सो कार्यक्रममा १२ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरणको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यालयका खोप अधिकृत अमृत महर्जनले दिएको जानकारीअनुसार जम्मा खोप केन्द्रको सङ्ख्या दुई सय १०, जम्मा खोप सेसनको सङ्ख्या दुई सय १८, संस्थागत खोप केन्द्रको सङ्ख्या एक सय १० र बाह्य खोप केन्द्रको सङ्ख्या एक सय आठ रहेको छ । जिल्लामा आव २०८२/०८३ को खोज खोप अभियानमा घरधुरी गणनाबाट भेटिएका ० देखि १५ महिनासम्मका बालबालिकाको सङ्ख्या २५ सय ५१, १६ देखि २३ महिनासम्मका बालबालिकाका सङ्ख्या २१ सय ७९, आंशिक छुट बालबालिकाका सङ्ख्या चारजना रहेको जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले जानकारी दिनुभयो । आंशिक छुट बालबालिकालाई खोज खोप अभियानमा पूर्णखोप सेवा प्रदान गरिएकोसमेत उहाँले बताउनुभयो । आंशिक छुट बालबालिकामध्ये दुप्चेश्वरका एक र तादीका तीनजना रहेका थिए ।

त्यसैगरी, खोप समन्वय समितिको आयोजनामा कालिका गाउँपालिकाको सभाहलमा सोमबार रसुवा जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका प्रतिनिधि निरीक्षक विनोदकुमार शाहले रसुवालाई पूर्ण खोप तथा सुनिश्चितता घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । घोषणा कार्यक्रममा जिल्लाका पाँचवटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले आ-आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको प्रतिवेदन र प्रतिबद्धतापत्र प्रस्तुत गर्नुभएको थियो । जिबजिबे ग्रामीण अस्पतालका जनस्वास्थ्य निरीक्षक उद्धव पौडेल, कालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवराज न्यौपाने र नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङलगायतले खोप सुनिश्चितताको अभियानलाई दिगो रूपमा निरन्तरता दिन प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक अशोक घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले खोप अभियानको दिगोपना र यसको निरन्तरतामा जोड दिँदै आवश्यक समन्वय र अनुगमनलाई चुस्त बनाउन जोड दिनुभयो । जनस्वास्थ्य कार्यालयका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका सदस्यसचिव नीरध्वज घर्तीमगरले जिल्लाको खोपको वर्तमान अवस्था, आगामी चुनौती र अवसर समेटिएको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मंगलबार दिउँसो धादिङमा भएको कार्यक्रममा आगामी आवका लागि धादिङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा भएको छ । जिल्लाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय तालिकाअनुसारका सबै खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन (स्रोतव्यक्ति) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै पालिकामा गरिएको सर्वेक्षणमा खोप लगाउन कोही पनि नछुटेको पाइएपछि यो घोषणा गरिएको हो । जिल्लाका जन्मेदेखि १५ महिनासम्मका तीन हजार सात सय २४ बालबालिका र १६ महिनादेखि २३ महिनासम्मका तीन हजार तीन सय ३४ बालबालिकाले सबै आवश्यक खोप पूर्ण रूपमा पाएका छन् । पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन योगदान पु¥याउने जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सरोकारवाला निकाय तथा अग्रपङ्क्तिमा खटिएका महिला स्वास्थ्य स्वयम्सेविकालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह