सन् १९९८ अगस्ट ८ देखि १२ सम्म संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिसबनमा विश्वका एक सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीसमेतको सहभागितामा विश्व युवा सम्मेलन भएको थियो । सम्मेलनले युवा सशक्तीकरणका पक्षमा ८८ बुँदे लिसबन जारी गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को साधारणसभाबाट पारित गरेपश्चात् सन् २००० देखि हरेक वर्ष १२ अगस्टका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने परम्परा चल्दै आएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ का लागि संयुक्त राष्ट्रसङ्घले ‘डिफरेन्ट कन्टेक्स्ट कमन एस्पिरेसन’ (भिन्न परिवेश साझा आकाङ्क्षा) नारा सन्देश तय गरेको छ । यो केवल एक नारा मात्र नभई विश्व समुदायलाई जोड्ने एक मार्गदर्शक दर्शन हो । यसले फरक पहिचानलाई स्वीकार गर्दै साझा लक्ष्य प्राप्तिका लागि सहकार्य गर्न प्रेरित गर्छ । भाषा संस्कृति, भौगोलिक अवस्था र अवसर फरक हुन सक्छन् । तर, हाम्रो साझा आकाङ्क्षा प्रत्येक नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न सकोस्, समाजमा समानता र न्याय स्थापित होस् र विकासका अवसर सबैका लागि खुला रहून् । यही साझा आकाङ्क्षाको पूर्तिले हामीलाई एकताबद्ध बनाउँदै समृद्ध र न्यायपूर्ण दिगो भविष्यको सुनिश्चत गर्छ ।
राष्ट्रिय युवा परिषद् र दिवस
राष्ट्रिय युवा परिषद्ले दिवसको नारालाई सार्थकता हुने गरी विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी दिवस मनाउँदै छ । नेपालमा मनाइने दिवसका नारा केवल दिवस दिनका लागि मात्रै बन्ने गरेका छन् । नाराको उद्देश्य र यसलाई सार्थकता प्रदान गर्ने कार्यक्रम विरलै हुन्छन् । नारालाई लक्ष्यमा पु¥याउनलाई वर्षभरिका लागि के, किन, कसले, कहिले, कहाँ, कसरी गर्ने भन्ने जवाफदेही र जिम्मेवारी तथा प्रगतिको अनुगमन निरीक्षण र मूल्याङ्कनका स्पष्ट कार्ययोजनाको खाँचो पर्दछ । अन्यथा यो दिवस पनि कर्मकाण्डी मात्र नहोला भन्न सकिन्न । युवालाई आर्थिक, शारीरिक, मानसिक, सामाजिक सशक्तीकरण र स्वाभिमानी बनाउने खालका नीति तथा कार्यक्रमको पर्याप्तता र प्रभावकारिता खट्किएको छ । ऊर्जाशील युवाको रोजगारीका लागि बिदेसिने लर्को दिन प्रतिदिन बढ्दो रहेको जगजाहेर नै छ ।
राष्ट्रिय युवा परिषद्ले परिभाषित गरेअनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवा नेपालको कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको छ । उत्साही दक्ष युवा जनशक्तिको सक्रिय सहभागिताविना ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक हुन सक्दैन । रोजगारी र शिक्षाबिच हुने अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै राष्ट्रिय युवा परिषद्ले रोजगारसँग सम्बन्धित सिपयुक्त शिक्षा प्रवद्र्धनका लागि विभिन्न नीति तथा रणनीति प्राथमिकताका साथ अघि सारेको छ । उच्चमाध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क, नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदाको उच्चतम सदुपयोग र संरक्षणमा टेवा पु¥याउने कर्मठ र उद्यमशील स्वाभिमानी युवा जनशक्ति उत्पादन गर्ने नीति परिषद्ले लिएको देखिन्छ ।
समयानुकूल रोजगारमूलक उद्यमशील शिक्षाको अभावका कारण लाखौँ ऊर्जाशील युवा जनशक्ति दिशाविहीन भई बरालिएको, आफ्नो भविष्य स्वदेशमा नदेखेर विदेश जान भौँतारिएको, विदेशमोहले गाउँबस्तीमा मलामी र जन्ती जाने तन्नेरीको अभाव तथा श्रमिक अभावले कृषियोग्य जमिन बन्जर बनेको अहिलेको नियति छ । लाखौँको सङ्ख्यामा बिदेसिएका युवा जनशक्तिलाई स्वदेशमै थेग्न युवा परिषद्ले विविध कार्यक्रम सञ्चालन गर्दै आएको जगजाहेर नै छ । तथापि, यी कार्यक्रम वर्तमानमा हात्तीको मुखमा जिरा भएका छन् । बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्दै देश विकासमा युवा जनशक्तिको अधिकतम उपयोग गर्न परिषद्ले अघि सारेको युथ भिजन तथा दसवर्षे रणनीतिक योजना र राष्ट्रिय युवा नीति वि.सं. २०७२ को सफलता सरोकार पक्षसँगको सद्भाव, सहयोग, सहकार्य, समन्वय, स्वामित्व र समीक्षा (७ स) मा भर पर्नेतर्फ हेक्का राख्न बिर्सनुहँुदैन । रोजगार सिर्जना र युवा सशक्तीकरणका लागि सङ्घीय संरचनाअनुसारका तीनै तहका सरकार र युुवा परिषद्बिच सुमधुर सम्बन्ध र सहकार्य अपरिहार्य रहन्छ ।
रोजगारीप्रतिको धारणा
रोजगारीका लागि नेपाली कस्तुरीले आपूmमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौँतारिएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ खर्च गरेर खाडी मुलुकको उखरमाउलो गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूल खेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशबाट रोजगारीका लागि नेपाल आएर फलफूल, तरकारी र अन्य सामान बेच्न सहर–बजारमा मात्र नभएर विकट गाउँमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर, गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लोस्तरको काम गर्न मुग्लान नै पस्नुपर्ने किन ? यस्तो नकारात्मक मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै–अभावबाट छट्पटिई निराश भई विरक्तिएर बिदेसिएका नेपाली झन् कष्टकर र अमानवीय व्यवहार सहन बाध्य भएर बिचल्लीमा परेको समाचार बग्रेल्ती पाइन्छन् । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले बिदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणात्मक अध्ययन–अनुसन्धान गरी सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नुहुँदैन ।
रोजगारीको नीतिगत व्यवस्था
नेपालको संविधानको धारा ३३ र ३४ ले प्रत्येक नागरिकको रोजगारी र श्रमको हक सुनिश्चित गरेको छ । राष्ट्रिय युवा परिषद्ले युवाको समग्र विकास र विस्तारका लागि दसवर्षे रणनीतिक योजना र कार्यक्रमका पाँच स्तम्भ तोकेको छ । यी स्तम्भको सबल र सफल कार्यान्वयन गर्न सकेमा निश्चय नै युवाको जीवनस्तर मात्रै परिवर्तन नगरेर देशको मुहार नै फेर्न अहम् भूमिका खेल्नेमा दुईमत हुन सक्दैन । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा बेरोजगारीको दर ११.४ प्रतिशतमध्ये पुरुष १०.३ र महिलाको १३.३ प्रतिशत रहेको छ । सर्वेक्षणाले १५ वर्ष वा सोभन्दा माथिको उमेरका जनसङ्ख्या दुई करोड सात लाख ९४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या रोजगारीको क्षेत्रमा संलग्न देखाएको छ । रोजगारीमा सहरी क्षेत्र ६९.२ र ग्रामीण क्षेत्रमा ३०.८ छ । सर्वेक्षणअनुसार ३७.८ प्रतिशत औपचारिक र ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रका आर्थिक क्रियाकलापमा रहेको पाइन्छ । औपचारिक क्षेत्रको रोजगारीको हिस्सा १५.४ र अनौपचारिकको ८४.६ प्रतिशत रहेको छ । आर्थिक वृद्धिका लागि श्रमशक्ति खपत हुने गरी रोजगार सिर्जना हुन सकेको छैन । राष्ट्रिय योजना आयोगको १६औँ योजनाको आधारपत्रमा औपचारिक क्षेत्रको रोजगारी हिस्सा ५० प्रतिशत पुर्याउने र बेरोजगारी दर ६ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पछिल्लो समय शिक्षित बेरोजगारी सङ्ख्या भयावह रूपमा बढेको छ । शिक्षाले सिपमूलक र उद्यमशीलताभन्दा पनि ज्ञानमूलक र सैद्धान्तिकमा बढी जोड दिइयो । शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा परिभाषित हुँदै जानु विकासका लागि शुभसङ्केत होइन ।
