+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग वाणिज्य सङ्घका सदस्यलाई जीवन र दुर्घटना बिमा

उद्योग वाणिज्य सङ्घका सदस्यलाई जीवन र दुर्घटना बिमा
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । जिल्लाका उद्योगी-व्यवसायीको छाता सङ्गठन नुवाकोट उद्योग वाणिज्य सङ्घले सदस्यलाई चालुआर्थिक वर्ष २०८३/०८४ देखि जीवन र दुर्घटना बिमाको सुविधा दिने भएको छ । गत हप्ता सङ्घको कार्यसमितिको बैठकले सङ्घमा दर्ता भई नवीकरण गराएका साधारण सदस्यलाई एक वर्षको बिमा सुविधा उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताएअनुसार सदस्यको सुरक्षालाई ध्यान दिएर जीवन र दुर्घटना बिमा गरिएको छ । सङ्घमा दर्ता भई नवीकरण नगरेका सदस्यका लागि तीन वर्षको नवीकरण गरी बाँकी वर्षको नवीकरण छुट दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । आगामी पुस ३ र ४ गते सङ्घको २०औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशन गर्ने बैठकले निर्णय गरेको छ । यसपटकको साधारणसभा र अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले उद्योगी व्यवसायी सदस्यता नवीकरण गरेर नेतृत्वमा पुग्न छलफल र बैठकमा व्यस्त हुन थालेका छन् ।

विसं २०४५ मा स्थापना भएको सङ्घ जिल्लाका उद्योगी-व्यवसायीको हकहित र उद्योग व्यवसाय प्रवद्र्धनमा सक्रिय रहेको छ । सङ्घको नेतृत्व हालसम्म आठजनाले गरिसक्नुभएको छ । सङ्घको पहिलो संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य, प्रथम अधिवेशनबाट निर्मल श्रेष्ठ, दोस्रो अधिवेशनबाट पनि निर्मल श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि विसं २०५३ मा भएको तेस्रो अधिवेशनबाट बलराम रिजाल, २०५६ मा भएको चौथो अधिवेशनबाट धननारायण चित्रकार र २०५९ मा भएको पाँचौँ अधिवेशनबाट पुनः धननारायण चित्रकार अध्यक्षमा निर्वाचित हुनुभएको कार्यकारिणी सचिव ईश्वर डङ्गोलले जानकारी दिनुभयो । त्यसैगरी, सङ्घको छैटौँ अधिवेशन विसं २०६२ र सातौँ अधिवेशन २०६५ बाट शरणउत्सुक सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी, विसं २०६९ मा भएको आठौँ अधिवेशनबाट हाल विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, २०७२ र २०७६ मा भएको नवौँ र दशौँ अधिवेशनबाट ताराबहादुर कार्की र २०८० वैशाख ८ गतेदेखि अध्यक्षमा निर्वाचित राजेन्द्र श्रेष्ठले नेतृत्व गरिरहनुभएको छ । सङ्घको पुसमा हुन लागेको अधिवेशनमा सङ्घका वर्तमान कार्यसमितिका पदाधिकारीले नेतृत्व लिने घोषणा गर्न थालेका छन् । सङ्घको विधानअनुसार विसं २०८२ चैतमै अधिवेशन गरिसक्नुपर्ने भए पनि विविध कारणले नौ महिना ढिला अधिवेशन हुन लागेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह