+
Search

ताजा अपडेट +

पपुलर +

एक वर्षमा उद्योग-वाणिज्य दर्ता ३२६

कूल रू.७७ करोड लगानी

एक वर्षमा उद्योग-वाणिज्य दर्ता ३२६
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । बागमती सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि १४ वटा मन्त्रालयको सङ्ख्या घटाई आठवटामा सीमित गरेपछि उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको नाम र जिम्मेवारी फेरिएको छ । चालू आवको सुरूदेखि नै नाम परिवर्तन भई उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोट भएको छ । सो कार्यालयले नुवाकोट जिल्लामा गत आव.२०८२/०८३ मा उद्योग तथा वाणिज्य दर्ता तीन सय २६ गरेको छ भने कुल पुँजी लगानी रू.७६ करोड ७३ लाख रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

Utsuk Books & Stationery

गत वर्ष उद्योग तथा वाणिज्यको व्यवसाय दर्ता हुँदा रू.२५ लाख ४८ हजार दुई सय राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी मेखमाया घलेले जानकारी दिनुभयो । गत आवमा एक सय ९१ उद्योग र एक सय ३५ वाणिज्य फर्म दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गत वर्ष वाणिज्य फर्म दर्ताबाट रू.नौ लाख २१ हजार पाँच सय र उद्योग दर्ताबाट रू.१६ लाख २६ हजार सात सय राजस्व उठेको थियो । त्यसैगरी, गत वर्ष वाणिज्यतर्फका व्यवसायमा रू.२६ करोड ७२ लाख र उद्योगमा रू.५० करोड एक लाख लगानी भएको छ । सो वर्ष ती उद्योगमा तीन सय ४७ महिला र चार सय ४० पुरूषसहित कुल सात सय ८७ ले रोजगारी पाएका छन् ।

हाल जिल्लामा नौ हजार चार सय ६ घरेलु तथा साना उद्योग र ६ हजार ६ सय ७४ वाणिज्यसँग सम्बन्धित व्यवसाय सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा दर्ता भएका ७० उद्योग तथा ९५ वटा वाणिज्यसँग सम्बन्धित कार्यालय बन्द भएका छन् । व्यवसाय नचलेर, वृद्धावस्थामा पुगेर, वैदेशिक रोजगारीमा जानुपर्नेजस्ता कारणले उद्योग तथा वाणिज्यमा लगानीकर्ताले बन्द गराएको जानकारी व्यवसायीसँग कुराकानी गर्दा पाएको कार्यालय प्रमुख सीताराम घिमिरेले बताउनुभयो । अघिल्लो आव.२०८१/०८२ मा उद्योग दर्ता नौ हजार दुई सय ८५ र वाणिज्य फर्म दर्ताको सङ्ख्या ६ हजार ६ सय ३४ रहेको थियो । जिल्लामा साना उद्योग मात्र दर्ता रहेको छ । साना उद्योगमध्ये निजी एक सय ८६, साझेदारी एक र प्रा.लि. चार दर्ता छन् । दर्ता भएका उद्योगमा उत्पादनमूलक ११, कृषि तथा वनजन्य ९१, पर्यटन ३४ र सेवामूलक ५० छन् । उद्योगमा कुल पुँजी लगानीमध्ये रू.३३ करोड ९३ लाख २० हजार स्थिर पुँजी र रू.१६ करोड ४७ लाख ८० हजार चालू पुँजी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष कार्यालयले आठ सय २९ उद्योग नवीकरण, १७ नामसारी, आठ ठाउँसारी, २३ उद्देश्य थप, ७० लगतकट्टा, १० सुविधा सिफारिस, ५० प्रतिलिपि र एक सय सातको पुँजी वृद्धि गरेको थियो । त्यसैगरी, वाणिज्य फर्मतर्पm सात सय ६९ नवीकरण, दुई नामसारी, आठ ठाउँसारी, २९ उद्देश्य थप, ९५ लगतकट्टा, ६ नाम परिवर्तन, ३३ प्रतिलिपि लिएको र एक सय ४० पुँजी वृद्धिको सङ्ख्या रहेको छ । कार्यालयका अनुसार वाणिज्य क्षेत्रको तुलनामा उद्योग क्षेत्रमा लगानी बढी देखिएको छ । जिल्लामा उद्योगीको सङ्ख्या थप वृद्धि हुने अपेक्षा कार्यालयले गरेको छ । कार्यालयका अनुसार उद्योग क्षेत्रमा भएको लगानी, रोजगारी सिर्जना तथा राजस्व वृद्धिले जिल्लाको आर्थिक गतिविधि विस्तारमा सकारात्मक सङ्केत देखिएको छ । उत्पादन, व्यापार र सेवा क्षेत्रको विस्तारसँगै स्थानीय स्रोत-साधनको उपयोग बढ्नुका साथै निजी क्षेत्रको सहभागिता पनि क्रमशः सुदृढ बन्दै गएको कार्यालयको भनाइ छ ।

समयमा नवीकरण नगर्ने उद्योग तथा वाणिज्यतर्फका कार्यालयलाई जरिवाना गरिने कार्यालय प्रमुखले बताउनुभयो । अनुगमनका क्रममा त्यस्तो भेटिएमा उहाँहरूलाई कारबाही गरिनेछ । सरकारी सहुलियत कार्यक्रम, उद्यम विकास तालिम तथा वित्तीय संस्थाबाट हुने लगानी प्रवाहले पनि उद्योग-व्यवसाय विस्तारमा सहयोग पुगेको कार्यालयको भनाइ छ । नयाँ उद्यमीलाई प्रोत्साहन, व्यवसाय दर्ता प्रक्रियालाई सहज बनाउने, उद्योगको दिगोपनामा जोड दिने तथा उत्पादनमूलक क्षेत्रमा निजी लगानी आकर्षित गर्ने कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले सोहीअनुसार जिल्लामा काम गरिरहेको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह