देवीघाट । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान विदुर-५, देवीघाट नुवाकोटको छैटौँ महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले प्रतिष्ठान स्थापनादेखि हालसम्म नेतृत्व गरिरहनुभएका विष्णुप्रसाद नेपाललाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नेपालको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति र विदुर-७ तुप्चेका सोमप्रसाद भण्डारीको नेतृत्वमा ३१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको निर्वाचन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक एवम् चन्दादाता बाबुराम अधिकारी र पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले उद्घाटन गर्नुभएको अधिवेशनबाट उपाध्यक्षमा गोविन्द चित्रकार विदुर-३ देवीघाट, सचिवमा रामशरण थापा विदुर-१० गैरीखर्क, कोषाध्यक्षमा विन्दादेवी अर्याल विदुर-८ हात्तीगाँैडा, सहसचिवमा मोतीराम न्यौपाने विदुर-५ पिपलटार चयन हुनुभएको छ । कार्यसमितिको सदस्यमा शिवप्रसाद गजुरेल, ठाकुरप्रसाद गजुरेल, लीलानाथ न्यौपाने, शम्भुप्रसाद शर्मा, बलराम अधिकारी, ठाकुरप्रसाद पुडासैनी, भरतकाजी चित्रकार, मदनलाल चित्रकार, मीनकुमार खतिवडा, शिव कोइराला, वासुदेव नेपाल, वसन्तजंग ठकुरी, केशवप्रसाद रिमाल, शिवप्रसाद पुडासैनी, सुशीला चित्रकार, सरस्वती न्यौपाने खतिवडा, रामकृष्ण भट्ट, दीपक न्यौपाने, रामलाल चित्रकार, कृष्णदास श्रेष्ठ, शिव अधिकारी, प्रदीप न्यौपाने, राजकुमार आचार्य, भरत पुलामी मगर, कृष्णप्रसाद खतिवडा र तुलसी दुवाडी सदस्य रहनुभएको छ ।
प्रतिष्ठानले सञ्चालन गरेको आश्रममा हाल ३६ ज्येष्ठ नागरिक आश्रित रहनुभएको छ भने आश्रममा ६ जना सेवक कर्मचारी कार्यरत छन् । हालसम्म २६ जना परलोक हुनुभएको र ३५ जनालाई उहाँहरूकै परिवारजनको जिम्मामा पुनस्र्थापनामा पठाइएको प्रतिष्ठानका संस्थापक सदस्य शिवप्रसाद गजुरेलले बताउनुभयो । विसं २०६७ मा स्थापित प्रतिष्ठानले २०७४ देखि देवीघाटमा निरन्तर असहाय ज्येष्ठ नागरिकको निःशुल्क पौष्टिक आहार, स्वच्छ ताजा दुध, दही, भोजन, आवास र औषधोपचारसहित आश्रम सञ्चालन गरिरहेको छ । प्रतिष्ठान गैरराजनीतिक, गैरनाफामूलक, गैरसरकारी र विशेषगरी मानवीय सेवामा समर्पित लोककल्याणकारी संस्था रहेको नवनिर्वाचित कोषाध्यक्ष अर्यालले बताउनुभयो । ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना भएको १५ वर्ष र सञ्चालनमा आएको नौ वर्ष पूरा भएको छ ।






प्रतिक्रिया