धुन्चे । रसुवा प्राकृतिक वैभव र अद्वितीय सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । जिल्लामा प्रकृतिनिर्मित असङ्ख्य धार्मिक एवम् पुरातात्त्विक स्थल रहेको भए पनि खोजी र प्रचार-प्रसार हुन नसक्दा जिल्लावासीले लाभ लिन सकेका छैनन् । काठमाडौँबाट नजिकको दूरीमा रहेको रसुवामा लाङ्टाङ, गणेश हिमाल र गोसाइँकुण्डसहित एक सय आठ कुण्ड रहेका छन् । धार्मिक आस्था राख्नेदेखि प्रकृतिसँग साक्षात गर्न रुचि राख्नेका लागि थोरै खर्च र कम समयमा इच्छा पूरा गर्न सक्नेको रोजाइ पनि हो रसुवा । जिल्लाको उच्च भेगमा रहेको सान्जेन उपत्यका प्रचार-प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

सान्जेन उपत्यका रसुवाको हिमाली क्षेत्रस्थित प्राकृतिक रूपमा रमणीय भू-भाग हो । यो क्षेत्र सान्जेन खोला, हिमाली भू-दृश्य र सान्जेन हिमालआसपासका उच्च पहाडी भू-भागका कारण परिचित छ । रसुवाको आधिकारिक विवरणमा सान्जेन खर्कलाई उच्च हिमाली क्षेत्रका रूपमा उल्लेख गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा अवस्थित सान्जेन उपत्यकालाई स्थानीय भाषामा झाङ्देन उपत्यका भनिन्छ । पर्यटकका लागि प्रकृतिले भरिपूर्ण भएर पनि यो उपत्यका गुमनाम बनेको छ । पदयात्राका लागि उपयुक्त क्षेत्र रहेको सान्जेन जैविक विविधता र प्राकृतिक संचरनाका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । चीनको तिब्बतसँग सिमाना जोडिएको यो क्षेत्रको बारेमा कमैलाई मात्र जानकारी रहेको रसुवाका पत्रकार ज्ञानेन्द्र न्यौपानेले बताउनुभयो ।
यात्राको रोमाञ्चक अनुभव
सान्जेन उपत्यकाको यात्रा आफैँमा एक रोमाञ्चक र साहसिक अनुभूति हो । पुरानो चिनिएको गन्तव्य तातोपानी हुँदै सान्जेन जलविद्युत् आयोजना (हाइड्रोपावर) को बाँधस्थलसम्म सवारीसाधनमा पुग्न सकिन्छ । त्यहाँबाट सुरु हुने करिब पाँच घण्टाको पैदल यात्रा निकै अविष्मरणीय रहन्छ । यात्राको क्रममा देखिने पहाडी भूगोल, घना जङ्गल र तिब्बती संस्कृतिको प्रभाव झल्कने बस्तीले पर्यटकको थकानलाई क्षणभरमै मेटाइदिन्छन् ।
पर्यटकीय सम्भावना र ट्रेकिङ गन्तव्य
चारैतिर गगनचुम्बी सेता हिमाल र बिचमा रहेको सुन्दर उपत्यकाको दृश्य साँच्चै मनमोहक छ । यो क्षेत्र विशेषगरी ट्रेकिङ (पदयात्रा)का लागि निकै उपयुक्त र उत्कृष्ट गन्तव्य हो । मनसुनको समयमा यहाँको प्रकृति अझ बढी जीवन्त र हरियाली देखिन्छ । व्यावसायिक रूपमा होटेल तथा सुविधायुक्त होमस्टे अझै राम्रोसँग विकास भइनसकेकाले टेन्ट (क्याम्पिङ) मा बसेर यात्रा गर्नुको मजा छुट्टै हुन्छ । त्यहाँ पुग्ने पर्यटकले हिमाली जनजीवन, रहनसहन र रैथाने संस्कृतिलाई नजिकबाट नियाल्न र महसुस गर्न पाउँछन् ।
उपसंहार
रसुवामा धार्मिक र प्राकृतिक रूपमा स्थापित थुप्रै पर्यटकीय स्थल छन् । ती गन्तव्यका बिच ‘सान्जेन उपत्यका’लाई पनि नयाँ पर्यटकीय मार्गका रूपमा प्रचार-प्रसार गर्न सके यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठुलो टेवा पुग्ने पर्यटन व्यवसायी गगन न्यौपानेले बताउनुभयो । यस क्षेत्रको प्राकृतिक अनुपम उपहारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु प्रचार-प्रसार जरुरी रहेको छ । सान्जेन जलविद्युत् आयोजनाको ड्याम साइटबाट केही माथि पुगेपछि बाटो दुईतिर छुट्टिन्छ, एउटा ज्यू सान्जेन, अर्को मे सान्जेन छ र सान्जेन भ्यालीचाहिँ मे सान्जेनतिरबाट जानुपर्ने हुन्छ । सो क्षेत्र धेरै उचाइमा रहेको र यहाँ आधा दर्जन सुन्दर हिमताल रहेका छन् । प्रकृतिको काखमा रहेर पनि ओझेलमा परेको यो उपत्यका स्थानीय र पालिकाले सहयोग गर्ने हो भने पर्यटकको नयाँ गन्तव्य बनाउन सकिने पर्यटन व्यवसायी शिव लामिछानेले बताउनुभयो ।






प्रतिक्रिया