+
Search

ताजा अपडेट +

पपुलर +

‘घ्याङस्वारा जैविक चिया’ प्रतिकिलो रू.६ हजार

‘घ्याङस्वारा जैविक चिया’ प्रतिकिलो रू.६ हजार
611882292
त्रिशूली प्रवाह
४६ मिनेट अगाडी

विदुर । पञ्चकन्या गाउँपालिकामा उत्पादन भएको चियाको मूल्य निर्धारण भएको छ । पञ्चकन्या-४, घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाई तीन वर्षअगाडि तीन सय ३२ रोपनी सार्वजनिक जग्गामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा ८३ हजार चियाको बिरुवा लगाइएको थियो । चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ भएसँगै तयारी चियाको मूल्य प्रतिकिलो रू.६ हजार निर्धारण गरिएको पालिकाका अध्यक्ष तेजबहादुर तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत बनाइएको ‘घ्याङस्वारा अग्र्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निधारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार चियाको मूल्य निर्धारण गरिएको हो । लगाइएका बिरुवामध्ये करिब १३ हजार बोटबाट उत्पादन सुरु भएको छ । अर्थोडक्स र अर्गानिक चियाको गुणस्तरसहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको मागलगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले पालिकालाई व्यावसायिक कारोबारतर्फ अघि बढाउन बाटो खुला भएको छ । स्थानीय सरकार सञ्चालन ऐन र यसअन्तर्गत बनेको कार्यविधिमा उल्लेख भएअनुसार ‘घ्याङस्वारा चिया व्यवस्थापन समिति’मार्फत तोकिएको शुल्क कार्यपालिका बैठकबाट पारित भएर कार्यान्वयनमा आएको समितिका सदस्यसचिव सरोजकुमार खातीले बताउनुभयो । उहाँका अनुसार पहिलोपटक गत चैतमा टिपेको पातको प्रशोधनको उत्पादन सफल भएसँगै चियाको आर्थिक कारोबारमार्फत पालिकालाई आम्दानीसँग जोड्न व्यावसायिक प्रयोजनका लागि योजनासहितको लक्ष्य लिइएको छ । पालिकाले उत्पादन गरेको चियाको मूल्य पाँच सय ग्रामको रू.तीन हजार, दुई सय ५० ग्रामको रू.एक हजार पाँच सय, सय ग्रामको रू.६ सय, ५० ग्रामको रू.तीन सय र २५ ग्रामको रू.एक सय ५० उल्लेख गरिएको छ ।

नुवाकोटका उच्च हिमाली एवम् पहाडी क्षेत्रमा उत्पादन भएको अर्थोडक्स र अर्गानिक चियाको अहिलेको बजार मूल्यअनुसार पञ्चकन्याले निर्धारण गरेको मूल्य निकै सहुलियत रहेको समितिका सदस्यसचिव तथा पालिकाका रोजगार सिप तथा उद्यमशीलता केन्द्रका संयोजक खातीको भनाइ छ । पालिकाले गत वैशाखमा यहाँको चियालाई ‘घ्याङस्वारा अग्र्यानिक चिया’ नाम दिएर सार्वजनिक गरेको थियो । त्यसपश्चात् ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रिया पूरा गरेर बजार (उपभोक्ता)मा लैजान मुख्य अवरोध रहेको मूल्य निर्धारणसहितको सञ्चालन प्रक्रिया पूरा गरेको जनाएको छ । चार वर्षअघिसम्म बाँझो रहेका तथा झारपातले ढाकिएको घ्याङस्वारा पाखाको सार्वजनिक जग्गालाई कृषियोग्य बनाई जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीसहित सयौँ स्थानीयवासीको श्रमदानबाट रोपिएको थियो । उत्पादन भएका पातलाई तयारी चिया बनाउन आवश्यक प्रशोधन ककनीमा रहेको चिया तथा कफी विकास कार्यालयले सहयोग गरेको पालिकाकी उपाध्यक्ष विमला केसीले जानकारी दिनुभयो ।

समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार दुई सय मिटर उचाइमा अवस्थित घ्याङस्वारामा चियाको व्यावसायिक उत्पादनसहित स्थानीय किसानलाई अनुदानमा वितरण गर्न ८४ हजार बिरुवा तयार भएको छ । स्थानीय क्षेत्रमा किसानलाई चियामार्फत रोजगार, कृषिमा आत्मनिर्भर तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा पालिकाले गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह