+
Search

ताजा अपडेट +

पपुलर +

महेश्वरको प्रिय साउनको गन्तव्य दुप्चेश्वर

एक सय आठ धारा सञ्चालित

महेश्वरको प्रिय साउनको गन्तव्य दुप्चेश्वर
त्रिशूली प्रवाह
१० घण्टा अगाडी

समुन्द्रटार । सूर्यमासअन्तर्गतको विक्रम संवत्को चौथो महिनाको नाम साउन हो । पूर्णिमाका दिनमा भोग गर्ने श्रवण नक्षत्रका नामबाट यस महिनाको नाम राखिएको हो । बागमती प्रदेशको दोस्रो पशुपतिनाथका रूपमा पुजिँदै आएको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर महादेव मन्दिर हिन्दु धर्ममा आस्था राख्नेको साउन महिनाको गन्तव्य बनेको छ । मन्दिरपरिसरमा निर्माण भएको एक सय आठ धारा साउनदेखि सञ्चालनमा आएको छ । दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले ‘त्रिशूली प्रवाह साप्ताहिक’लाई बताउनुभएअनुसार गत वर्षदेखि धारा निर्माण सुरु गरी गत असारमा सम्पन्न भएको धारा सञ्चालन आएसँगै मन्दिरमा आउने भक्तजनलाई स्नान गर्न सहज भएको छ ।

Utsuk Books & Stationery

मन्दिरमा श्रद्धालु भक्तजनको उपस्थिति दिनानुदिन बाक्लो हुँदै जानुले मन्दिरको सुरक्षा र सरसफाइमा चुनौती थपिँदै गएकोले मन्दिरको पूजा-आराधनाको समय निर्धारणको तयारी भइरहेको छ । साउन महिना धेरै भक्तजन आउने भएकाले कोष व्यवस्थापनमा सक्रिय रहेको छ । साउन शिवको महिना भएकाले ऐतिहासिक तथा धार्मिक गन्तव्य ‘दुग्धेश्वर’ महादेव मन्दिरमा एक महिना पूजा-अर्चना र दर्शनका लागि भक्तजनको शनिबार र सोमबार भिड लागिरहेकोे छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र धार्मिक नेटवर्कमार्फत दुप्चेश्वरको धार्मिक-पर्यटकीय सम्भावना बिस्तारै उच्चस्तरमा फैलिरहेको छ । विशेषगरी युवा, पर्यटक, आध्यात्मिक साधक तथा पहाडी क्षेत्र अध्ययन गर्नेका लागि दुप्चेश्वर भ्रमणयोग्य सांस्कृतिक-प्राकृतिक संयोजनस्थल बनिरहेको रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । नुवाकोट जिल्लाको उत्तर भागमा अवस्थित दुप्चेश्वर अहिले धार्मिक श्रद्धा र पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । समुद्र मन्थनपछि शीतलता पाउन हिँडेका शिव यही क्षेत्र भएर नीलाद्री पर्वत (गोसाईँकुण्ड) पुगेको धार्मिक विश्वास छ ।

मन्दिरमा साउन महिना, प्रत्येक सोमबार, शिवरात्रि, तिज, माघेसङ्क्रान्तिजस्ता अवसरमा भक्तजनको भिड लाग्ने गरेको छ । हालका वर्षमा स्थानीय तह र धार्मिक समितिका संयुक्त प्रयासमा मन्दिर क्षेत्रलाई सुविधासम्पन्न बनाइएको छ । मन्दिरपरिसरमा बाटो, झिलिमिली बत्ती, सिसिटिभीबाट निगरानी, शुद्ध पिउने पानी, शौचालय, पार्किङ क्षेत्र, विश्राम गृह, स्नानको व्यवस्थाका लागि एक सय आठ धारा सञ्चालनलगायत विभिन्न सुविधा छ । दुप्चेश्वर मन्दिरपरिसरबाट देखिने पहाड, हिमाल, तादी नदीको रमणीय दृश्य, वरिपरि हरियाली वनजङ्गल र शान्त वातावरणले भक्तजनलाई आध्यात्मिक शान्ति प्रदान गर्छ । कोषले मन्दिर क्षेत्र सफा र आकर्षक राख्ने काम गरिरहेको छ । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य झल्काउने दुप्चेश्वर अब केवल पूजा गर्ने स्थान मात्र नभई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा समेत विकसित हुँदै गइरहेको छ । सहज सडकमार्गको सुविधा रहेकाले दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाडौँलगायत देशभरबाट धार्मिक पर्यटक तथा विदेशी पर्यटकसमेत आउने गरेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष एवम् कोषका अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयो ।

साउनको महत्त्व
श्रवण नक्षत्रको भोगका नामबाट नामाङ्कित साउन महिना सूर्यनारायण मकररेखाबाट कर्कटरेखामा प्रवेश गर्ने भएकाले यस सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भनिएको हो । वर्षका १२ महिनामध्ये यस महिनालाई शिवजीको प्रिय महिना मानिन्छ । उमा (पार्वती) लाई बिहे गरी शिवलोक जानुभएका शिवजी लामो समयसम्म ससुराली फर्कनुभएन । पार्वती पनि माइत फर्कन पाउनुभएको थिएन । छोरी-ज्वाइँलाई हिमालय पर्वतले धेरैपटक निम्तो पठाउनुभएको थियो, तैपनि उहाँहरू जान पाउनुभएको थिएन । शिवजी पार्वतीलाई समेत थाहा नदिई कहिले राजहंस भएर मानसरोवरमा जलक्रीडा गर्ने, कहिले मृग बनेर वनविहार गर्ने, कहिले किराँत रूप लिएर घुम्न थाल्नुभयो । यसबाट पार्वती दिक्क हुनुहुन्थ्यो भने लामो समयसम्म माइत फर्कन नपाएकाले माइतीलाई न्यास्रो पनि लागेको थियो । महादेवलाई धेरैतिर खोज्नुभयो, तर कहीँ पनि पाउन नसकेकाले दिक्क भएर मृगस्थलीमा बसेर शिवलिङ्ग बनाएर त्यहीँ एउटा कुण्ड बनाई त्यस कुण्डको जल चढाएर शिवजीको आराधना गरेर बस्नुभयो ।

आफ्नी छोरीको यस्तो अवस्था देखेर पर्वतराज हिमालय छोरी उमा भएको ठाउँ आउनुभयो र छोरीसँगै शिवजीको आराधना गरी बस्नुभयो । यो कुरा शिवजीले थाहा पाएर त्यही शिवलिंगबाट आफ्नो ज्योतिस्वरूपको दर्शन दिनुभयो । हिमालय र उमाले प्रसन्न भएर शिवजीको स्तुति गर्नुभयो । उमा र पर्वतराज हिमालयको स्तुतिले प्रसन्न हुनुभएका शिवजीले हिमालयलाई ‘कुन कारणले मेरो आराधना गर्नुभयो ? के इच्छा छ, वर माग्नुहोस्’ भन्दा पर्वतराज हिमालयले हात जोरेर बिन्ती गनुभयो, ‘हे शम्भो ! विवाहपछि हजुर मेरो घरमा सवारी नहुनुभएको धेरै काल भयो । अबदेखि हरेक वर्ष शिव-पार्वती दुवैजना एक महिनासम्म मेरो घरमा बसिदिनुप¥यो’ भन्दा शिवजीले भन्नुभयो, ‘हुन त हुन्छ, तर म सधैँ एकै स्थानमा बसिरहन सक्दिनँ । हरेक वर्षको साउन महिनामा म पार्वतीसहित मत्यमण्डलको हिमवत्खण्डमा बिताउनेछु ।’

त्यहाँ म हप्तामा ६ दिन अन्य स्थानमा विचरण गरे तापनि हरेक सोमबार भने म भक्तहरूका लागि पार्वतीसहित शिवलिंगहरूमा बस्नेछु भनी पर्वतराज हिमालय र पार्वती (उमा) लाई वचन दिनुभएको कुरा स्कन्दपुराणको हिमवत्खण्डमा स्कन्दकुमारले अगस्त्यमुनिलाई बताउनुभएको छ । यसरी उमा र पर्वतराज हिमालयले स्थापना गरेको शिवलिङ्गको नाम पर्वतेश्वर र उमाले बनाएको कुण्डको नाम उमाकुण्ड रहन गयो । पर्वतेश्वर ज्योतिर्लिंग भगवान् शिवका ६४ ज्योतिर्लिंगमध्ये ५८औँ ज्योतिर्लिंगका रूपमा स्थापित छ । यसप्रकार हरेक वर्ष साउन महिनामा शिव-पार्वती पृथ्वीको यसै हिमवत्खण्डमा आउनुहुने र हप्ताका अन्य बार विभिन्न स्थानमा घुमे पनि सोमबारचाहिँ पार्वतीसहित शिवजी स्थापित शिवलिङ्गहरूमा रहनुहुने भएकाले हिन्दु नरनारीहरू साउन महिनाका सोमबार शिव मन्दिरहरूमा गई शिव-पार्वतीको पूजा-अर्चना गर्छन् ।

शिवलोकबाट शिव-पार्वती पृथ्वीमा झर्दा पृथ्वीमा जताततै हरियाली देखेर माइतीलोकमा उमङ्गले रमाउँदै पार्वतीले प्रकृतिसापेक्ष हरिया, पहेँला र राता चुरा, पोते र शृङ्गारमा सजिएर आफ्ना बालसखीहरूसँग रमाउन थाल्नुभयो । पार्वतीले गरेको शृङ्गार देखेर उनका सखीहरूले पनि त्यसैगरी हरिया, पहेँला र राता पहिरन एवम् शृङ्गारले युक्त भई रमाउन थालेकाले त्यस वेलादेखि पृथ्वीमा नारीहरूले साउनका सोमबार यस्तै शृङ्गार गरी रमाउन थाले । साउने सङ्क्रान्ति अयन परिवर्तन, ऋतु परिवर्तन, मास परिवर्तन एवम् राशि परिवर्तनसमेत हुने सङ्क्रान्ति भएकाले यस दिन बिहान सबेरै स्नान गरी नित्यकर्मपश्चात् ब्राह्मण पुरोहितका मुखबाट कर्कट साउन महिमा सुन्ने र ब्राह्मणलाई सिदादान दिने वा भोजन गराउने चलन छ । साउन महिनाका सोमबार व्रत बस्ने चलन छ । नक्षत्रमण्डलका स्वामी चन्द्रमा भएका र शिवजीले चन्द्रमालाई शिरमा धारण गर्नुभएकाले सोमबार शिवजीको प्रिय बार बन्न गयो । शिवजीको एक नाम सोम पनि हो ।

सनातनीहरूले साउन महिनाको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्मका सबै सोमबारहरूमा बिहान सबेरै स्नान गरी घरको नित्य पूजादि गरेर शिवजीको पूजा गर्छन् । दिनभर व्रत बसेर शिव मन्दिरहरूमा गएर विधिपूर्वक गंगाजल, गाईको दुध, बेलपत्र, सुपारी, फूल, धतुरो आदि चढाएर गौरीसहित भगवान् शिवको पूजा-अर्चना गरी घर आई शिवपुराण भन्ने वा सुन्ने र बेलुका शिव आरती गरी निराहार वा फलाहार गरेर सोमवारे व्रतकथा भन्ने वा सुन्ने र सके शिवभजन, कीर्तन गाएर जाग्राम बस्ने गर्नुपर्छ । सोह्र सोमबारे व्रत बस्ने इच्छा गर्नेहरूले साउनको पहिलो सोमबारबाट सुरु गरेर १६ वटा सोमबारपछि समापन साङ्गे गर्नुपर्छ । अझ प्रदोषको दिन पहिलो सोमबार परेमा झन् राम्रो मानिन्छ ।

