+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता

नुवाकोटमा बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता
दिग्विजय अधिकारी
४६ मिनेट अगाडी

विदुर । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका वेला नुवाकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय नुवाकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन कुखुरा व्यवसायी र अन्य सरोकारवाला व्यवसायीलाई आग्रह गरेकोे हो । काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा बर्डफ्लु पुष्टि भएपछि नुवाकोटमा रोग भित्रिन नदिन उच्च सतर्कता अपनाइएको कार्यालय प्रमुख निशान्त शर्मा गेलालले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

सम्भावित जोखिमलाई ध्यानमा राखी भेटेरेनरी अस्पताल तथा पशुसेवा कार्यालय नुवाकोटले जिल्लाभर निगरानी बढाउनुका साथै पन्छीपालक किसान र व्यवसायीलाई जैविक सुरक्षा मापदण्ड कडाइसाथ कार्यान्वयन गर्न सचेत गराएको छ । कार्यालय प्रमुख गेलालले हालसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण नदेखिए पनि छिमेकी क्षेत्रमा देखिएकाले पूर्वतयारीस्वरूप आवश्यक सबै सावधानी अपनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोग देखिएपछि नियन्त्रण गर्नुभन्दा भित्रिनै नदिनु प्रभावकारी हुन्छ । त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर पन्छीपालन फार्ममा जैविक सुरक्षा–व्यवस्था कडाइ गर्न, किसानलाई सचेत बनाउन र निगरानी बढाउन थालेका छौँ ।’ उहाँका अनुसार पन्छीपालन फार्ममा बाहिरबाट प्रवेश गर्ने सवारीसाधन, उपकरण तथा अन्य सामग्री अनिवार्य रूपमा निःसङ्क्रमण गरेपछि मात्र भित्र्याउनुपर्ने व्यवस्था गरिएको छ । अन्डा राख्न प्रयोग भएका पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न तथा कागजलगायत जङ्गली पन्छी र घरपालुवा पन्छीबिच सम्पर्क हुन नदिने गरी व्यवस्थापन गर्न किसानलाई सूचित गरिएको छ ।

कार्यालयका अनुसार पन्छीको दाना जङ्गली पन्छीले खान नपाउने व्यवस्था मिलाउन, पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरेनरी प्रमाणपत्र लिन तथा अन्य सङ्क्रामक रोगविरुद्ध नियमित खोप लगाउनुपर्नेमा विशेष जोड दिइएको छ । कार्यालय प्रमुख गेलालले कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिए तत्काल सूचना दिन आग्रह गर्नुभयो । कार्यालयले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा असामान्य रूपमा पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिए ढिलाइ नगरी नजिकको पशुसेवा शाखा वा भेटेरेनरी अस्पताल तथा पशुसेवा कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्वतयारीमा रहन कुखुरा फार्म, मासु पसल तथा कुखुरापालक किसानलाई रोग नियन्त्रणका लागि पूर्वतयारीमा रहन अनुरोध गरिएको छ । रोग नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाई सचेतना फैलाउने क्रममा शुक्रबार जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘बर्डफ्लु रोकथाम र आगामी प्रयास’ विषयमा बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति, नुवाकोटले गरेको कार्यक्रममा नुवाकोट पोल्ट्री व्यवसायी सङ्घ र नुवाकोट अन्डा व्यवसायी सङ्घ सहआयोजक रहेका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो नुवाकोट एफएमले गरेको थियो । कार्यक्रममा जिल्लाभित्र बर्डफ्लु रोगको सम्भावित जोखिम, हालको अवस्था, रोग फैलिन नदिन अपनाउनुपर्ने जैविक सुरक्षा (बायो-सिक्युरिटी) का उपाय, रोग पहिचान तथा निगरानी प्रणाली, प्राविधिक व्यवस्थापन, स्थानीय तहको भूमिका, अन्तरनिकाय समन्वय तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो । अन्तरक्रियामा पशु सेवा कार्यालय नुवाकोट रसुवाका प्रमुख गेलाल, स्थानीय तहका पशु सेवा शाखा, पशु स्वास्थ्य प्राविधिक, पोल्ट्री व्यवसायी, अन्डा उत्पादक, सरोकारवाला निकायका प्रतिनिधि तथा अन्य सम्बन्धित पक्षको सहभागिता रहेको थियो । सहभागीले जिल्लामा व्यावसायिक कुखुरापालन विस्तारसँगै बर्डफ्लु सङ्क्रमणको जोखिमलाई समयमै पहिचान गरी आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी एवम् बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति, नुवाकोटका संयोजक शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भेटेरेनरी एसोसिएनका केन्द्रीय अध्यक्ष डाक्टर केदार सुवेदी, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर रेग्मी, त्रिशूली अस्पतालका निर्देशक डाक्टर राजेन्द्र लामा, किस्पाङ गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर प्रेम जिएम, विदुर नगरपालिकाका पशु सेवा शाखा प्रमुख सुजता अधिकारी, नुवाकोट पोल्ट्री व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र रिजाल, नुवाकोट अन्डा व्यवसायी सङ्घका अध्यक्ष रमेश चित्रकारलगायतले बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाउन जोड दिएका थिए । कार्यक्रममा सरोकारवालाले रोगको शङ्का लागेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने, सङ्क्रमित वा शङ्कास्पद पक्षीको सुरक्षित व्यवस्थापन गर्ने, फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिने सहमति जनाएको छ ।

कार्यक्रममा स्थानीय तहमा पशु स्वास्थ्य सेवा प्रवाह तथा रोग नियन्त्रणमा प्रत्यक्ष रूपमा संलग्न प्राविधिकको अनुभव आदान-प्रदानसमेत गरिएको थियो । सहभागी प्राविधिकले विगतका अनुभव, देखिएका चुनौती, आवश्यक स्रोत-साधन तथा आगामी दिनमा अपनाउनुपर्ने सुधारका उपायबारे सुझाव प्रस्तुत गर्नुभएको नुवाकोट अन्डा उत्पादक सङ्घका अध्यक्ष रमेश चित्रकारले बताउनुभयो । नियमित अनुगमन, द्रुत सूचना प्रणाली, प्रयोगशाला परीक्षणको पहुँच विस्तार तथा आकस्मिक प्रतिकार्य योजनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता सहभागीले औँल्याएका थिए । नुवाकोट पोल्ट्री उत्पादनका दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएकाले सम्भावित बर्डफ्लु सङ्क्रमणले किसान, व्यवसायी तथा समग्र कृषि अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भएकाले समयमै सबै सरोकारवाला निकायबिच पूर्वतयारी र समन्वय आवश्यक रहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सम्बन्धित निकायबिच सूचना आदान-प्रदानलाई व्यवस्थित बनाउने, स्थानीय तहसँग समन्वय बढाउने, पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा बर्डफ्लु रोग नियन्त्रणका लागि साझा कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दिग्विजय अधिकारी