धुन्चे । रसुवा जिल्लाभर सवारी नियम उल्लङ्घन गर्नेमाथि गरिएको ट्राफिक प्रहरीको कारबाहीबाट आव २०८२/०८३ मा रू.२८ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक जलन्धर राय यादवका अनुसार कुल दुई हजार तीन सय ४८ वटा विभिन्न सवारीसाधनको चेकजाँच गर्दा ट्राफिक नियम उल्लङ्घनबाट उक्त राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८१/०८२ मा कारबाही सङ्ख्याभन्दा गत आवमा कम र राजस्व भने रू.पाँच लाखभन्दा बढी उठेको छ । अघिल्लो वर्ष ट्राफिक कारबाहीमा दुई हजार तीन सय ५९ सवारीसाधन परेकोमा गत वर्ष दुई हजार तीन सय ४८ रहेको छ । अघिल्लो वर्ष रू.२५ लाख ५१ हजार राजस्व सङ्कलन भएकोमा गत वर्ष बढेर रु.२८ लाख ८५ हजार भएको छ ।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी ट्रक एक हजार ७५, बस ९६, कार/जिप पाँच सय ९१, ट्रयाक्टर २८, मोटरसाइकल पाँच सय २९ र टेम्पो २९ रहेका छन् । एक सय १६ वटा सवारी दुर्घटना हुँदा गत वर्ष तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एकजना महिला रहेका छन् । दुर्घटनामा परी ७८ जना घाइते भएका थिए । घाइते हुनेमा ४९ पुरुष, २३ महिला, चार बालक र दुई बालिका रहेका थिए । दुर्घटना भएका सवारीसाधनमा ट्रक ३०, ट्रिपर ६, बस १२, माइक्रो १४, कार/जिप ६३, टेम्पो एक, मोटरसाइकल ४९ र अन्य पाँच रहेका थिए ।

जनचेतनामूलक अभियान
ट्राफिक प्रहरीले जरिवाना तिराउनुभन्दा पनि जिल्लाभरि ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्ष जिल्लाको विभिन्न स्थानमा चार सय ७२ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमबाट २८ हजार दुई सय ९३ सर्वसाधारण तथा चालक लाभान्वित भएको दाबी ट्राफिक कार्यालयले गरेको छ । प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीलक्षित कक्षा सञ्चालन, पैदलयात्री ट्राफिक सचेतना, चालकको स्वास्थ्य परीक्षण तथा सवारीसाधनको यान्त्रिक परीक्षणजस्ता महत्त्वपूर्ण कार्यक्रम गर्ने गरेको छ । गुडिरहेका सवारीका चालकसँग ‘पाँच मिनेट’ कुराकानी, चालक/यात्रु ट्राफिक सचेतना र अन्य विविध विधिको प्रयोग गरी सचेतना फैलाउने कार्य भइरहेको जिल्ला ट्राफिक इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक जलन्धर यादवले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।






प्रतिक्रिया