+
Search

ताजा अपडेट +

पपुलर +

लोकतान्त्रिक मूल्यअनुकूलको प्रविधि आवश्यक

लोकतान्त्रिक मूल्यअनुकूलको प्रविधि आवश्यक
त्रिशूली प्रवाह
९ घण्टा अगाडी

सामाजिक सञ्जाल सूचना आदान-प्रदानको माध्यममा मात्रै सीमित छैन, धेरै अवस्थामा साम्प्रदायिक, धार्मिक र राजनीतिक दङ्गाको सञ्चालन गर्ने प्रभावशाली डिजिटल औजारका रूपमा प्रयोग भइरहेको छ । एउटै प्लाटफर्मबाट अफवाह फैलाइन्छ, घृणायुक्त भाष्य निर्माण गरिन्छ, भिड परिचालन गरिन्छ, घटनालाई प्रत्यक्ष प्रसारण गरिन्छ र त्यसलाई उचित ठहर गर्ने नयाँ भाष्यसमेत सिर्जना गरिन्छ । यसरी सामाजिक सञ्जाल दङ्गाको कारण मात्रै होइन, त्यसको योजना, विस्तार र वैधीकरणसम्मको सम्पूर्ण चक्रमा प्रयोग हुने प्रभावशाली माध्यम बनेको छ ।

Utsuk Books & Stationery

सूचना प्रविधिको तीव्र विकाससँगै अहिले अनेकौँ मोबाइल एप्स विकास गरी मानिसलाई सूचना, शिक्षा, मनोरञ्जन, आर्थिक अवसर उपलब्ध भएका छन् । मोबाइलमा दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ । विश्वको जुनसुकै कुनादेखि विषयगत जानकारी तत्काल लिन-दिन सकिने मोबाइल एप्सले मानव जीवन स्वस्थ, सहज, सुसभ्य बनाउन सक्छन् । सूचना प्रविधिको यो विकास आधुनिक समयको हाइड्रोजन आविष्कारजस्तै भएको छ । सदुपयोग भए यसले मानव समुदायमा चामत्कारिक परिवर्तन ल्याउन सक्छ, दुरुपयोग हुँदा विध्वंस पार्छ । त्यस्तो खतराप्रति सूचना प्रविधिका प्रयोगकर्तादेखि नियामक निकाय बेलैमा सजग हुनु अत्यावश्यक छ ।

विश्वका विभिन्न देशमा पछिल्ला वर्षमा भएका आर्थिक तथा राजनीतिक हिंसाका घटनाले यही यथार्थलाई झन् स्पष्ट पारेका छन् । भारत, श्रीलङ्का, म्यानमार, इथियोपिया, नाइजेरिया र बेलायतका घटनाक्रम फरक सामाजिक र राजनीतिक सन्दर्भमा भएका भए पनि त्यहाँ एउटा समान ढाँचा देखिन्छ । अधिकांश घटनामा हिंसा सुरु हुनुअघि नै सामाजिक सञ्जालमा कुनै समुदायलाई लक्षित गरी अपुष्ट सूचना, सम्पादित भिडियो, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री तीव्र गतिमा फैलिएको पाइन्छ ।

सूचना र अभिव्यक्ति स्वतन्त्रताको हक नागरिकको मौलिक अधिकारका रूपमा नेपालको संविधान, विसं २०७२ मा स्थापित छ । नेपालले सुसूचित नागरिक नै सबल हुन्छन् भन्ने आत्मसात् गरेको प्रस्ट छ । यही मान्यताले गर्दा आफ्नै उत्पादन स्रोतमा नेपालले अत्याधुनिक सूचना प्रविधिको प्रयोगलाई निर्वाध सहज बनाएको छ । त्यसैले एउटै मोबाइलमार्फत सूचना, सञ्चार, शिक्षा, मनोरञ्जन, अर्थोपार्जनका गतिविधिमा रमाउने नेपाली प्रयोगकर्ताको सङ्ख्या तीव्रगतिमा वृद्धि भएको छ । इन्टरनेटमार्फत मोबाइलमा डाउनलोड गर्न सकिने अनेकौँ विषयगत साइट, एप्समा मानिस दैनिक औसत चार-पाँच घण्टा बिताउन थालेका छन् । दैनिक चार-पाँच घण्टा थोरै मनोरञ्जन, धेरै जीवनोपयोगी सूचना र ज्ञानका लागि भए त राम्रो हुन्थ्यो, तर हरेक घरका प्रयोगकर्तालाई हेर्दा त्यस्तो भएको पाइँदैन । विश्वभरकै तथ्यले पनि भन्छ – सूचना र विषयगत खोजी साइट ‘गुगल’ भन्दा मनोरञ्जनमूलक सामाजिक सञ्जाल ‘टिकटक’ तीव्र लोकप्रियता बनिरहेको छ । सामाजिक सञ्जालको यो भिडियो ‘प्लाटफर्म’ सरल र बहुउपयोगी छ, यसमार्फत प्रयोगकर्ताले सम्बन्ध जोडेका छन्, सूचना आदान-प्रदान गरेका छन्, लुप्त विषय सार्वजनिक गर्दै यसैमार्फत अर्थोपार्जनसमेत गरिरहेका छन् । नागरिक नै सूचना सञ्चारका संवाहक र लाभकारी बनेका छन् । तर, यही नै अन्तिम सत्य होइन । यसको भिडियो सुविधाको सदुपयोगभन्दा आजभोलि दुरुपयोग बढिरहेको छ ।

अघिल्लो हप्ता सुनसरीबाट सुरु भएर तराईको आसपास क्षेत्रमा दुई समुदायबिच भएको साधारण घटनाले हिंसात्मक रूप लिनुमा सामाजिक सञ्जालले मलजल गरेको तर्क-वितर्क भइरहेको छ । सो घटनाको जरा कतै अफवाह, गलत सूचना, सामाजिक सञ्जालको दुरुपयोग वा बाह्य प्रभावमा पनि हुन सक्छ । कुनै सानो विवादलाई ठुलो आगो बनाइदिने तत्त्व सधैँ सक्रिय रहन्छन् । राजनीतिक स्वार्थ, व्यक्तिगत रिसइबी वा गलत बुझाइले सामान्य कुराकानीलाई हिंसामा परिणत गरिदिन्छ । सामाजिक सद्भाव खलबल्याउने हतियार सामाजिक सञ्जाल बनाइन्छ । कुनै समय चोकका चियापसल, चौतारी र सार्वजनिक भेलामा सीमित भलाकुसारी, होहल्ला र उत्तेजना आज सामाजिक सञ्जालका डिजिटल पर्दामा सरेका छन् । अब साम्प्रदायिक वा राजनीतिक तनाव सडकमा होइन, मोबाइलको स्क्रिनमा जन्मिन थालेको छ ।

साइबर अपराधका उजुरीमध्ये अधिकांश टिकटकसम्बन्धी रहेका छन् । समाजलाई जोड्नुपर्ने सामाजिक सञ्जाल नै समाज खलबल्याउने हतियार बन्दै गएपछि नियमन निकायका लागि टाउको दुःखाइको विषय बनेको छ । सामाजिक सञ्जाल आफैँमा एउटा माध्यम मात्रै हुन्, ती आफैँमा खराब हुन् भन्न सकिँदैन । तिनलाई खराब र राम्रा बनाउने उत्पादक, प्रयोगकर्ता र नियामकले हो । नेपालको संविधानप्रदत्त सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको हक सीमाहीन हुनुहुँदैन । सञ्चारमाध्यमले के-कस्ता विषय प्रसारण गर्न हुन्छ, हुँदैन भनी संविधान, कानुनले तोकेका विषयमा प्रयोगकर्ताले हेक्का राख्नैपर्छ । सामाजिक सञ्जाल पनि सूचना सञ्चारको एउटा स्वरूप अवश्य हो, तर मूलतः सामाजिक सञ्जाल नै भएकाले यसको प्रयोग समाज जोड्न हुनुपर्छ, भत्काउन र भड्काउन हुनुहुँदैन ।

लोकतन्त्रको भविष्य निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले त्यसलाई निर्धारण गर्छ । जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढावा दिन्छ, तब सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन्छ । त्यसैले आजको सबैभन्दा ठुलो चुनौती प्रविधिसँग लड्नु होइन – प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्यअनुकूल बनाउनु हो । आन्दोलनको पहिलो ढुङ्गा सडकमा फालिनुअघि धेरैपटक त्यसको झिल्को मोबाइलको स्क्रिनमै पैmलिसकेको हुन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह