पोषण कार्यक्रम नेपाल सरकारबाट प्राथमिकतामा पर्दै आएको र स्वास्थ्य नीति २०७६ मा पोषण कार्यक्रमलाई बहुक्षेत्रीय योजनासँग जोडेर राष्ट्रिय योजना आयोगको नेतृत्वमा कार्यान्वयन गर्ने योजना बनाइएको छ । सो योजनाअनुसार पोषण कार्यक्रम कार्यान्वयन गरी देशमा मानव पुँजी निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बहुक्षेत्रीय योजनाअनुसार पोषण कार्यक्रमलाई पोषण विशेष र पोषण संवेदनशील गरी दुई भागमा छुट्याइएको छ । पोषण विशेषमा स्वास्थ्य क्षेत्रलाई हेरिन्छ । यसको भार २० प्रतिशत मानिन्छ भने पोषण संवेदनशीलअन्तर्गत शिक्षा, महिला, बालबालिका, कृषि, भेटेरेनरी, सुशासन, खानेपानी तथा सरसफाइ क्षेत्रलाई हेरिन्छ । जसको भार ८० प्रतिशत मानिन्छ । बहुक्षेत्रीय योजना कार्यक्रम कार्यान्वयनमार्फत विसं २०८७ सम्म पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहेको छ । पोषणमैत्री स्थानीय तह घोषणा गर्न शिक्षा, कृषि, भेटेरेनरी, सुशासन, महिला, बालबालिकामा खानेपानी, सरसफाइ र स्वास्थ्यका गरी ४९ सूचक पूरा गरेपश्चात् पोषणमैत्री स्थानीय तह घोषणा गर्न सकिन्छ भने सर्वप्रथम स्वास्थ्यका १६ सूचक पूरा गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । नुवाकोट जिल्लामा पोषण विशेष कार्यक्रममार्फत सबै स्थानीय तहबाट विशेष गरी निम्न सेवा प्रवाह भएका छन् ।
१. मातृशिशु तथा बाल्यकालीन पोषण कार्यक्रम : (क) स्तनपान र पूरक खानाको परामर्श (ख) मातृ पोषण परामर्श ।
२. वृद्धि अनुगमन : बालबालिका जन्मदेखि २३ महिना पूरा हुँदासम्म प्रत्येक महिनामा एकपटक र जम्मा २४ पटक वृद्धि अनुगमन गर्नुपर्छ ।
३. आइरनको कमी रोकथाम तथा नियन्त्रण : (क) गर्भवतीले गर्भ जाँच गरी एक-एक चक्की प्रत्येक दिन गरी १८० आइरन फोलिक एसिड खानुपर्छ (ख) सुत्केरीले ४५ चक्की आइरन फोलिक एसिड ४५ दिनमा एक-एक चक्की खानुपर्छ (ग) १० देखि १९ वर्षका किशोरीले साउन, भदौ र असोजमा गरी १३ हप्ता अनि माघ, फागुन र चैत्रमा १३ हप्ता गरी वर्षमा २६ हप्ता प्रतिहप्ता एक चक्की खानुपर्छ ।
४. भिटामिन ए र जुकाको औषधि : (क) ६ देखि ५९ महिनाका बालबालिकालाई वर्षको दुईपटक कात्तिक र वैशाखमा खुवाइन्छ । (ख) १२ देखि ५९ महिनाका बालबालिकालाई वर्षको दुईपटक कात्तिक र वैशाखमा खुवाइन्छ ।
५. शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन : ६ देखि ५९ महिनाका बालबालिकाको स्क्रिनिङ गर्ने र शीघ्र कुपोषण भए अस्पतालमा भर्ना गर्ने, रिफर गर्ने ।
६. बालभिटा (बहुसूक्ष्म पोषकतत्त्व) कार्यक्रम : ६ देखि २३ महिनाका बालबालिकालाई ६ महिना पूरा गरेपछि तीन साइकल ६-६ महिनामा ६० दिन खुवाउने ।
७. विद्यालय पोषण कार्यक्रम : (क) किशोरीलाई आइरन फोलिक एसिड वितरण २६ हप्ता (ख) जुकाको औषधि कक्षा १ देखि १२ सम्मलाई खुवाउने जेठ र मङ्सिर महिनामा । (प्रायोजन)
जनार्दन सिलवाल
जनस्वास्थ्य निरीक्षक
जनस्वास्थ्य कार्यालय नुवाकोट






प्रतिक्रिया