+
Search

ताजा अपडेट +

पपुलर +

भूमि प्रशासनमा कर्मचारीको मोहभंग

दुई वर्ष नपुग्दै फेरिए आधा दर्जन हाकिम

भूमि प्रशासनमा कर्मचारीको मोहभंग
त्रिशूली प्रवाह
४२ मिनेट अगाडी

विदुर । कुनै समय मालअड्डाको रूपमा चिनिने मालपोत कार्यालयमा सरुवा भएर जाने कर्मचारीलाई ‘भाग्यमानी पोस्टिङ’ भनिन्थ्यो । केही वर्षअघिसम्म मालपोत सरुवा हुनेलाई बधाई र शुभकामनाको ओइरो लाग्दथ्यो । कार्यालय प्रमुखदेखि सामान्य कर्मचारीसम्म आफ्नो अनुकूलको मालपोत कार्यालय रोज्न राजनीतिक पहुँचदेखि प्रशासनिक शक्ति प्रयोग गर्नेसम्मका प्रयास गरेको प्रशस्तै उदाहरण छन् ।

Utsuk Books & Stationery

मालपोतमा कार्यरत हुनुलाई प्रतिष्ठा, अवसर र प्रभावसँग जोडिएर हेर्ने गरिन्थ्यो । समाजले पनि मालपोतका कार्यालय सहयोगीदेखि प्रमुखसम्मलाई सम्पन्नतासँग दाँजेर हेथ्र्यो । पछिल्ला केही वर्षदेखि अख्तियारको कारबाहीमा सबैभन्दा बढी मालपोतका कर्मचारी पर्ने गरेपछि यो कार्यालय बदनाम हुँदै गयो । अहिले मालपोतमा सरुवा हुन नपरे हुन्थ्यो भन्दै भगवान्को नाममा जप, तप र भाकल गर्नेको सङ्ख्या उल्लेखनीय रहेको छ । भूमि प्रशासनसँग प्रत्यक्ष जोडिएको मालपोत कार्यालय कुनै वेला अत्यधिक आर्थिक चलखेल, राजनीतिक तथा प्रशासनिक प्रभाव र सेवाग्राहीको भिडका कारण सबैभन्दा ‘आकर्षक’ कार्यालयको रूपमा चिनिन्थ्यो, तर समय फेरिएको छ । अहिले अवस्था ठिक उल्टो बनेको छ । कुनै वेला कर्मचारी-कर्मचारीबिच नै तँछाड-मछाड गर्दै प्रतिस्पर्धा गरी मालपोत कार्यालयमा जान पाउनुपर्ने भन्ने अहिले त्यहाँ जानै रुचाउँदैनन् । यसले मालपोत प्रशासनभित्र आएको परिवर्तन र त्यसका कारणबारे नयाँ बहस सुरु भएको छ । अहिले नुवाकोट जिल्लामा समेत यस्तै अवस्था देखिएको छ । जिल्लाको सदरमुकाम विदुरस्थित तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय हाल भूमि प्रशासन कार्यालयमा दुई वर्षमा आधा दर्जन प्रमुख फेरिसकेका छन् ।

कार्यालय प्रमुखको जिम्मेवारी रिक्त रहँदा प्रशासनिक तथा निर्णय प्रक्रियामा समेत प्रभाव परेको स्वयम् कर्मचारी बताउँछन् । अझ रोचक पक्ष के छ भने भूमि प्रशासन कार्यालयमा सामान्यतया अधिकृतस्तरका कर्मचारीले कम्तीमा दुई वर्ष कार्यअवधि पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्ला दुई वर्षमा कर्मचारी उक्त अवधि पूरा नहुँदै सरुवाका लागि पहल गरी अन्य कार्यालय जान थालेका छन् । भूमि प्रशासन कार्यालय नुवाकोटमा रहेको कार्यालय प्रमुखको नामावली सूचीअनुसार दुई वर्ष नपुग्दै सातजना हाकिम फेरिए, तर कोही पनि टिकेनन् । विसं २०८० फागुन १० देखि २०८२ मङ्सिर १ गतेसम्म सातजना कार्यालय प्रमुख परिवर्तन भइसक्नुभएको छ । महेन्द्रबहादुर नेपालले विसं २०८० फागुन १० देखि २०८० चैत ६ गतेसम्म जिम्मेवारी निर्वाह गर्नुभयो । त्यसपछि ओमबहादुर अधिकारीले २०८० चैत ७ देखि २०८१ असोज ३० गतेसम्म साढे ६ महिना कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरी सरुवा हुनुभयो । विसं २०८१ असोज ३० देखि मीनबहादुर भट्टराई कार्यालय प्रमुख भई २०८१ फागुन ४ गतेसम्म काम गरी सरुवा लिएर जानुभयो । त्यसपछि विसं २०८१ फागुन ५ देखि २०८२ वैशाख २१ गतेसम्म कार्यालय प्रमुख रहनुभएका देवीबहादुर भण्डारी पनि सरुवा लिएर जानुभयो । भण्डारीपछि विसं २०८२ जेठ ६ देखि २०८२ साउन १३ गतेसम्म फेरि महेन्द्रबहादुर नेपाल कार्यालय प्रमुख हुनुभयो । उहाँ पनि साढे दुई महिना नपुग्दै अनिवार्य अवकाशमा गएपछि गोवर्धन ढकाल विसं २०८२ साउन २२ देखि २०८२ कात्तिक ३० गतेसम्म तीन महिना कार्यालय प्रमुख रहनुभयो । उहाँ पनि तीन महिना नपुग्दै सरुवा मागेर जानुभयो । ढकालपछि विसं २०८२ मङ्सिर १ देखि धर्मराज रोकया कार्यालय प्रमुख भई आउनुभयो । उहाँ विसं २०८२ मङ्सिरदेखि हालसम्म कार्यालय प्रमुख रहनुभएको छ । दुई वर्षको अवधिमा कार्यालय प्रमुख बस्न नमान्नुको मुख्य कारण विदुर-२ स्थित शेरा दरबार र त्यस क्षेत्रको एक सय ६४ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाउन भूमि व्यवस्था मन्त्रालय, भूमि व्यवस्था विभागको दबाब रहेको नेपाल लेखापढी व्यवसायी एसोसिएसन नुवाकोटका पदाधिकारीले बताउँछन् । कार्यालय प्रमुख भएर आएको दिनदेखि नै मन्त्रालय र विभागले दबाब दिने, उक्त जग्गाको प्रक्रिया अगाडि नबढाउन अदृश्य शक्तिबाट फोन आउने गरेकाले असुरक्षा महसुस गर्दै आधा दर्जन कार्यालय प्रमुख आएकै दिनदेखि काममा भन्दा सरुवा गराउनै सक्रिय रहे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह