+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीबजार : नेपालकै नमुना सम्पदा

त्रिशूलीबजार : नेपालकै नमुना सम्पदा
रिना खनाल
११ घण्टा अगाडी

कलकल बगिरहेको त्रिशूली नदी, त्यसको किनारमा उभिएको राम मन्दिर र शताब्दीयौँदेखि नेवार-मुसलमान समुदायले सँगै रचेको व्यापारिक-सामाजिक इतिहास त्रिशूलीबजार वैभवको सम्पदा हो जसलाई कुनै अर्को योजनाको पुछारमा थन्क्याएर हेर्नु नै अन्याय हुन्छ । यसलाई छुट्टै पहिचान, छुट्टै संरक्षण योजना र छुट्टै विकास ढाँचा आवश्यक छ ।

Utsuk Books & Stationery

त्रिशूली नदीलाई केवल भूगोलको एउटा तथ्यका रूपमा हेर्नु गलत हो । नदी, नदीको किनाराको राम मन्दिर र नदी किनारैको ऐतिहासिक बजार । यी तीनै एक-अर्कासँग अभिन्न रूपमा गाँसिएका छन् । धार्मिक आस्था, प्राकृतिक सम्पदा र सामाजिक-आर्थिक इतिहास । यति धेरै तत्त्व एकै थलोमा पाइने दृष्टान्त नुवाकोटमा अन्त कतै छैन । तर, विडम्बना यो त्रिवेणी सङ्गमजस्तो सम्पदा आजसम्म कुनै संरक्षण योजनाको प्राथमिकतामा परेको छैन । जब भव्य दरबार र ठुला संरचनाको कुरा आउँछ, त्यहाँ ठुलो बजेट र योजना बन्छ । तर, साँघु बजारजस्तो जीवन्त बगिरहेको सम्पदा किन उपेक्षामा पर्छ ? सम्पदा भनेको केवल ठुला र फोटोजेनिक संरचना मात्र हो ? कि सम्पदा भनेको त्यो पनि हो, जहाँ आज पनि मानिस बस्छन्, व्यापार गर्छन् र आफ्नो पुख्र्याैली संस्कार बचाइराखेका छन् ?

नेवार र मुसलमान : दुई संस्कार एउटा साझा भविष्य खोज्दै : यो बजारको प्राण नै नेवारी समुदायको परम्परागत जात्रा, पूजा, आराधना, गुठी प्रथा र त्यसैसँगै वर्षौँदेखि सँगसँगै बसेको मुस्लिम समुदायको मस्जिदकेन्द्रित रहनसहन, भाषिक आत्मसातीकरण (नेवारी र तामाङ भाषा बोल्ने) र व्यापारिक परम्परा (चुरा-पोतेदेखि आजको कस्मेटिक कपडासम्म) तर यी दुवै संस्कार आज नयाँ पुस्तामा बिस्तारै हराउँदै छन् र यसको जिम्मेवारी लिने कोही देखिँदैन ।

सुगतपुर विहार : बौद्ध परियति शिक्षा आरम्भथलो : त्रिशूलीबजारको कथा नदी, मन्दिर र बजारमै सीमित छैन । ढुङ्गे र त्रिशूलीबिचको चट्टानी भू-भागमा अवस्थित विसं २००७ मा स्थापित सुगतपुर विहार पनि यही सम्पदा शृङ्खलाको अभिन्न अङ्ग हो जुन नुवाकोटका प्रमुख धार्मिक-ऐतिहासिक थलोको सूचीमा समेटिएको छ । विदुर-१ का वडाध्यक्ष लेनिन रञ्जितका भनाइमा नेपालमै पहिलोपटक परियति शिक्षा (बौद्ध पाली परम्पराअनुसारको धर्मशास्त्रीय अध्ययन) यही विहारबाट सञ्चालन गरिएको थियो । यसकारण यो विहार नुवाकोटको मात्र नभई नेपालकै बौद्ध धार्मिक-शैक्षिक इतिहासको एउटा महत्त्वपूर्ण, तर हालसम्म ओझेलमा परेको अध्याय मान्न सकिन्छ । प्रश्न फेरि उही हो । दरबार र ठुला संरचनाको संरक्षणमा बजेट र चर्चा दुवै जति केन्द्रित छ, त्यति नै ध्यान त्रिशूली-ढुङ्गे क्षेत्रका यस्ता थलोमा किन पुग्दैन ? सम्पदा भनेको केवल फोटोजेनिक र भव्य संरचना मात्र हो भन्ने बुझाइले नै सुगतपुर विहारजस्ता थलोलाई वर्षौँदेखि उपेक्षामा राखेको हो ।

हेरिटेज वाक : त्रिशूलीबजारलाई जीवन्त सम्पदाको रूपमा चिनाउने सबैभन्दा प्रभावकारी उपाय हो – हेरिटेज वाक । एउटा छोटो हिँडेर पुग्न सकिने हेरिटेज वाक निर्माण गर्नु । यात्रा त्रिशूली नदी किनाराबाट सुरु होस् । त्यसपछि राम मन्दिर हुँदै पुरानोबजार पुगोस् जहाँ नेवार समुदायको परम्परागत घर वास्तुकला प्रत्यक्ष देख्न पाइयोस् । त्यसपछि मस्जिद क्षेत्रतिर मोडिएर मुस्लिम समुदायको बसोबास र चुरा, पोते, कस्मेटिक व्यवसायका पुराना पसल देखाइयोस् । अन्तिममा पडाब (बिसौनी) मा कुनै व्यापारी परिवारको घर वा पसलमा पुगेर यात्रीले स्थानीय बासिन्दासँग प्रत्यक्ष कुराकानी गरी इतिहास सुन्न पाऊन् । यही हेरिटेज वाकलाई अझ अर्थपूर्ण बनाउन ढुङ्गे र त्रिशूली चट्टानी भू-भागमा रहेको सुगतपुर विहारसम्म पनि पु¥याउनुपर्छ । जहाँ यात्रीले नेपालको परियति शिक्षा परम्पराको सुरुवातसँग जोडिएको यो थलोको इतिहास प्रत्यक्ष सुन्न पाऊन् । यसो भयो भने हेरिटेज वाक केवल नदी-मन्दिर-बजारमै सीमित नरही धर्म, शिक्षा र समुदायको साझा इतिहाससम्म फैलिनेछ । यस्तो मार्गमा नेपाली-अङ्ग्रेजी दुवै भाषामा सूचनापाटी राख्नुपर्छ र सकेसम्म नेवारी तथा मुस्लिम समुदाय दुवै समुदायमा सदस्यबाटै आफ्नो कथा वाचन गराउने व्यवस्था मिलाउनुपर्छ । यसो भयो भने यो हेरिटेज वाक केवल देखाउने काम नभई साँच्चैकै समुदायलाई जोड्ने र नयाँ पुस्तालाई आफ्नो इतिहाससँग परिचित गराउने माध्यम बन्नेछ ।

दरबार ढुङ्गाको सम्पदा हो । स्थिर र स्थायी । तर, त्रिशूलीबजार जीवन्त सम्पदा हो । जहाँ नदी बग्छ । मानिस बस्छन् र संस्कार जीवित रहन्छन् । यस्तो सम्पदालाई उपेक्षा गर्नु भनेको नुवाकोटको आधा पहिचान गुमाउनु हो । नदीदेखि बजार हुँदै सुगतपुर विहारसम्मको सम्पदा एउटा मात्र थलोमा होइन । यसको सम्पूर्ण भूगोलमा छरिएको छ र यो सम्पूर्णता नै हो । जुन एक मोडेलले कहिल्यै समेट्न सक्दैन । एउटा सामान्य हेरिटेज वाकबाट सुरु गरेर पनि यो बिर्सिएको इतिहासलाई ब्यँुताउन सकिन्छ । ढिलो भइसकेको छैन । बरु अब ढिलो गर्नुहँुदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

रिना खनाल