+
Search

ताजा अपडेट +

पपुलर +

बलबुद्धि बढाउन स्वर्णविन्दु प्राशन

३५ सय बालबालिका लाभान्वित

बलबुद्धि बढाउन स्वर्णविन्दु प्राशन
त्रिशूली प्रवाह
५६ मिनेट अगाडी

विदुर । नुवाकोट जिल्लामा गत आव २०८२/०८३ मा बलबुद्धि बढाउने स्वर्णविन्दु प्राशन कार्यक्रमबाट तीन हजार पाँच सय बालबालिका लाभान्वित भएका छन् । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय नुवाकोटले स्वर्णविन्दु प्राशन कार्यक्रम गत माघ १८ गतेदेखि प्रत्येक महिनाको पुश्य नक्षेत्रका दिन देवीघाटबाट सञ्चालन गर्दै आएको छ ।

Utsuk Books & Stationery

चिकित्सालयका सूचना अधिकारी नारायणप्रसाद वस्तीले बताएअनुसार सातपटक कार्यक्रम सञ्चालन भएको जसमा एकदेखि पाँच वर्षसम्मका एक हजार नौ सय बालक, एक हजार पाँच सय ९८ बालिका गरी कुल सङ्ख्या तीन हजार चार सय ९८ ले स्वर्णविन्दु प्राशन प्राप्त गरेका छन् । बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासका लागि स्वर्णविन्दु प्राशन खुवाइन्छ । यसले बालबालिकाको स्मरण शक्तिमा वृद्धि र रोगसँग लड्न सक्ने शक्तिको विकास हुने चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै राम्रो फिडब्याक आइरहेकाले यस कार्यक्रमलाई जिल्लाभरि सञ्चालन गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा माग गरिएको छ ।’ बालबालिकाको रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुने भएपछि स्वर्णविन्दुप्रति अभिभावकको आकर्षण बढ्दै गएको पाइएको छ ।

नेपाल सरकारले आधिकारिक रूपमा गत वर्षको साउनदेखि कार्यक्रम अघि सारेको भए पनि नुवाकोटको देवीघाटमा माघदेखि सञ्चालन गरिएको हो । स्वर्णविन्दुलाई नियमित खोपको रूपमा बुझ्नुहुँदैन । यो बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासका लागि खुवाउने हो । यो खुवाएपछि उनीहरूको स्मरण शक्तिमा समेत वृद्धि हुने डा. गिरीले बताउनुुभयो । आयुर्वेद चिकित्सकका अनुसार स्वर्णविन्दु प्राशन विभिन्न प्रकारका सामग्रीहरूको मिश्रणबाट बनाउने गरिन्छ ।

त्यसमध्ये स्वर्ण भष्म अर्थात् शुद्ध गरिएको सुनको भष्म यसमा मिसाइन्छ । त्यस्तै, मह औषधि मिसाउन र स्वादका लागि प्रयोग हुन्छ । गाईको घिउसहित ब्राह्मी, शंखपुष्पी, वचा, गुडुची, यष्टिमधु, अश्वगन्धा र पिप्पली नामको आयुर्वेदिक जडीबुटी मिसाएर बनाउने गरिएको डा. गिरीले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह