+
Search

ताजा अपडेट +

पपुलर +

रुबीभ्यालीवासी तुइनकै भरमा दैनिक आवतजावत गर्न बाध्य

रुबीभ्यालीवासी तुइनकै भरमा दैनिक आवतजावत गर्न बाध्य
त्रिशूली प्रवाह
५८ मिनेट अगाडी

धादिङबेँसी । धादिङ जिल्ला, रुबीभ्याली गाउँपालिका-५ र ६ का स्थानीयवासी पहिरोले सडक, पुल तथा पैदलमार्ग अवरुद्ध भएपछि तुइनको सहारामा ज्यान जोखिममा राखेर दैनिक आवतजावत गर्न बाध्य भएका छन् ।

Utsuk Books & Stationery

लगातारको वर्षापछि आखु दोभान क्षेत्रमा आएको पहिरोले रुबीभ्याली-४, ५ र ६ जोड्ने मुख्य आवतजावत मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक र पैदलमार्ग सञ्चालनमा नआएपछि स्थानीयले आखुखोला तर्न तुइनको प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको हो । यसबाट बालबालिका, महिला, ज्येष्ठ नागरिक, बिरामी तथा विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयका अनुसार खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ । जोखिमपूर्ण तुइन प्रयोग गर्नुपर्ने बाध्यताले कुनै पनि वेला ठुलो मानवीय दुर्घटना हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले रुबीभ्याली गाउँपालिका, जिल्ला प्रशासन कार्यालय धादिङ, प्रदेश सरकार तथा सङ्घीय सरकारसँग तत्काल स्थलगत अनुगमन गरी सुरक्षित वैकल्पिक मार्ग निर्माण गर्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न माग गरेका छन् ।

स्थानीयका अनुसार दशकौँदेखि प्रयोग हुँदै आएको यस मार्गको वर्तमान अवस्थाका पछाडि गोरक्षा हाइड्रोपावरको निर्माणकार्य पनि एक कारण रहेको छ । निर्माणका क्रममा गरिएका गतिविधिका कारण जमिन कमजोर बनेर पहिरोको जोखिम बढेको तथा विद्युत्गृह निर्माणका वेला खोलाको प्राकृतिक बहाव र स्थानीय आवतजावतको उचित व्यवस्थापन नगरिएकाले समस्या झन् जटिल बनेको उनीहरूको दाबी छ । रुबीभ्याली-५, लापाका दाबा तामाङले अहिले मानिस तुइनको भरमा ज्यान जोखिममा राखेर खोला वारपार गर्न बाध्य भएको बताउनुभयो । ‘यस्तो संवेदनशील अवस्थामा पनि सम्बन्धित निकाय मौन बस्नु दुःखद हो । कुनै अप्रिय घटना भएपछि मात्र चासो दिने प्रवृत्ति अन्त्य हुनुपर्छ । जनताको ज्यानभन्दा ठुलो कुनै कुरा हुन सक्दैन,’ उहाँले भन्नुभयो । उहाँले तत्काल सुरक्षित आवतजावतको व्यवस्था, पहिरो नियन्त्रण र आवश्यक उद्धार तथा पुनस्र्थापनाका काम अघि बढाउन आग्रह गर्नुभयो ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह