+
Search

ताजा अपडेट +

पपुलर +

ग्यास बिक्री तथा मौज्दातको अवस्था पारदर्शी

ग्यास बिक्री तथा मौज्दातको अवस्था पारदर्शी
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्लाका बजारमा खाना पकाउने एलपी ग्यासको अवस्था बुझ्न सोमबार जिल्ला अनुगमन समितिको संयुक्त टोलीले जिल्लाका मुख्य-मुख्य बजार क्षेत्रका ग्यास डिपो तथा सप्लायर्समा बिक्री र मौज्दात अवस्थाको अनुगमन गरेको छ । जिल्ला अनुगमन समितिका सदस्यसचिव तथा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेले बताएअनुसार जिल्लामा आपूर्ति तथा बिक्रीको अवस्था पारदर्शी रहेको र कालोबजारी, कृत्रिम अभाव तथा बढी मूल्य लिएकोलगायतका कैफियत भेटिएन ।

Utsuk Books & Stationery

अनुगमनका क्रममा जिल्लामा खाना पकाउने ग्यास मागअनुसार पर्याप्त मात्रामा नआए पनि विगतका महिनाको तुलनामा अझै धेरै ग्यास नुवाकोट भित्रिएको पाइएको छ । उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय नुवाकोटको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा पत्रकारसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । नेपाल सरकारको उपभोक्ता संरक्षण ऐन तथा विद्यमान कानुनी व्यवस्थाबमोजिम उपभोक्ता हित संरक्षणलाई सर्वोपरि राख्दै जिल्ला बजार अनुगमन समिति नुवाकोटद्वारा जिल्लाका विभिन्न क्षेत्रमा एलपी ग्यासको अभाव सिर्जना भएको र उपभोक्ताले सास्ती भोग्नुपरेको जनगुनासोका आधारमा अनुगमन गरिएको सदस्यसचिव घिमिरेले बताउनुभयो ।

समितिले बजारका प्रमुख ग्यास विक्रेता (डिपो) तथा गोदाममा आकस्मिक निरीक्षण जारी रहने बताएको छ । ग्यास बिक्री-वितरणको तुलनात्मक अध्ययन, अनुगमनका क्रममा कैफियत भएका विक्रेता तथा व्यवसायीलाई कृत्रिम अभाव र कालोबजारीविरुद्ध कडा कारबाही गरिने बताइएको छ । ग्यासको दैनिक मूल्य-सूची र मौज्दात विवरण अद्यावधिक गराई विनाभेदभाव ग्यास वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ । व्यवसायीले अनुगमन समितिका पदाधिकारीसँग हाल जिल्लामा प्राप्त भएको ग्यासको कोटा थप गर्नका लागि सरकारसँग पहल गरिदिनुहुन माग गरेका छन् । जिल्लाभित्र तोकिएको कोटाबमोजिम ग्यास नियमित रूपमा भित्र्याउन आवश्यक प्रशासनिक सहजीकरण गरिने अनुगमन समितिका सदस्यसचिव घिमिरेले बताउनुभयो । बजारलाई व्यवस्थित बनाउन तथा उपभोक्ता हित संरक्षण गर्न बजार अनुगमन कार्य आगामी दिनमा निरन्तर र आकस्मिक रूपमा जारी रहने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह