+
Search

ताजा अपडेट +

पपुलर +

गुरूपूर्णिमाको र गुरूको महत्त्व

गुरूपूर्णिमाको र गुरूको महत्त्व
आचार्य वासुदेव उपाध्याय नेपाल
५६ मिनेट अगाडी

आज असार १३ गते बुधबार व्यासजयन्ती परेको छ । आषाढशुक्ल पूर्णिमाको दिन गुरूपूर्णिमाका साथै व्यास जयन्तीको दिन पनि हो । यस प्रसङ्गमा व्यासको सम्झना गर्नु र उहाँको पू्जा गर्नु हाम्रो कर्तव्य हुन्छ । आज गुरूपूजाको दिन पनि भएकोे हुँदा व्यास संसारकै महागुरू स्वरूप हुनुभएकाले उहाँको पूजा एवं सम्मान गर्नु विशेष कर्तव्य हुन्छ ।
ततः सप्तदशे जातः सत्यवत्यां पराशरात् ।
चक्रे वेदतरोः शाखा दृष्ट्वा पुंसो क्ल्पमेधसः ।।  श्री.भा.१/३/२१
‘‘द्वापरे समनुप्राप्ते तृतीये युगपर्यये ।
जातः पराशराद्योगी वासव्यां कलया हरेः।।’’  श्री.भा.१/४/१४
वर्तमान चतुर्युगीको तेस्रो युग द्वापरयुगमा विष्णुभगवान्को अंशबाट पराशरमुनि र सत्यवतीका गर्भबाट सत्रौँ अवतारका रूपमा व्यासजीको अवतार भएको हो । पहिले वेदविद्यारूप एउटै ठूलो वृक्ष थियो । जसलाई गुरूमुखबाट सुनेर सबैले धारण गर्न सक्तथे । पछि मानिसको धारणाशक्ति कम भएको देखेर व्यासले वेदविद्यालाई चार भागमा विभाग गर्नुभयो ।
‘‘वीर्यं तेजो बलं चाल्पं मनुष्याणामवेक्ष च ।
हिताय सर्वभूतानां वेदभेदान् करोति सः।।  विष्णुपु.३/३/६ पुराणविमर्श-६३
कालान्तरमा द्वापरयुगमा मानिसको बुद्धि तेज वीर्य र धारणाशक्ति कम भएको देखेर व्यासले वेदरूप वृक्षलाई पहिले चार भाग गरी पछि तिनका पनि अनेक शाखामा विभाग गर्नुभयो ।
‘‘द्वापरे द्वापरे विष्णुव्र्यासरूपी महामुने ।
वेदमेकं सुबहुधा कुरूते जगतो हितः।।  वि.पु. ३/३/५
‘‘द्वापरे द्वापरे विष्णुव्र्यासरूपेण सर्वदा ।
वेदमेकं स बहुधा कुरूते हितकाम्यया ।।
अल्पायुषोक्ल्पबुद्धींश्च विप्रान् ज्ञात्वा कलावथ ।
पुराणसंहितां पुण्यां कुरूतेक्सौ युगे युगे ।।’’  देवीभाग.१/३/१९, २० पुराणविमर्श-६३
विदविद्याका साथै एक अरब ग्रन्थसङ्ख्या भएको पुराण विद्यालाई पनि चार लाख ग्रन्थ सङ्ख्यामा १८ भागमा विभागर गरी अष्टादश पुराणको रचना गर्नुभयो ।
‘‘व्यासरूपमहं कृत्वा संहरामि युगे युगे ।
चतुर्लक्षप्रमाणेन द्वापरे द्वापरे सदा ।।
तदष्टादशधा कृत्वा भूर्लाेके क् स्मिन् प्रकाशते ।।
अद्यापि देवलोकेक् स्मिन् शतकोटिप्रविस्तरम् ।।
तदर्थाेक्त्र चतुर्लक्षं संक्षेपेण निवेशितम् ।।  (मत्स्यपु.पद्मपु.पुराणविमर्श पृ.७ ७)
एवं पुराणसन्दोहश्चतुर्लक्ष उदाहृतः।’’  श्रीभाग.१२/१३/९
भगवानले आफैँ भन्नुभएको छ – पुराण विद्याको ग्रन्थसङ्ख्या शतकोटी अर्थात् एक अर्ब छ, जो अहिले पनि देवलोकमा विद्यमान छ । तर मनुष्यलोकका व्यक्तिको बुद्धि र धारणाशक्तिमा कमी भएको हुँदा शतकोटी सङ्ख्याबाट सङ्कक्षेप गरी मुख्यमुख्य छानेर मनुष्यलोकका लागि चार लाख ग्रन्थ झिकी त्यसलाई पनि अठ्ठार भाग गरी अष्टादश पुराणको रचना गरेको हो ।
‘‘अचतुर्वदनो ब्रह्मा द्विबाहुरपरो हरिः।
अभाललोचनः शम्भुर्भगवान् बादरायणः।।
अर्थात्, चार मुख नभएका ब्रह्मा, दुई हात मात्र भएका विष्णु र निधारमा आँखा नभएका महेश्वर भनेका भगवान् व्यास नै हुनुहुन्छ । अर्थात्, व्यास भनेका ब्रह्मा, विष्णु र महेश्वर तीनै देवस्वरूप हुनुहुन्छ, भनिएको हो ।
‘‘व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे ।
नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः ।।
व्यासं वसिष्ठनप्तारं शक्तेः पौत्रमकल्मषम् ।
पराशरसुतं वन्दे शुकतातं तपोनिधिम् ।।’’  पुराणविमर्श-६२
अर्थात्, विष्णुरूप व्यास र व्यासरूप विष्णु जो वेदका खानी र निष्पाप हुनुहुन्छ । उहाँ वशिष्ठका पनाति, शक्तिका नाति, पराशरका छोरा र शुकदेवका पिता र तपस्याका खानी अर्थात् सधैँ तपस्यामा रत हुने व्यासजीलाई वन्दना गर्दछु ।
‘व्यासोच्छिष्टं जगत् सर्वम्’’
अर्थात्, संसारमा जे–जति संस्कृतवाङ्मय शास्त्र छ, त्यो सबै नै व्यासको जुठो हो, अर्थात् वाङ्मयका सम्पूर्ण क्षेत्रमा व्यासले कलम चलाउनुभएको छ । उहाँकै प्रसादबाट हामीले पनि केही सिकेका हौँ । महाभारतमा भनिएको पनि छ ।
‘‘धर्मे चार्थे च कामे च मोक्षे च भरतर्षभ ?
यदिहास्ति तदन्यत्र यन्नेहास्तिन तत् क्वचित्’’ ।।  (महाभारत)
अर्थात्, व्यासले रचना गरेको महाभारत ग्रन्थमा धर्म, अर्थ, काम र मोक्ष समेत चारै पुरूषार्थका कुरा उल्लेख छन् । जो यसमा छन् ती अन्यत्र छन्, जो यहाँ छैनन्, ती अन्यत्र पनि छैनन्, पाइँदैनन् भनिएको छ । त्यसैले,
‘‘यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् ।’’
भन्ने कुराले सबै वाङ्मय व्यासको जुठो हो भन्ने सिद्ध हुन्छ । त्यसैले हाम्रो समाजमा व्यासको ठूलो महत्त्व रहेको हुँदा सकल वाङ्मय जगत्का गुरूरूपमा रहेका व्यासको स्मरण, सम्मान र पुजन गर्नु आजका समयमा पनि उत्तिकै सान्दर्भिक भएकोले उहाँको सम्मान एवं पूजा गर्नु हामी सबैको कर्तव्य हुन आउँछ ।
शुक्ल पूर्णिमालाई गुरूपूर्णिमा भनिन्छ । यस दिन ज्ञान प्रदान गर्ने गुरूजनप्रति सम्मान एवं कृतज्ञता प्रकट गर्न गुरूपूजा गर्ने परम्परा छ । गुरूको पूजा गर्नु विद्या र विद्याका अधिष्ठात्री देवताप्रतिको सम्मानको परिसूचक पनि हो । व्यक्तिगतरूपमा गुरूका घरमा गएर गुरूको पूजा गर्नुकासाथै विद्यालय, महाविद्यालय र विश्वविद्यलयमा समेत सामूहिक रूपमा गुरूको पूजा गर्ने परम्परा पनि प्रचलित छ । गुरूको पूजा केवल पूजाका रूपमा मात्र नभई उहाँहरूमा रहेको ज्ञान विज्ञानको पुरस्कारको परिपूरक पनि हो । यसबारे शिवपुराणमा उल्लेख छ –
‘‘तथैव गुरूसम्पर्कात् पापं त्यजति मानवः ।
यथा वह्निसमीपस्थो घृतकुम्भो विलीयते ।।
तथा पापं विलीयेत ह्याचार्यस्य समीपतः ।
यथा प्रज्वलितो वह्निः शुष्कमाद्र्रं च निर्दहेत् ।।
तथाक्यमपि सन्तुष्टो गुरूः पापं क्षणाद्दहेत् ।।
मनसा कर्मणा वाचा गुरोः क्रोधं न कारयेत ।।
तस्य क्रोधेन दह्यन्ते ह्यायुःश्रीज्ञानसत्क्रियाः ।।’’  शिवपु.वायवीय.उत्तरभा.१५/२७, २८, २९, ३०
जसरी पापीका सङ्गतले मानिस पनि पापी एवं पतित हुन्छ, जसरी आगोमा तताएपछि आगोका सम्पर्कले सुवर्णले आपूmमा रहेको मैलोपन त्याग्दछ र कञ्चन हुन्छ, जसरी आगाका छेउमा रहेको कुम्भको घिउ पग्लन्छ, त्यसरी नै गुरूका सम्पर्कले गुरू खुशी भएपछि सम्पूर्ण पाप जलेर भस्म भई नष्ट हुन्छन् । त्यसकारण मन, वचन र कर्मले गुरू रिसाउने काम कहिल्यै गर्नुहुँदैन । गुरू रिसाउनुभयो भने गुरूका क्रोधले आयु, सम्पत्ति, ज्ञान–विज्ञान र आफ्ना सम्पूर्ण सत्कर्म भस्म हुन्छन् । त्यसकारण गुरूलाई सधैँ सन्तुष्ट राख्नुपर्दछ ।
‘‘गुरूब्र्रह्मा गुरूर्विष्णुर्गुरूर्देवो महेश्वरः ।
गुरूः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरून्मीलितं येन तस्मै श्रीगुरवे नमः ।।
अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः’’ ।।
गुरू भनेका ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्म स्वरूप हुनुहुन्छ । जसले मानिसमा रहेको अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूप ज्योती जगाइदिनुहुन्छ र जीवनलाई सार्थक बनाइ दिनुहुन्छ, अनि चराचर सम्पूर्ण जगत् जुन् परमात्माद्वारा व्याप्त छ, त्यस्तो सर्वव्यापक परमात्माको वास्तविक तत्त्व बुझाएर छर्लङ्ग पारी अज्ञानलाई हटाई ज्ञानज्योति जगाएर संसार सागरबाट पार लगाई दिनुहुन्छ ।
‘‘गुकारश्चान्धकारः स्याद्रुकारस्तस्य नाशकः ।
तयोरैक्यं परं ब्रह्म गुरूरित्यभिधीयते ।।’’
अर्थात्, गुशब्द अन्धकार वाचक हो भने रूशब्द अन्धकारको नाशक हो । यी दुई शब्दको जब एकीभाव हुन्छ, तब गुरू शब्द बन्दछ । त्यसैले गुरू शब्द परब्रह्म वाचक पनि हो । गुरूका बारेमा शिवपुराणमा अरू पनि अरू उल्लेख छ –
‘‘यो गुरूः स शिवः प्रोक्तो यः शिवःस गुरूः स्मृतः ।
गुरूर्वा शिव एवाथ विद्याकारेण संस्थितः ।।’’  शि.पु.वा.सं.उ.भा. १५/२०
जो गुरू हुनुहुन्छ, उहाँ शिव नै हुनुहुन्छ, अनि जो शिव हुनुहुन्छ, उहाँ साक्षात् गुरूस्वरूप हुनुहुन्छ । विद्याका रूपमा गुरू नै शिवजी बनेर रहनुभएको छ ।
‘‘यथा शिवस्तथा विद्या यथा विद्या तथा गुरूः।
शिवविद्यागुरूणाञ्च पूजया सदृशं फलम् ।।’’ तत्रैव २१
जस्ता शिवजी हुनुहुन्छ, त्यस्तै विद्या छ, जस्तो विद्या छ, त्यस्तै गुरू हुनुहुन्छ, त्यसैले शिव, विद्या र गुरूको पूजनबाट समान फल पाइन्छ ।
‘‘सर्वदेवात्मकश्चासौ सर्वमन्त्रात्मको गुरूः ।
तस्मात् सर्वप्रयत्नेन तस्याज्ञां शिरसा वहेत् ।’’  तत्रैव २२
शिव सम्पूर्णदेव स्वरूप हुनुहुन्छ भने गुरू सर्वमन्त्रस्वरूप हुनुहुन्छ । गुरू सम्पूर्ण मन्त्रका मूर्तरूप हुनाले र मन्त्र सिद्धिबाट शिवको प्राप्ती हुने हुनाले शिष्यले गुरूको आज्ञा सदा पालन गर्नुपर्छ । जसले गुरूको आज्ञा पालन गर्दछ, त्यसले ज्ञान र ऐश्वर्यको उपभोग गर्न पाउँछ । शिष्यले गुरूका अगाडि केही काम गर्नुप¥यो भने गुरूको आज्ञा लिएर मात्र गर्नुपर्दछ । दत्तात्रेयले २४ गुरू मानेका छन् भने २५सौँ गुरूका रूपमा आफ्नै देहलाई पनि मानेका छन् ।
त्तात्रेयका २४ गुरू यस प्रकार छन् । 
पृथिवी, वायु, आकाश, जल, अग्नी, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली, भ्रमरो र (त्यसको सजाति मौरी) हात्ती, मह काढ्ने मानिस, हरिण, माछो, पिङ्गला नामकी वेश्या, कुररपक्षी (न्याउली), बालक, कुमारी–कन्या, बाण बनाउने मानिस, सर्प, माकुरो र कुमालकोटी समेत २४ गुरू हुन् भने पच्चीसौँ गुरू आफ्नै देह हो भनेर मानेका छन् । यी प्रत्येकबाट केही न केही शिक्षा लिएर दत्तात्रेयले गुरू मानेका हुन् । वास्तवमा संसारका सबै चीजलाई गुरू मान्न सकिन्छ । जसबाट राम्रा कुरा सिकिन्छ र जसबाट नराम्रा कुरा बुझेर नराम्रा कामबाट निवृत्त हुन सकिन्छ । अर्थात्, यो काम गर्न नहुने रहेछ भनेर नराम्रा कुरा छाड्न सहयोग पुग्छ, त्यसलाई पनि गुरू मान्नुपर्दछ ।
‘‘जे–जेबाट सिकिन्छ सुन्दर कुरा यद्वा नराम्रा कुरा,
राम्रा वस्तु लिएर पालन गरौं छाडौं नराम्रा कुरा ।
संसारैभरका पदार्थ सब नै हुन्छन् सबैका गुरू,
यस्तो भाव लिएर सर्वजनमा सम्मान गर्ने गरौँ ।।’’
यसकारण समाजमा सही बाटो देखाएर यस लोकमा सुख ऐश्वर्यको भोग गराउन र परलोकमा मोक्ष गराउनसमेत गुरूको भूमिका महत्त्वपूर्ण हुने हुँदा शास्त्रले गुरूको अत्यन्त ठूलो महत्त्व प्रतिपादन गरेको छ । ॐ गुरूदेवतायै नमः । ॐ व्यासाय नमः। ॐश्रीकृष्णार्पणमस्तु ।।

Utsuk Books & Stationery

                                                                                                                                                                                                                                                                                                                                      विदुर-५, द्वारपालमार्ग, देवीघाट, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

आचार्य वासुदेव उपाध्याय नेपाल