काहुले । नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह, वित्तीय प्रगति तथा सुशासनसम्बन्धी गतिविधिको समीक्षा गर्दै अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा नुवाकोट एफएमको सहजीकरणमा गत असार ३१ गते बुधबार पालिकास्तरीय वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइमा सेवा प्रवाहदेखि विकास निर्माणसम्म नागरिकका जिज्ञासाको जवाफ, पारदर्शिता र जवाफदेहितामा जोड दिएको थियो । प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले भन्नुभयो, ‘विकास निर्माणमा नागरिकको सहभागिता, सामाजिक निगरानी तथा सार्वजनिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै योजनाको प्रभावकारिता बढाउन नागरिकको निरन्तर सहयोग आवश्यक रहेको छ ।’ कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुख, वडाध्यक्ष, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, महिला, युवा तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममार्फत आर्थिक वर्षभरि सम्पन्न भएका काम, राजस्व सङ्कलन, बजेट कार्यान्वयन, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका कार्यक्रमबारे जानकारी दिइएको थियो । कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक शासन प्रणालीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नागरिकलाई सूचना दिने मात्र नभई उहाँहरूका सुझाव, गुनासा र अपेक्षालाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार नागरिकप्रति उत्तरदायी, पारदर्शी र जवाफदेही बन्न सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम भएको छ ।’
पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत इन्जिनियर मोतीमाया तामाङले आर्थिक वर्ष २०८२/०८३ को समग्र प्रशासनिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सडक, खानेपानी, सिँचाइ, पर्यटन, सामाजिक सुरक्षा, विपत् व्यवस्थापन तथा संस्थागत क्षमता विकासका क्षेत्रमा उल्लेखनीय कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभएको थियो । चालू तथा पुँजीगत बजेट कार्यान्वयन, आन्तरिक राजस्व, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, सामाजिक सुरक्षा वितरण तथा सेवा प्रवाह अवस्थाको विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले गाउँपालिकाको सेवा प्रवाहमा केही सुधार भएको अनुभव सुनाउँदै अझै पनि सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, खानेपानी व्यवस्थापन, स्वास्थ्य सेवाको पहुँच, विद्यालयको गुणस्तर सुधार, बेरोजगार युवाका लागि रोजगारी सिर्जना तथा विपत् जोखिम न्यूनीकरणका क्षेत्रमा थप प्रभावकारी काम गर्नुपर्ने सुझाव दिनुभएको थियो । केही सहभागीले विकास निर्माणका योजनाको गुणस्तर, समयमै सम्पन्न नहुने समस्या, उपभोक्ता समितिको क्षमता अभिवृद्धि तथा अनुगमनलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका थिए ।
सहभागी युवाले स्वरोजगार, सिपमूलक तालिम तथा उद्यमशीलता विकासका कार्यक्रमलाई विस्तार गर्न आग्रह गरेका थिए । महिला समूहका प्रतिनिधिले महिला उद्यम, आय-आर्जन, घरेलु हिंसा न्यूनीकरण, पोषण तथा स्वास्थ्य सेवामा गाउँपालिकाले थप लगानी गर्नुपर्ने धारणा राखेका थिए । किसानले कृषि उत्पादनको लागत घटाउने, मल-बिउको सहज उपलब्धता, बाँदरआतङ्क, सिँचाइ सुविधा तथा प्राविधिक सेवा गाउँ-गाउँसम्म विस्तार गर्न माग गरेका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै सम्बन्धित शाखा प्रमुखले स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, पूर्वाधार, सामाजिक सुरक्षा, योजना कार्यान्वयन तथा प्रशासनिक सेवासँग सम्बन्धित जिज्ञासाको उत्तर दिएका थिए । कतिपय समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाइएको थियो भने केही विषय आगामी नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिइएको थियो । सार्वजनिक सुनुवाइमा प्राप्त सुझाव र गुनासालाई लिखित रूपमा अभिलेखीकरण गरी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कमजोर देखिएका सूचकलाई ध्यानमा राखी काम गर्ने र नियमित अनुगमन गर्ने, गाउँपालिकाभित्र रहेको खानेपानी समस्यासम्बन्धी गुनासोको खानेपानी, सरसफाइ कार्यविधिअनुरूप प्राथामिकीकरणको आधारमा समाधान गर्दै लैजाने र आगामी नीति, योजना तथा बजेट निर्माणमा प्राथमिकताका साथ समेटिने प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाइका क्रममा गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटो, सरल तथा पारदर्शी बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै डिजिटल सेवा विस्तार, सूचना प्रवाह, सामाजिक सुरक्षा वितरणमा सुधार तथा प्रशासनिक प्रक्रियालाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको थियो । कार्यक्रममा वडा नं २ का अध्यक्ष बद्रीप्रसाद देवकोटा, ५ का अध्यक्ष प्रकाश तामाङ डिम्डुङ, वडासदस्य, स्थानीय समाजसेवी, बुद्धिजिवी, राष्ट्रिय स्वतन्त्र पार्टीका शिव भट्ट, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला, महिला समूह, पत्रकारलगायतको उपस्थिति थियो । गाउँपालिकाले सार्वजनिक सुनुवाइमार्फत आर्थिक वर्ष २०८२/०८३ मा भएका कामको समीक्षा गर्नुकासाथै आगामी दिनमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन, गुणस्तरीय सेवा प्रवाह र नागरिकमैत्री प्रशासनलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याएको छ ।






प्रतिक्रिया