+
Search

ताजा अपडेट +

पपुलर +

घरेलु उद्योग महासङ्घको अध्यक्षमा गुरूङ

घरेलु उद्योग महासङ्घको अध्यक्षमा गुरूङ
त्रिशूली प्रवाह
१२ घण्टा अगाडी

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्षमा शोभा गुरुङ निर्वाचित हुनुभएको छ । काठमाडौँमा हालै सम्पन्न महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशनबाट गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

Utsuk Books & Stationery

गुरुङ यसअघि महासङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँसँग महासङ्घमा दुई कार्यकाल उपाध्यक्षका रूपमा र केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षका रूपमा काम गरेको अनुभव छ । हिमालयन डेकोर रक्स प्रालिको निर्देशक रहनुभएकी गुरुङ विगत तीन दशकदेखि गलैँचा उद्योगलगायत उद्यम व्यवसायमा आबद्ध हुनुहुन्छ । अध्यक्षमा निर्वाचित गुरुङले लघु, घरेलु तथा साना उद्यमीको व्यावसायिक हकहित र उद्योग-व्यवसाय प्रवद्धनका लागि नीतिगत पैरवी गर्ने बताउनुभएको छ । निर्विरोध निर्वाचित भएपछि उहाँले आफ्नो चयनलाई व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण उद्यमीको विश्वासका रूपमा लिएको बताउनुभयो । ‘मलाई निर्विरोध रूपमा चयन गरिनुको अर्थ मेरा सहकर्मी र उद्यमी मित्रले महासङ्घलाई नयाँ ढङ्गले अगाडि बढाउने जिम्मेवारी सुम्पनुभएको हो,’ उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने सात लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्यमीको व्यावसायिक हकहित र प्रवद्धनका लागि स्थापित यस महासङ्घको उद्देश्य प्राप्तिका लागि कटिबद्ध भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

निवर्तमान अध्यक्ष उमेशप्रसाद सिंहले उहाँलाई पदास्थापना गराउनुभएको थियो । महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी र अन्य उपाध्यक्षमा लघु उद्यमतर्फ पूर्णबहादुर भण्डारी, घरेलु उद्योगतर्फ सत्यनारायण अग्रवाल, साना उद्योगतर्फ यादवकुमार अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्धतर्फ हरिहर थापा, महिलातर्फ जानकी प्रधान, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएट्सतर्फ रामनाथ मैनाली, सहकारीतर्फ सत्यनारायण प्रजापति, कृषितर्फ चन्द्रबहादुर बुढाक्षेत्री र नवीकरणीय ऊर्जातर्फ गुणराज ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डिसी र सहकोषाध्यक्ष हेमविक्रम जिसी निर्वाचित हुनुभएको छ । त्यसैगरी, महासङ्घको केन्दीय महिला उद्यमी समितितर्फ अध्यक्षमा रीता अवाल र वरिष्ठ उपाध्यक्षमा शान्ति शर्मा, उपाध्यक्ष (उद्यम व्यवसाय) शर्मिला खत्री, उपाध्यक्ष (सङ्गठन) सोनी महतो, महासचिवमा सुलोचना श्रेष्ठ, कोषाध्यक्षमा मीना तामाङ र सचिवमा दीपा शाक्य निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह