विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ र ५ ले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा वडावासीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरेका छन् ।

दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि विद्युतीय चुलो वितरण गरिएको विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले बताउनुभयो । वडाध्यक्ष कायस्थले विद्युतीय चुलोको प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा हुने निर्भरता कम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिलो चरणमा ६ सय घरपरिवारलाई चुलो वितरण गरिएको र आगामी दिनमा थप घरपरिवारलाई वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको पैसा देशभित्रै राख्ने, वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नागरिकलाई सहज र किफायती रूपमा खाना पकाउने व्यवस्था उपलब्ध गराउने उद्देश्यले चुलो वितरण गरिएको हो ।’

त्यसैगरी, विदुर-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले पहिलो चरणमा पाँच सय घरपरिवारलाई चुलो वितरण गरिएको र आगामी दिनमा थप घरपरिवारलाई वितरण गरिने जानकारी दिनुभयो । उहाँले आगामी चरणमा वडाका सबै घरपरिवारसम्म विद्युतीय चुलो पुर्याउने लक्ष्य रहेकोसमेत बताउनुभयो । देशमा पर्याप्त मात्रामा बिजुली रहेको र आगामी दिनमा थप बिजुली उत्पादन हुने देखिएकाले आफ्नै उत्पादनको प्रयोग गरेर देशको आर्थिक बचतमा टेवा पुग्ने अपेक्षा वडासचिव शिवहरि गजुरेलले गर्नुभएको छ । वडाले स्थानीयवासीको आवश्यकता र मागलाई ध्यानमा राख्दै कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ । नेपाल सरकारले एलपी ग्यासको आयात घटाउन र स्वदेशी विद्युत्को खपत बढाउन स्थानीय तहमार्फत तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रजस्ता निकायमार्फत अनुदानमा विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।






प्रतिक्रिया