+
Search

ताजा अपडेट +

पपुलर +

निजामती सेवामा प्रवेश गरेको ३७ वर्षमा कार्की मुख्यसचिव

निजामती सेवामा प्रवेश गरेको ३७ वर्षमा कार्की मुख्यसचिव
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्यसचिवमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहेका गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को गत बुधबारको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासन सेवातर्फ १८औँ नम्बर तथा सबै सेवातर्फ गरी ३६औँ नम्बरमा रहेका कार्कीलाई मुख्यसचिव नियुक्त गरेको हो । निजामती सेवामा प्रवेश गरेको ३७ वर्षमै उहाँ मुख्यसचिव नियुक्त हुनुभएको छ ।

Utsuk Books & Stationery

मन्त्रिपरिषद्ले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा ३६औँ स्थानमा रहनुभएका कार्कीलाई मुख्यसचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैलाबैला मच्चिएको छ । कार्यरत मुख्यसचिव सुमनराज अर्याल ५८ वर्ष उमेर हदका कारण गत शुक्रबार अनिवार्य अवकाशमा जानुभएको छ । अर्याल गत मङ्सिर ८ गते मुख्यसचिव नियुक्त हुनुभएको थियो । उहाँ वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्त हुनुभएको थियो । यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्यसचिव बनाएको छ । यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो । मुख्यसचिवमा सरकारले रोलक्रममा धेरै पछि रहनुभएका कार्कीलाई नियुक्तिको निर्णय गरेपछि कर्मचारी प्रशासनमा असन्तुष्टि बढेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वरिष्ठता मिचेर तत्कालीन सचिव एकनारायण अर्याललाई मुख्यसचिव बनाउनुभएको थियो । त्यतिवेला एकनारायण सचिवको वरिष्ठता क्रममा पाँचौँ नम्बरमा हुनुहुन्थ्यो । एकनारायणपछि सुमनराजलाई वरिष्ठताका आधारमा मुख्यसचिव नियुक्ति गरिएको थियो । वर्तमान सरकारले पालो नमिचेको भए खगेन्द्रप्रसाद नेपाल मुख्यसचिव बन्नुहुन्थ्यो । तर, सरकारले खगेन्द्रका लागि विशेष पद सिर्जना गरी सचिवमा राखेको छ । त्यसैले खगेन्द्र मुख्यसचिव हुने सम्भावना थिएन । खगेन्द्रपछि पालो नमिचिएको भए सचिव किरण शर्मा मुख्यसचिव बन्नुहुन्थ्यो । शर्मापछि वरिष्ठताको हिसाबमा क्रमशः हरिप्रसाद मैनाली, गोविन्द शर्मा, डिल्लीराज शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, विलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दङ्गाल, मुकुन निरौला, सरजु वैद्य, दीपक काफ्ले रहनुभएको छ । कार्की (मुख्यसचिवमा नियुक्त) भन्दा वरिष्ठतामा घनश्याम उपाध्याय, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल, सरिता दवाडी, केदारनाथ शर्मा र पाराश्वर ढुङ्गाना अगाडि हुनुहुन्थ्यो । वरिष्ठताको हिसाबमा कार्कीभन्दा मदन भुजेल र चन्द्रकला पौडल कनिष्ठ सचिव मानिनुहुन्छ ।

निजामती सेवा ऐनमा कार्यसम्पादन र ज्येष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गर्न सकिने व्यवस्था छ । सरकारको यो निर्णयले अब सचिवमा कार्यरत जोसुकैलाई पनि मुख्यसचिवमा नियुक्त गर्न सकिन्छ भन्ने नजिर स्थापित गरेको छ । कार्की ५८ वर्ष उमेर हदका कारण विसं २०८५ पुस २५ गतेसम्म मुख्यसचिवमा रहन पाउनुहुनेछ् । तर, यहीबिचमा सरकारले निजामती सेवामा ५५ वर्ष उमेर हद वा ३० वर्ष सेवावधिको व्यवस्था लागू ग¥यो भने कार्की लागू भएकै दिन मुख्यसचिवबाट बिदा हुनुहुनेछ । किनभने उहाँको उमेर ५५ वर्ष पूरा भएको छ । कार्कीको जन्म विसं २०२७ पुस २५ गते भोजपुरमा भएको हो । कार्कीले निजामती सेवामा खरिदारबाट प्रवेश गर्नुभएको हो । निजामती सेवामा प्रवेश गरेको ३७ वर्षमा उहाँ मुख्यसचिव नियुक्त हुनुभएको छ । कार्कीका अनुसार विसं२०४६ मा खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएको, २०५३ मा शाखा अधिकृत, २०६२ मा उपसचिव र २०७० मा सहसचिव बन्नुभएको थियो । विसं २०८१ भदौ २० मा विशिष्ट श्रेणीको सचिव पदमा बढुवा हुनुभएका कार्की बागमती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा हुनुभएको थियो । उहाँ साढे १३ महिनाअघि प्रधानमन्त्री कार्यालयमा सरुवा भएर आउनुभएको थियो ।

मुख्यसचिव नियुक्तिमा वरीयताक्रमसमेत हेरिँदै आएको छ । यद्यपि, वरीयताक्रम अनिवार्य भने छैन । वहाल रहेका सचिवहरूको वरीयताक्रममा कार्की ३५औँ नम्बरमा देखिनुहुन्छ । मुख्यसचिवमा दाबेदार देखिएका वरीयताक्रमका अघिल्ला सचिवहरूलाई पन्छाएर सरकारले कार्कीलाई नै मुख्यसचिवमा बढुवा गरेको हो । प्रचलित निजामती सेवा ऐनको दफा १९ को २ (क) मा मुख्यसचिव बढुवासम्बन्धी व्यवस्था छ । भनिएको छ, ‘राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवको पदमा बढुवा गर्दा वहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ ।’ यसमा कार्कीलाई मुख्यसचिव नियुक्त गर्दा सरकारले कार्यकुशलता हेरेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह