धुन्चे । चौँरीगाईको दुधबाट रसुवाका पाँच उच्च हिमाली क्षेत्रमा यस वर्ष पनि चिज उत्पादन सुरु भएको छ । पोषिलो औषधिजन्य घाँस प्रशस्त हुने मौसम सुरु भएसँगै जिल्लाका धुन्चे, चन्दनबारी, लाङ्टाङ, तातोपानी र गत्लाङमा दुग्ध विकास संस्थानले पूर्ण क्षमतामा चिज उत्पादन गरिरहेको छ ।

धुन्चे-पाङ्लेप खर्क चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्बु तामाङका अनुसार प्रत्येक वर्ष वैशाखदेखि कात्तिक मसान्तसम्म चिज उत्पादन गरिन्छ । हालसम्म पाँचवटै केन्द्रबाट एक हजार ६ सय केजीभन्दा बढी चिज तथा एक हजार केजी मख्खन उत्पादन भइसकेको छ । उत्पादित चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको लैनचौर केन्द्रीय भण्डारमा पठाउने तयारी भइरहेको छ । नेपालकै जेठो लाङ्टाङ चिज उत्पादन केन्द्र भने यस वर्ष एक साताअघि मात्रै सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । रसुवामा दुग्ध विकास संस्थानअन्तर्गत सञ्चालनमा रहेका पाँचवटा सरकारी चिज उत्पादन केन्द्रले एक सयभन्दा बढी चौँरीपालक किसानको जीविकोपार्जनमा टेवा पुर्याइरहेको छ । किसानले उत्पादन गरेको दुधको फ्याटका आधारमा प्रतिलिटर रु.९४.२५ सम्म मूल्य पाउने गरेका छन् । संस्थानले निर्धारण गरेको मूल्यअनुसार चिजको प्रतिकेजी रु.एक हजार नौ सय र मख्खनको प्रतिकेजी रु.एक हजार एक सय ५० रहेको छ । चिज उत्पादन केन्द्रका अनुसार दैनिक ८० लिटर दुध आपूर्ति गर्ने गोसाईँकुण्ड-६ का किसान सोनुर्पु तामाङ यस क्षेत्रका प्रमुख दुध उत्पादकमध्ये एक हुनुहुन्छ । रसुवाका साथै नुवाकोटको काल्चे क्षेत्रका किसानले समेत दुध बिक्री गर्दै आएका छन् ।

बयोवृद्ध समाजसेवी दावाफिन्जो तामाङका अनुसार रसुवाको उच्च हिमाली क्षेत्रमा तितेफापरबाहेक अन्य बाली राम्रोसँग नफल्ने भएकाले स्थानीयको आयआर्जन बढाउन स्विस सरकारको सहयोगमा विसं २००९ मा चिज उद्योग स्थापना गरिएको थियो । त्यसपछि स्थानीयवासीले चौँरीपालनलाई व्यावसायिक रूपमा अँगाल्दै आएका हुन् । तर, पछिल्ला वर्षमा पर्यटन व्यवसाय विस्तार भएसँगै धेरै चौँरीपालक किसान होटेल तथा लज सञ्चालनतर्फ आकर्षित भएका कारण चिज उद्योगमा दुधको अभाव हुन थालेको छ । यसले केही केन्द्रको उत्पादन क्षमता घट्दै गएको सम्बन्धित अधिकारीको भनाइ छ । विसं २०२७ मा स्थापना भएको चन्दनबारी चिज उत्पादन केन्द्र पनि अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको छ । केन्द्र प्रमुख सुभाष राईका अनुसार युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन हुनु, पुराना चौँरीपालक किसानको उमेर ढल्कँदै जानु र दुध उत्पादन घट्दै जानुले केन्द्र सञ्चालन मुस्किल बन्दै गएको छ । चन्दनबारी र लाङ्टाङ चिज केन्द्र अहिले पनि सीमित दुध सङ्कलनका भरमा सञ्चालन भइरहेका छन् । किसानले भने दुग्ध विकास संस्थानबाट पहिले उपलब्ध हुँदै आएका छाता, बाल्टिन, गमबुटजस्ता आवश्यक सामग्री कटौती गरिएको र अहिले २५ केजी नुन मात्र उपलब्ध गराइने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
विश्वइतिहासमा रसुवाको चिज
विश्वमा चिज उत्पादनको इतिहास करिब सात-आठ हजार वर्ष पुरानो भएको यससम्बन्धी विज्ञहरू बताउँछन् । इतिहासकार एवम् पूर्वप्रशासक रेशमबहादुर पाण्डेका अनुसार मध्यपूर्व र मध्यएसियामा मानिसले दुधलाई लामो समयसम्म सुरक्षित राख्ने उपाय खोज्ने क्रममा चिज उत्पादनको सुरुवात भएको थियो । पछि यो परम्परा युरोपभर फैलियो, विशेषगरी स्विट्जरल्यान्ड, फ्रान्स, इटाली र नेदरल्यान्ड्स उत्कृष्ट चिज उत्पादनका लागि विश्वप्रसिद्ध बने । नेपालमा आधुनिक चिज उत्पादनको सुरुवात भने सन् १९५७ (वि.सं. २०१४) मा स्विस सरकारको सहयोगमा भएको मानिन्छ । हिमाली क्षेत्रमा चौँरीको दुधबाट उच्च गुणस्तरको चिज उत्पादन गर्न सकिने सम्भावना देखेपछि स्विस विज्ञले नेपालमा प्रविधि भित्र्याएका थिए । त्यसैको निरन्तरतास्वरूप लाङ्टाङ चिज नेपालको पहिचान बनेको हो । आज पनि रसुवामा उत्पादन हुने लाङ्टाङ चिज स्विस शैलीको हिमाली चिजका रूपमा चिनिन्छ र यसको स्वाद तथा गुणस्तरका कारण स्वदेशी तथा विदेशी उपभोक्तामाझ लोकप्रिय बनिसकेको पाण्डेले बताउनुभयो । यद्यपि, किसानको सङ्ख्या घट्नु, दुध उत्पादनमा कमी आउनु र पर्यटनतर्फ बढ्दो आकर्षणका कारण दशकौँ पुरानो लाङ्टाङ चिज उद्योगको दिगोपनामा चुनौती थपिएको सरोकारवालाले बताएका छन् ।

स्थानीय किसानलाई प्रोत्साहन, आवश्यक सामग्रीमा सहयोग र चौँरीपालनलाई आकर्षक व्यवसायका रूपमा विकास गर्न सके रसुवाको ऐतिहासिक चिज उद्योगलाई दीर्घकालसम्म संरक्षण गर्न सकिने विश्वास रसुवाका बासिन्दाले गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनुहुन्छ । यस्तै, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले भन्नुभयो, ‘रसुवाको चिज व्यवस्थित र गुणस्तर तवरले उत्पादन भइरहेकाले सरकारी एवम् गैरसरकारी निकायको सहयोग अपरिहार्य भएकोले सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।’ चन्दनबारी र धुन्चे लेकको चिज बोकेर रोडहेडसम्म ल्याउने मानिसको आवश्यक भए ढुवानी गराउन आपूm तयार भएको यार्सा घर भई धुन्चेको जिससमुनि स्थायी बसोबास गरी बस्ने दावा तामाङले बताउनुभएको छ ।






प्रतिक्रिया