महेन्द्र ताल भनेर चिनिने प्रसिद्ध ‘राराताल’ मुगु जिल्लाको सदरमुकाम गमगढीभन्दा पश्चिम केही उच्च भागमा अवस्थित छ । तालको लम्बाइ ५.१ किलोमिटर, चौडाइ ३.०२ किलोमिटर र गहिराइ एक सय ६७ मिटर मापन गरिएको छ । यो स्थान समुद्री सतहबाट दुई हजार नौ सय ७२ मिटर उचाइमा रहेको, हिमाली भागको र तालको मनमोहक दृश्य देखिने स्थान ‘मुर्माटप’ पाँच हजार मिटरभन्दा माथिको उचाइमा रहेको छ । मुर्माटपबाट बझाङ, बाजुरा, कोल्टी, जुम्लालगायत बडिमालिकाको मन्दिर रहेको भाग पनि देख्न सकिन्छ र शैपाल, सिस्ने, काञ्जिरोवा र चखेली हिमाल (रु.एकको नोटमा राखिएको फोटो) पनि देख्न सकिन्छ । तालमा हिमाली असली माछा भनेर चिनिने जातका माछा प्रशस्त मात्रामा पाइन्छन् । रारातालमा माछा मार्न र पौडी खेल्न निषेध गरिएको छ । रारा राष्ट्रिय निकुञ्जमा प्रवेशका लागि नेपाली नागरिकले रु.एक सय र विदेशीले रु. तीन हजार दस्तुर तिर्नुपर्दछ र राराताल निकुञ्जभित्र पर्ने भएकाले राराताल घुम्न चाहनेले अनिवार्य रूपमा राजस्व बुझाउनुपर्ने हुन्छ । तालमा डुङ्गा चढ्न चाहने यात्रीले लम्बाइ भागमा सयर गर्नेले रु.एक हजार र चौडाइ भाग मात्र चढ्ने यात्रीले रु. पाँच सय तिर्नुपर्दछ र हावाको कारणले १२ बजेपछि डुङ्गामा सयर गर्न नमिल्ने रहेछ । ताल पुग्न हवाईमार्ग हुँदै जाने यात्रीले ताल्चा विमानस्थलमा उत्रेपछि तीन घण्टा पैदल हिँड्नुपर्छ र गाडीबाट यात्रा गर्नेले सल्लेरीबजारसम्म यातायातको साधनमा गई पैदल वा घोडाबाट एक घण्टा हिँडेपछि तालसम्म पुगिन्छ । घुम्नका लागि उपयुक्त समय भनेको चैत, वैशाख, जेठ, असार, असोज र कात्तिक महिना उपयुक्त हुन्छ । ताल घुम्नका लागि मोटरबाटोबाट व्यक्तिगत स्कार्पियो गाडी वा विभिन्न ट्राभल एजेन्सीले आयोजना गर्ने टुर प्याकेजको माध्यमबाट जान सकिन्छ । साधारणतया छ-सात दिनको यो यात्रा अन्य भागको भन्दा पृथक र केही दुरुह खालको देखिन्छ । काठमाडौँबाट दुईतर्फी दूरी करिब दुई हजार किलोमिटरभन्दा बढी नै छ र लगातार गाडीमा यात्रा गर्दा तीन-चार दिनसम्म लाग्न सक्छ । मुगु जिल्ला पूरै कच्ची र सानो बाटो भएकाले यात्रामा पूर्ण सावधानी अपनाउनुपर्छ । राराको दृश्यावलोकनपछि यात्रीले यात्रा अवधिका सबै थकान बिर्सिएर आनन्द लिने गर्छन् । मैले १७ वर्षपछि राराको पुनः दोस्रोपटकको यात्रा गर्नुको उद्देश्य त्यस क्षेत्रमा भएका भौगोलिक तथा सामाजिक परिवर्तनको तुलनात्मक अवलोकन र हवाईमार्गबाट जाँदा हेर्नबाट वञ्चित सिँजा क्षेत्रको दृश्यावलोकन गर्ने अभीष्ट रहेको थियो । नेपालका जात-जातिको उद्गमस्थल र पूर्वीय सभ्यताको जग रहेको स्थान पुग्नका लागि मोटरमार्ग नै उपयुक्त हुने भएकाले यसपटकको मेरो यात्रा गाडीबाट नै भयो । संयोगवश हामी सिँजा यात्रा गर्ने दिनमा नै त्यस क्षेत्रको मार्सी धान रोप्ने दिन परेकाले त्यो दृश्य मेरा लागि अविष्मरणीय नै रह्यो । काठमाडौँबाट प्रस्थान गरेपछि नुवाकोट, धादिङ, चितवन, नवलपरासी, रुपन्देही दाङ, बाँके, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगु हुँदै १३ जिल्लालाई टेक्दै यात्रा सुरु गरेको तेस्रो दिनमा नै मुगु जिल्ला पुगेको थिएँ । अलि आराम गर्दै जुम्लामा रात बिताएको भए चार दिन लाग्ने रहेछ । तर, सिँजा उपत्यका भ्रमण गर्ने उद्देश्यले केही छोटो बाटोको यात्रा गरेका थियौँ र तालबाट फर्कँदा जुम्लामा रात्रि विश्राम गरेका थियौँ । यात्रा अवधिभर सुर्खेतसम्मको उखरमाउलो गर्मी कालीकोट, जुम्ला, मुगु पुग्दा चिसोको अनुभवले बिर्सिसकेका थियौँ । अझ बिहान ७ बजे मुर्माटपको चिसोले मुहारमा छाएको जाडो र हात ठिहि¥याएको अनुभूतिले हिमाली भेगमा नै आएको आभास भएको थियो । १७ वर्षअघि म रारा जाँदा हवाईमार्गबाट ताल्चा विमानस्थलमा ओर्लेर करिब दुई घण्टा घोडामा चढेर मात्र पुग्न सकिएको थियो । तत्कालीन समयमा हवाईमार्गभन्दा त्यहाँ पुग्ने कुनै माध्यम नै थिएन । तर, अहिले तीन दिनको मोटर यात्राबाट त्यहाँ पुग्दा कर्णाली विकास नै भएको छैन भन्ने लोकोक्ति त्यति विश्वसनीय लागेन । अझ सुर्खेतबाट गुराँसे हुँदै र कर्णाली राजमार्गबाट दुई-दुई बाटोबाट दैलेख जान सकिने, सिँजा र तिलानदीको दोभान र कर्णाली राजमार्ग हँुदै भुलभुलेबाट जुम्ला जान दुईवटा मार्ग देख्दा वैकल्पिक मार्ग पनि बनिसकेको कर्णालीलाई विकट र दुर्गम मान्न सकिने आधार समाप्त भएको र विकासको पथमा कर्णाली अग्रपथमा रहेको देखिन्छ । सिँजा उपत्यका निकै रमणीय र उब्जाउशील भू-भाग रहेको पाइन्छ । सिँजा खोलाद्वारा सिञ्चित त्यस भेगमा खोलावारि र पारि केही स्थानमा पक्की बाटो बनेको र केही स्थानमा निर्माण हँुदै गरेको देख्न सकिन्छ । प्रसिद्ध मार्सी धान, रातो सिमी, राज्मा र दालजन्य फसलले त्यस स्थानलाई समृद्धिको मार्गतर्फ अग्रसर गराएको देखिन्छ । मार्सी धान रोप्ने दिन त्यस उपत्यकाको अधिकांश खेतमा धेरै किसान खेतीमा संलग्न भएको देख्दा त्यहाँ खेतबारीमा काम गर्ने मजदुरको कमी छ जस्तो लाग्दैनथ्यो । हुन सक्छ-मार्सी धान रोप्ने दिन स्वदेश-विदेश भएका सबै मानिस गाउँमा अनिवार्य रूपले आउनुपर्ने परम्परागत प्रचलन भएर पनि होला ठुलो सङ्ख्यामा किसान खेतमा काम गरेको देखिएको हुन सक्छ । जे होस्, सिँजा उपत्यकामा किसानबिचको एक-आपसको सहयोग, सामूहिकता र परम्पराको अनुशरण उल्लेखनीय नै थियो । रामसार क्षेत्रभित्र पर्ने रारा वि.सं. २०३६ मा रारा निकुञ्ज घोषणा भएको हो । यस क्षेत्रभित्र निकुञ्जको जङ्गलभित्र कालो भालु, रातो पाण्डा, हिउँचितुवा र डाँफेजस्ता चरा पनि पाइन्छन् । रारा पुगेर आउने स्वदेशी तथा विदेशीले रारालाई जीवन्त स्वर्ग पनि भन्छन्, किनकि निकुञ्ज क्षेत्रभित्र अहिलेसम्म कुनै पनि मेसिन औजार प्रयोग गर्न अनुमति दिइएको छैन । त्यस क्षेत्रमा भ्रमण गर्दा चारैतिर देखिने राष्ट्रिय निकुञ्जद्वारा संरक्षित वनक्षेत्र भ्रमण गर्दा मन नै साह्रै आल्हादित हुन्छ । अझ सल्लेरीबाट रारातालसम्म घोडा वा पैदलयात्रा गर्दा परिवेशमा देखिने वातावरणले मन नै प्रफुल्लित बनाउँछ । वरपरका क्षेत्रलगायत मुर्माटपसम्म जाँदा देखिने देवदार (सल्ला), चिरौता, गोब्रेसल्ला र बेथुला प्रजातिका वनस्पति देख्दा मनमा भिन्दै खालको मानसिक भाव उत्पन्न हुन्छ । हामीलाई दिइएको इको होटेल रिसोर्टले हामीलाई पानीले भिजेको शरीरलाई निकै न्यानो अनुभूति दिन्छ र त्यहाँको तातो बनाइएको कोठामा हामी रमाउछौँ ! (लेखक पूर्वप्रशासक, इतिहासविद् तथा साहित्यकार हुनुहुन्छ ।)

विदुर- १०, गेर्खुटार, नुवाकोट






प्रतिक्रिया