+
Search

ताजा अपडेट +

पपुलर +

‘भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्नु जरुरी’

‘भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्नु जरुरी’
त्रिशूली प्रवाह
१२ घण्टा अगाडी

विदुर । आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजना र नुवाकोट साहित्य संगमको सहकार्यमा आदिकवि भानुभक्त आचार्यको ११३औँ जन्मजयन्तीको अवसरमा अन्तरविद्यालय कविता प्रतियोगिता कार्यक्रमका सहभागीले बताएका छन् ।

Utsuk Books & Stationery

सोमबार प्याब्सन सदस्य विद्यालय नेसनल बेथेल एकेडेमी, विदुर-९, प्लासटरमा सञ्चालन भएकोे कार्यक्रममा प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारीले भानुभक्त नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आमनेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराउनुभयो ।’ भानुभक्तलाई जन्मदिनमा सम्झने मात्र होइन, उहाँको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बाल साहित्य सर्जक अनुराधा शर्माले भन्नुभयो, ‘युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्दै सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ, भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ ।’ कार्यक्रममा साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व भएको बताउनुभएको छ । नेपाली साहित्यको उत्थान र विद्यार्थीका अन्तरनिहित प्रतिभा उजागर गर्नका लागि प्याब्सन नुवाकोट र नुवाकोट साहित्य संगमबिच सहकार्य गरिनेसमेत उहाँले बताउनुभयो ।

प्रतियोगितामा नुवाकोट ग्लोरी इंग्लिस बोर्डिङ स्कुल, सूर्यगढी-५ की छात्रा सदीक्षा भट्टराई प्रथम, सेई बोर्डिङ स्कुल, लिखु-५ की छात्रा राशिका जिसी द्वितीय, पायोनियर बोर्डिङ स्कुल, विदुर-७, तुप्चेकी छात्रा निष्मा रिजाल तृतीय र सुभेनियर बोर्डिङ स्कुल, बट्टारकी सुलक्षणा कँडेलले सान्त्वना स्थान हासिल गर्नुभएको जानकारी प्याब्सन नुवाकोटका सचिव रामजी भट्टले दिनुभयो । प्याब्सन सदस्य विद्यालय नेसनल बेथेल एकेडेमी, विदुर-९, प्लासटरमा सञ्चालन भएको कार्यक्रममा बाल साहित्य सर्जक अनुराधा शर्मा, साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमी, प्याब्सन नुवाकोटका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह