काठमाडौँ । नेपाली जनकल्याण समिति, हावडाले यस वर्षको २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती कोलकातामा सम्पन्न गरेको छ । भारत, पश्चिम बङ्गाल राज्यको हावडा मैदानमा यही साउन १० गते आयोजित समारोहमा कविता वाचन, समितिको वार्षिक साहित्यिक पत्रिका ‘बिहानी’को भानुजयन्ती विशेषाङ्क-२०२६ को विमोचन, प्रतिष्ठित व्यक्तित्वलाई सम्मान र नेपाली-बङ्गाली सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो ।

सो अवसरमा साहित्यकार/पत्रकार श्याम रिमाल (काठमाडौँ), लीला अनमोल (झापा), रण काफ्ले (असम, भारत) र टीकारामगोपाल भित्रीकोटी (कोलकाता) ले प्रवास र कोलकाता विषय समेटेर लेखिएको कविता वाचन गर्नुभयो भने भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याललाई यसै वर्षदेखि संस्थाको नेतृत्व सम्हालेबापत र अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष प्रदीप खनाललाई सन् २०२३ देखि २४ सम्मका अवधिमा चीनलगायत सार्क राष्ट्रका हिन्दू-बौद्ध-शिख धर्मका चार सय ५० तीर्थस्थल, चैत्य, विश्वविद्यालय, कुण्ड-सरोवर आदिको भ्रमण, दर्शनावलोकन र अन्तरक्रिया गरी धार्मिक समन्वय प्रवद्र्धन गर्न योगदान दिएबापत सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली महावाणिज्यदूतावास, कोलकाताका महावाणिज्यदूत झक्कप्रसाद आचार्यले कोलकातामा रहेका सबै नेपालीलाई एकजुट हुन र भानुजयन्ती जस्ता कार्यक्रम संयुक्त रूपमा मनाउन आग्रह गर्नुभयो । ‘सम्झना’ गणेशकुमार प्रधान, प्रवासी नेपाली सङ्घ भारत (पबङ्गाल, झारखण्ड संयुक्त राज्य समिति)का अध्यक्ष नारायणप्रसाद होमगाईंले कोलकातावासी प्रवासी नेपालीले विभिन्न धार्मिक-सांस्कृतिक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमार्फत दिएको योगदानबारे प्रकाश पार्नुभयो भने शिवपुर दीनबन्धु इन्स्टिच्युसन कलेज हावडा, हिन्दी विभागाध्यक्ष डा.सत्यप्रकाश तिवारीले आफूले सबै नेपालीलाई जातीय रूपले एकीकृत गर्ने आदिकविबारे अनुसन्धान गर्न चाहेको जानकारी दिनुभयो ।
समितिका प्रमुख सल्लाहकार धर्मराज बराल र प्रतिष्ठानका अध्यक्ष अर्यालले नेपालीलाई आफू जहाँ रहे पनि आफ्नो नेपाली र अन्य मातृभाषा, साहित्य, कला, संस्कृतिलाई कहिल्यै बिर्सन नबिर्सी त्यसको प्रचारप्रसार, प्रवद्र्धन र पुस्तान्तरण गर्न आग्रह गर्नुभयो । कोलकाताका समाजसेवी तथा व्यवसायी सुशीलकुमार चौधरीले कोलकाताको नतुनहाट, विवेकानन्द पार्कमा संयुक्त नेपाली वेलफेयर ट्रस्टका पहलमा करिब ११ कठ्ठा जमिनमा करिब ५० लाख लागतमा निर्माणाधीन पशुपतिनाथको मन्दिर बनिरहेको र आगामी शिवरात्रिमा प्राणप्रतिष्ठा गरिने जानकारी दिनुभयो ।
समितिका सभापति बद्रीविक्रम थापा, महासचिव रामबहादुर कार्की र साहित्य सचिव/‘बिहानी’का सम्पादक नरविक्रम थापाले प्रवासी नेपालीले विगत २६ वर्षदेखि कोलकातामा मनाउँदै आएको भानुजयन्तीलगायत गतिविधिबारे जानकारी दिनुभयो । दिलीप थापा, सुखदेव प्रधान, प्रकाशसिंह, नीलाद्रि थापा, देवाद्रि थापाको निर्देशनमा नेपाली र बङ्गाली विद्यार्थीले दुवै भाषामा नृत्य र गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चका उपसभापति रामायणप्रसाद धमला, नेपाली व्यावसायिक समिति, कोलकाताका अध्यक्ष भीमबहादुर श्रेष्ठ, संयुक्त नेपाली वेलफेयर ट्रस्टका उपसभापति गुञ्जदास श्रेष्ठ, एसेम्बली अफ गड चर्च, नेपाली विभागका प्रमुख फिलिप लेप्चालगायत कोलकाता, हावडामा रहेका प्रवासी नेपाली र बङ्गाली समुदायको उपस्थिति थियो ।
प्रतिष्ठानले समिति र महावाणिज्यदूतावासलाई भानुभक्तले लगाउने गरेको बिर्केटोपी, ‘भानुभक्तको रामायण’ र रुद्राक्ष पनि हस्तान्तरण गरेको थियो । कोलकातास्थित महावाणिज्यदूतावास र ‘तुलसीदास और भानुभक्त : सामाजिक और सांस्कृतिक परिदृश्य’ (सन् २०१२) का लेखक सहप्राध्यापक डा.तिवारीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए । कोलकातामा नेपालीहरूको पहलमा आदिकवि आचार्यका दुई सालिक स्थापना गरिनुका साथै उनका नाममा भानुभक्त सरिणी (सडक) को नामकरण पनि गरिएको छ ।






प्रतिक्रिया