धुन्चे । उत्तरी रसुवामा निर्माणाधीन १२० मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजनामा प्रयोगका लागि भण्डारण गरिएको विस्फोटक पदार्थ निष्क्रिय गराउने क्रममा अचानक विस्फोट हुँदा सोमबार एकजनाको मृत्यु भएको छ भने दुई सैनिकसहित अन्य पाँचजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख अशोक थापाका अनुसार मृत्यु हुनेमा आमाछोदिङ्मो-४ का २७ वर्षीय सोनाम घले रहेका छन् । घले भोटेकोशी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी रहेको बताइएको छ । घाइतेमध्ये दुईजना नेपाली सेना र चारजना जलविद्युत् आयोजनाका कर्मचारी रहेका छन् । नियमित रूपमा सुरुङ निर्माणमा प्रयोग गर्न भण्डारण गरिएका विस्फोटक पदार्थको म्याद समाप्त भएपछि त्यसलाई निष्क्रिय बनाउने क्रममा सोमबार बिहान ११ बजे रसुवाको माङ्चेतस्थित सैनिक इलाका क्षेत्रमा अचानक विस्फोट भएको बताइएको छ । विस्फोटमा घाइते भएका घलेलाई उपचार सेवा दिन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएका नेपाली सेनाका दुई सैनिक र जलविद्युत् आयोजनाका एक कर्मचारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँस्थित सैनिक अस्पतालमा लगेर उपचार भइरहेको सैनिक नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिनुभयो । घाइतेमध्ये सामान्य अवस्थाका अन्य तीनजनाको रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले बताउनुभयो ।
प्रतिकूल मौसमका कारण सुरुमा धुन्चेस्थित श्रीनाथ गणको हेलिप्याडमा अवतरण गरेको सेनाको हेलिकोप्टर मौसममा केही सुधार आएपछि थाम्बुचेत पुगेको थियो । त्यसपछि गम्भीर घाइतेलाई उद्धार गरी काठमाडौँ लगिएको सैनिक स्रोतले जनाएको छ । सुरक्षाका दृष्टिले जिल्लाभित्र प्रयोग हुने विस्फोटक पदार्थको भण्डारण तथा सुरक्षा व्यवस्थापनमा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका रहने सुरक्षा निकायले जनाएको छ । विस्फोटक पदार्थ आयोजनामा प्रयोग गर्दा आवश्यक सुरक्षा तथा निगरानीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । घटनाको कारण र विस्फोटक पदार्थ निष्क्रिय गराउने प्रक्रियाका सम्बन्धमा विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको छानबिन प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ ।






प्रतिक्रिया