सोमबारे व्रतका सम्बन्धमा श्रावणमास भन्नाले सूर्य मिथुन रेखाबाट कर्कट रेखामा प्रवेश गरेपछि मकरमास सुरु हुने भएकाले सङ्क्रान्तिपछिका सोमबारहरूमा व्रत बस्नुपर्छ । सोमबारे व्रतको महिमा-स्कन्दपुराणको ब्रह्मोत्तर खण्डका अनुसार अघि पौराणिककालमा चित्रवर्माकी पुत्री सिमन्तिनीले पूर्वजन्मको कर्मले यस जन्ममा विवाहपश्चात् १४ वर्षकै उमेरमा उनका पतिको मृत्यु भई कलिलै उमेरमा विधवा हुनुपर्ने कुरा ऋषि मैत्रेयपुत्री (याज्ञवल्क्यकी पत्नी)का मुखबाट सुनेपछि उनकै सल्लाहअनुसार साउनका सोमबार व्रत बसेर शिव-पार्वतीको आराधना गरिन् । उनको आराधनाबाट खुसी भएर माता पार्वतीले उनलाई अटल सौभाग्यको वरदान दिनुभएकाले उनी कहिल्यै विधवा हुनुपरेन भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

किंवदन्ती
पौराणिक कथनअनुसार करिब पाँच सय वर्षअघि स्थानीयवासी एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरामा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वास रह्यो । यिनलाई ‘मागेको पुग्ने, आँटेको पूरा हुने देवता’का रूपमा विश्वास गरिन्छ । किंवदन्तीअनुसार समुद्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छटपटिएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसार्इँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वरलाई सानो पशुपतिनाथका रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्छ । जोडी जुराउन र सन्तान माग्नकै लागि पनि यहाँ हजारौँ भक्तजन आउने गर्छन् । सन्तान नभए सन्तान दिने (विशेष-छोरा), चौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुटेमा बोली फुट्ने, आफूले चिताएको माग्दा पाइनेलगायत जनविश्वासमा भक्तजन आउने गरेका छन् । हिन्दु र बौद्ध धर्मावलम्बीले दुग्धेश्वरलाई मान्ने गर्छन् ।

आन्तरिक पर्यटनको सम्भावना
धार्मिक पर्यटनको गन्तव्यका लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिक स्थलको सरकारी र गैरसरकारीस्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् बाह्य पर्यटक सजिलै भित्र्याउन सकिन्छ । सरकारी तथा निजी क्षेत्रबाट प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिइएमा दुप्चेश्वर नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्नेछ । पशुपतिनाथको दर्शन गर्न आउने भारतीय धार्मिक तीर्थयात्रीलाई दुप्चेश्वर ल्याउन सरोकार निकायले पहल गर्नु जरुरी छ । केही वर्षदेखि दुप्चेश्वर घ्याङफेदीहुँदै गोसाईँकुण्ड जाने सहज पदमार्ग बनेकाले भविष्यमा शिव परिपथ अर्थात् पशुपति-दुप्चेश्वर-गोसाइँकुण्ड धार्मिक मार्ग बनाउन सकिने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) का पूर्वाध्यक्ष दीपक महतले बताउनुभयो । पञ्चधाम सेवा समितिले पनि पशुपतिनाथ, बौडेश्वर, दुप्चेश्वर, उत्तरागया बेत्रावती र गोसाईँकुण्डलाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धन गर्दै छ ।

मन्दिर कसरी पुग्ने 
काठमाडौँबाट जाने यात्रु काठमाडौँको टोखा-छहरे सडकखण्ड हुँदै चौघडा-खरानीटार-समुन्द्रटार भई दुप्चेश्वर मन्दिर करिब ६५ किलोमिटर यात्रा गर्दा करिब तीन घण्टामा पुग्न सक्छन् । दैनिक काठमाडौँका बालाजुचोक, गोंगबु, सामाखुसीबाट सवारीसाधन सञ्चालन भइरहेको छ भने धादिङ-गल्छी हुँदै यात्रा गर्दा नुवाकोटका कोल्पुटार, रातमाटे, देवीघाटबाट गँगटे-ढिकुरे-माछापोखरी-खरानीटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिब ९५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ । यी दुवै सडक पक्की कालोपत्र गरिएको सडक हो । यात्रा गर्न यी मार्ग सहज र सुलभ छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह