काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग विपत् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सञ्चारलगायतका विषयमा सोमबार मन्त्रालयमा बृहत् छलफल गर्नुभएको छ ।

मन्त्री डा.तिमिल्सिना सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले गाउँपालिकाको समग्र विकासको अवस्था, स्थानीयवासीले भोगिरहेका समस्या तथा उहाँहरूको अपेक्षाबारे जानकारी लिनुभएको थियो । उहाँले स्थानीय तहबाट उठेका आवश्यकता र समस्यालाई सङ्घीय सरकारको योजना तथा प्राथमिकताअनुसार सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । सञ्चारमन्त्री तिमिल्सिनाले तादी गाउँपालिका-२ स्थित मुडुलेडाँडामा नेपाल टेलिकमको पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिइने जानकारी दिनुभयो । साथै खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य तथा सञ्चार क्षेत्रका आवश्यकतामा समयमै सहयोग उपलब्ध गराइनेमा जोड दिनुभयो । उहाँले वर्षायाममा बाढी तथा पहिरोबाट उत्पन्न हुने जोखिमको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच आपसी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो । साथै, स्थानीय समुदायका समस्या समाधानका लागि आफू निरन्तर जनतासँग संवाद र समन्वयमा रहेको पनि उहाँले बताउनुभयो ।






प्रतिक्रिया