सरकारले श्रम र रोजगारलाई प्रवद्र्धन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमार्फत बेरोजगारलाई विकास निर्माण काममा लगाउने नीति लिएको छ । बेरोजगार लक्षित सिप विकास र उद्याशीलता प्रवद्र्धन गर्न स्थानीय तहसँगको सहकार्यमा तालिमको व्यवस्थाले मौजुदा अवस्था सुध्रिने अपेक्षा गरिएको छ । साथै, युवाको जाँगर समृद्धिको आधार सार्थक बनाउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको मनाउने अठोट गरी विभिन्न निकायमार्फत युवा परिचालन गरिने नीति लिएको छ । राष्ट्रिय युवा परिषद् र युवा स्वरोजगार कोषको संरचना परिवर्तन गरी युवालाई व्यवसायी नेतृत्व लिने गरी क्षमता अभिवृद्धि गर्नेलगायतका सङ्कल्प बजेटमा समावेश गरिएको छ । सरकारको नीति तथा कार्यक्रमको सफलता–असफलता कार्यान्वयनमा संलग्न जनशक्तिको इमानदारिता र कार्यदक्षतामा भर पर्ने वास्तविकता हो ।
युवा विकास र व्यावसायिक शिक्षा
युथभिजन २०२५ ले आत्मसात् गरेको युवा विकासका पाँच आधार स्तम्भमध्ये गुणस्तरीय व्यावसायिक शिक्षा पहिलो र प्रमुख मानिएको छ । खासगरी युवाको योग्यता, क्षमता र राज्यको आवश्यकतालाई मध्यनजर राखी विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी युवा जनशक्ति उत्पादन गर्ने लक्ष्यसहितको व्यावसायिक शिक्षा प्रदान गर्ने नीति युथ भिजनको देखिन्छ । व्यावसायिक शिक्षालगायतका आधारस्तम्भ सशक्त कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायबिच सहकार्यको महत्त्व उत्तिकै रहन्छ । युथभिजनका पाँच आधारभूत स्तम्भमा समावेश कार्यक्रम अन्य मन्त्रालय र सरकारी गैरसरकारी निकायले पनि सञ्चालन गर्ने नीति लिएको पाइन्छ । गुणस्तरीय व्यावसायिक शिक्षाको लक्ष्य प्राप्तिका लागि शिक्षा मन्त्रालय र मातहतका निकायसँगको सहकार्यको अपरिहार्यतालाई नकार्न सकिन्न । व्यावसायिक शिक्षा प्रदान गरेर दक्ष युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य सुगमतापूर्वक हासिल गर्न शिक्षाको जगको रूपमा रहेको विद्यालय तहको शिक्षा सिपलगायत व्यावहारिक र गुणस्तरीय हुनुपर्छ ।
निष्कर्ष
विश्व आज अभूतपूर्व विविधताले भरिएको छ । भाषा, संस्कृति, धर्म, भौगोलिक अवस्था, आर्थिकस्तर, प्रविधिमा पहँुच तथा जीवनशैलीका आधारमा समाज एक-अर्कामा भिन्न हुन्छन् । नेपाल विविधताले भरिएको देशको अनुपम उदाहरण हो । हिमाल, पहाड र तराईका भौगोलिक विविधतासँगै एक सय २३ भन्दा बढी मातृभाषा, बहुआयामिक संस्कृति र सामाजिक परम्पराले हाम्रो राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन् । यी फरक परिवेशले मानिसको जीवनका अवसर र चुनौतीलाई पनि विविध बनाएको हुन्छ । यी विभिन्नताभित्र रहेर पनि शिक्षित, सुरक्षित, समतामूलक, समृद्ध र शान्तिपूर्ण समाजको निर्माण गर्दै सम्मानपूर्वक जीवनयापन गर्ने सबैको एउटै आधारभूत साझा आकाङ्क्षा रहन्छ । आजको डिजिटल युगले विश्वलाई अझ नजिक ल्याएको छ । विभिन्न समुदायले आफ्ना अनुभव, प्रविधि र नवीन अभ्यास आदान–प्रदान गर्दै साझा लक्ष्य प्राप्त गर्न सहयोग गरिरहेका छन् । (लेखक नुवाकोटका पूर्वजिल्ला शिक्षा अधिकारी हुनुहुन्छ ।)






प्रतिक्रिया