विदुर । नुवाकोट जिल्ला, विदुर-१३, कल्याणपुरनिवासी नवीन कोइरालाले विदुर–५ मा सञ्चालित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकको सेवाका लागि निर्माण भइरहेको हाई केयर युनिटका लागि रू.१५ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । सञ्चालन हुने हाई केयर युनिटमा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र उपकरण राखिने बताइएको छ ।

समाजसेवी तथा सहयोगीको रूपमा महत्त्वपूर्ण आर्थिक सहयोग उपलब्ध गराउनुभएको भन्दै प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले गत हप्ता ईश्वरीय मनका धनी, समाजसेवी, सहयोगी विदुर–१३, कल्याणपुर घर भई हाल अमेरिका बसोबास गर्दै आउनुभएका कोइरालालाई सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । ज्येष्ठ नागरिकको सेवा, संरक्षण र सम्मानमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्त प्रेरणादायी र अनुकरणीय कार्यका रूपमा लिएको प्रतिष्ठानका कोषाध्यक्ष विन्दादेवी अर्यालले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । सो कार्यक्रममा नवीनका बुबाआमा नारायणप्रसाद कोइराला र लक्ष्मी कोइरालालाई पनि सम्मान गरिएको थियो ।
विसं २०६७ मा स्थापित प्रतिष्ठानले २०७४ देखि देवीघाटमा निरन्तर असहाय ज्येष्ठ नागरिकको निःशुल्क पौष्टिक आहार, स्वच्छ ताजा दुध, दही, भोजन, आवास र औषधोपचारसहित आश्रम सञ्चालनमा रहेको छ । प्रतिष्ठान गैरराजनीतिक, गैरनाफामूलक, गैरसरकारी र विशेषगरी मानवीय सेवामा समर्पित लोककल्याणकारी संस्था हो । प्रतिष्ठानमा स्थानीय तहको सिफारिसमा हाल ३६ ज्येष्ठ नागरिक आश्रित हुनुहुन्छ । ६ सेवक कर्मचारीबाट उहाँहरूको सेवा प्रदान गरिँदै आएको प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म २६ जना परलोक हुनुभएको र ३५ जनालाई उहाँहरूकै परिवारजनको जिम्मामा पुनस्र्थापनामा पठाइएको छ । ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना भएको १५ वर्ष र सञ्चालनमा आएको नौ वर्ष पूरा भएको छ । प्रतिष्ठान स्थापनादेखि हालसम्म नेपालले नेतृत्व गरिरहनुभएको छ ।






प्रतिक्रिया