विदुरवासीले देख्दाखेरि वडाध्यक्ष र चन्द्रज्योति माविका शिक्षकको ‘जुँगाको लडाइँ’ मात्र चाइन्जो देखिराख्या छन् भन्या । कुरा पनि त्यही र त्यही कोणबाट मात्र गर्न थालेको दुई महिना बितिसक्यो । तर, तेस्रो आँखाले आफ्नो अन्तरचक्षुले यसो घुमाउँदै लैजाँदा त चाइन्जो दुई दशक पुरानो दुस्मनी पो देखियो त । दुई दशकअघि नासु हुँदा एमालेले निगाहले नगरकै निमित्त कार्यकारी अधिकृत बनाको नगरवासीले के बिर्सन्थे त चाइन्जो ! ५ का वडाध्यक्ष एकाध वर्ष गरिखान दिऊँ, रिटायर्ड भएपछि ठाकुरको विकल्प यिनैलाई तयार पार्नुपर्छ भन्दै एमालेको योजनामै निमित्त अधिकृत हुनुभयो सुब्बा सा’ब । तर, एमालेलाई नै टेर्न छाडेपछि भर्खरै लोकसेवा आयोगबाट खुला शाखा अधिकृत भएका मदानपुरका उदय रानामगरलाई स्थानीय विकास मन्त्रालयले विदुरमा पोस्टिङ गरेर पठायो । आफूभन्दा तल खरिदार भएर काम गरेको उदय हाकिम भएर आएपछि कसरी काम गर्नु ? पीडा ओकल्दै अब राजनीति गर्ने हो भन्दै सुब्बाबाट राजीनामा ठोक्नुभयो चाइन्जो ! उदयलाई गाली गरेको र बर्बराएको सुन्ने तेस्रो आँखा मात्र होइन, त्यतिखेर एमाले र माओवादीका नेताहरू अझै नगरमा चाइन्जो ज्युँदै छन् क्यारे ! देवीघाटदेखि बट्टारका चियापसल, पिपलटारदेखि त्रिशूलीका किराना पसल सबैतिर उहाँको तत्कालीन भँडास नसुन्ने कोही छैनन् होला ।
उदय अहिले सञ्चार मन्त्रालयमा सहसचिव छन् । त्यही दुस्मनी अहिले उहाँका कान्छा ससुरासँग लिँदै घरि विद्यालयबाट त घरि नगरपालिका बोर्डबाट स्पष्टीकरण सोधेर साधेको हो भन्दै बट्टारबजारको चियापसलमा चार-पाँचजना जम्मा भएर गफ जोतिरहेको दृश्य चाइन्जो तेस्रो आँखाले चाल नपाउने कुरै भएन । गफाडीहरू भन्दै थिए – उहिले राणाकालका सुब्बा कृष्णलालले बोल्न नपाएपछि राणाविरुद्ध मकैपर्व लेखे । अहिलेका पूर्वसुब्बा सा’बचाहिँ मास्टरले व्यङ्ग्य गर्यो भन्दै मुखमा पट्टी कस्न लागेका छन् । हाम्रा जनप्रतिनिधिलाई ‘…को मुखमा कुभिन्डो’ जस्तै भयो स्थानीय निकायअन्तर्गत स्कुल राख्ने सङ्घीयताको अधिकार’ भन्दै माओवादीनिकटकै शिक्षकचाहिँ चिया चुस्काउँदै गफ लडाइरहेको दृश्य पिपलटार चोकतिर चाइन्जो नदेख्ने त कोही भएनन् ।







प्रतिक्रिया