गत्लाङ । सामुदायिक वनको सक्रियता र डिभिजन वन कार्यालय रसुवाको सहयोगमा रसुवा जिल्ला, आमाछोदिङ्मो-३, गत्लाङ क्षेत्रको वनमा पहिलोपटक ड्रोनमार्फत वनस्पति र घाँसको बिउ छर्ने काम भइरहेको छ । समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा रहेको बोन्जो माने एवम् ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा ड्रोनमार्फत बिउ छरिरहेको डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले जानकारी दिनुभयो ।


डेढ दशक वर्षअगाडि डढेलोबाट उजाड बनेको उक्त वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले साउन ११ गते सोमबारदेखि हावापानीमा उपयुक्त वनस्पति र घाँसको बिउ छर्ने काम भइरहेको छ । डढेलोको चपेटाकै कारण गत्लाङ पाखामा २५-३० हजारभन्दा बढी ठुला-ठुला सल्लाको बोट नष्ट भएका थिए । पहिलो वर्ष एक सय केजी बिउ छर्ने लक्ष्य राखिएको भए पनि प्रतिकूल मौसमका कारण पहिलो दिन २० केजी बिउ मात्र छर्न सकिएको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख तामाङका अनुसार स्थानीय हावापानीअनुकूल सल्लो, धुपीलगायतका वनस्पतिका बिउसँगै राई घाँस र ह्वाइट क्लोभरजस्ता घाँसका बिउ पनि मिसाएर छरिएको छ । ‘वन पुनस्र्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बिउ छरेका हौँ,’ उहाँले भन्नुभयो । विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट भएका थिए । दुर्गम भौगोलिक अवस्था र कठिन भू-भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि आधुनिक ड्रोन प्रविधिको प्रयोग गरिएको हो । डढेलोबाट प्रभावित चार सय ५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बिउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बिउ छर्दा समय, श्रम र लागत बचत हुने बताउनुभयो । ‘डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बिउमा आवश्यक पोषक तत्त्वसमेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ,’ उहाँले भन्नुभयो । अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू-संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ । वन कार्यालयका अनुसार डढेलोबाट करिब १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका रूख नष्ट भएका थिए । त्यसयता पुनस्र्थापनाअन्तर्गत गत्लाङको छेरसुङमा ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा गत वर्ष डिभिजन वन कार्यालयले ३० हजारभन्दा बढी बिरुवा रोपी संरक्षणका लागि तारबारसमेत गरेको थियो । ड्रोनमार्फत बिउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित वन क्षेत्रको पुनस्र्थापना हुने विश्वास स्थानीयवासीले गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवस विसं २०८२ तथा सगरमाथा वृक्षरोपण महाअभियानको अवसरमा आयोजित डढेलोले क्षतिग्रस्त वनमा वृक्षरोपण गरी हरियाली वातावरण बनाउन बिरुवा रोपिएको थियो । डढेलोका कारण उक्त क्षेत्रमा कुनै पनि बोटबिरुवा नउम्रिएपछि वनस्पतिशास्त्रको विज्ञ टोली झिकाई वन कार्यालयले वन व्यवस्थापनको अध्ययन गरेको थियो । डढेलोको चपेटामा परी सो क्षेत्रको करिब सात सय हेक्टर जमिनमा रहेको पूरै जङ्गल नष्ट भएको थियो । डढेलो लागेको १८ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञ टोलीले स्थलगत अध्ययन एवम् माटो परीक्षण गराइएको थियो । डढेलो लागेको गत्लाङ पाखामा कुहिएको काठ अझै व्यवस्थापन नभएको स्थानीय बताउँछन् । स्थानीय बासिन्दाले मसलाका रूपमा प्रयोग गर्ने टिमुर रोपणलाई प्राथमिकता दिने नीतिअनुरूप गत वर्षदेखि वन कार्यालयले बहुवर्षीय रूपमा २० हजार टिमुरका बिरुवा उत्पादन एवम् वितरण थालेको छ ।






प्रतिक्रिया