धुन्चे । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनामा रसुवा जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा आगामी भदौ महिनामा लाग्ने जनैपूर्णिमा मेलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सोमबार अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाले मेला अवधिभर कुण्डको प्रवेशमार्ग धुन्चेदेखि कुण्डसम्म प्लास्टिकजन्य फोहोर गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा वर्षको दुईपटक जनैपूर्णिमा र गङ्गादशहरामा विशेष मेला लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले मेलालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले भक्तजनको सुरक्षा, स्वास्थ्य र यातायात व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । अन्तरक्रियामा गोसाईँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले स्थानीय सरकारको तर्फबाट मेलालाई सफल बनाउन आवश्यक पूर्वाधार, खानेपानी र फोहोरमैला व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । गोसाइँकुण्ड-५ का वडाध्यक्ष दावामिङ्मार तामाङ र ६ का अध्यक्ष दावासिदार वाइबाले मेला अवधिभर स्थानीयस्तरमा समन्वय र रेखदेखलाई तीव्र पारिने बताउनुभयो ।
कुण्डमा जनैपूर्णिमाको अवसरमा एक हप्ताभन्दा बढी मेला लाग्ने गरेको छ । मेला अवधिभर सहयोग र समन्वय गर्ने प्रतिबद्धता जिल्लामा तैनाथ सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रतिनिधिले अन्तरक्रियामा गर्नुभएको छ । छलफलमा हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलतालाई ध्यान दिँदै प्लास्टिकजन्य फोहोर नियन्त्रण गर्ने र तीर्थयात्रीका लागि ठाउँठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ । सो कार्यक्रममा मेला अवधिभर सुरक्षाकर्मी तैनाथ, स्वास्थ्य शिविर, वातावरणीय संरक्षणका लागि प्लास्टिकजन्य फोहोरमा प्रतिबन्ध, स्वयम्सेवक परिचालनलगायतको निर्णय गरेर जिम्मेवारीसमेत तोकिएको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो ।
सरोकारवालाको छलफलमा कुण्डमा प्लास्टिकजन्य फोहोर प्रतिबन्ध गर्ने निर्णय भएको छ । निकुञ्ज क्षेत्रभित्र चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा निस्कने प्लास्टिक र फोहोर जथाभावी फाल्न निषेध गरिएको छ । तीर्थयात्रीले फोहोर तोकिएको सुरक्षित स्थानमा मात्र विसर्जन गर्नुपर्नेछ । यात्रा मार्गमा पर्ने बहुमूल्य जडीबुटी वा वनस्पति नकाट्न तथा रैथाने वन्यजन्तुलाई तर्साउने वा हिर्काउनेजस्ता गतिविधि नगर्न निकुञ्ज कार्यालयले कडा निर्देशन जारी गर्दै अनुरोध गरेको छ ।






प्रतिक्रिया