विदुर । जन्मेको एक घण्टाभित्र आमाको दुध सेवन सुरू गरी कम्तीमा दुई वर्षसम्म नियमित पिलाउँदा शिशु र आमा दुवैको स्वास्थ्य राम्रो रहने बताइएको छ । विश्व स्तनपान सप्ताहका अवसरमा जनस्वास्थ्य कार्यालय नुवाकोटले प्रत्येक आमालाई शिशु जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान गराउन आग्रह गरेको छ । यस वर्ष ‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि हामी सबैको साथ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह शुक्रबार सम्पन्न भएको छ । यही साउन १६ गतेदेखि सुरु भएको स्तनपान सप्ताहको अवधिमा जिल्लाको सरोकारवाला निकायबिच छलफल, अन्तरक्रिया भएको थियो । जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा एक हजारदिने आमा, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी र सरोकारवालाको उपस्थितिमा स्तनपान प्रवद्र्धन गर्ने विषयमा अन्तरक्रिया तथा बृहत् छलफल र जनचेतनामूलक कार्यक्रम भएको जनस्वास्थ्य निरीक्षक जनार्दन सिलवालले जानकारी दिनुभयो ।

नुवाकोट जिल्लाको आव.२०८२/०८३ को प्रविष्ट तथ्याङ्कअनुसार रिपोर्टिङ डेलिभरीमध्ये ७५ प्रतिशतले एक घण्टामा स्तनपान गराएका छन् भने पोषण रजिस्टरमा दर्ता भएकामध्ये ९७ प्रतिशतले पूर्ण स्तनपान गराएका छन् । कार्यालय प्रमुख डा.अञ्जु कार्कीका अनुसार शिशु जन्मिएपछि पहिलो एक घण्टाभित्र आउने ‘बिगौती दुध’ (कोलोस्ट्रम) अत्यन्त पोषिलो तथा रोगप्रतिरोधात्मक गुणयुक्त हुन्छ । यसमा सङ्क्रमणबाट जोगाउने इम्युनोग्लोबुलिन, आँखा, छाला र प्रतिरक्षा प्रणालीका लागि लाभदायी भिटामिन ‘ए’, भिटामिन ‘ई’ र ‘के’, जिङ्क, खनिज तत्त्व तथा ब्याक्टेरियाविरुद्ध लड्ने ल्याक्टोफेरिन पाइन्छ । यी तत्त्वले शिशुलाई सङ्क्रमणबाट जोगाउने, आन्द्रालाई स्वस्थ राख्ने, पोषक तत्त्वको अवशोषण बढाउने तथा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छन् । साथै, स्तनपानले शिशुमा सुरक्षाको अनुभूति गराई मानसिक तथा शारीरिक विकासमा टेवा पुर्याउनुका साथै कुपोषणबाट पनि जोगाउँछ । शिशु जन्मेको पहिलो ६ महिनासम्म आमाको दुध मात्र खुवाउन तथा त्यसपछि दुई वर्षसम्म आमाको दुधसँगै बहुपोषणयुक्त ठोस आहार खुवाउन जनस्वास्थ्यले सिफारिस गरेको छ । कार्यालय प्रमुख डा. कार्कीले बताएअनुसार स्तनपानले शिशुलाई मात्र नभई आमाको स्वास्थ्यमा पनि उल्लेखनीय लाभ पुर्याउँछ । शिशु जन्मिएलगत्तै स्तनपान गराउँदा सुत्केरीमा अत्यधिक रक्तस्रावको जोखिम कम हुने, पाठेघर चाँडै सामान्य अवस्थामा फर्किने तथा आमा-शिशुबिच भावनात्मक सम्बन्ध अझ प्रगाढ बन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सके ३३ प्रतिशत नवजात शिशुको मृत्यु रोक्न सकिन्छ । नेपाल बहुसूचक सर्वेक्षण २०२५ अनुसार नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ३८.४ प्रतिशत रहेको छ भने पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ६९.७ प्रतिशत छ । त्यस्तै, नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार नेपालमा २५ प्रतिशत बालबालिका कुपोषणको समस्याबाट प्रभावित छन् । सर्वेक्षणले ५६ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने, ५५ प्रतिशत आमाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने तथा ७४ प्रतिशत आमाले दुई वर्षसम्म स्तनपान गराउने तथ्य देखाएको छ । पूर्ण स्तनपानको दर कर्णाली र सुदूरपश्चिममा सबैभन्दा बढी ७४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशमा सबैभन्दा कम ३६ प्रतिशत रहेको उल्लेख गरिएको छ । तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ४५ प्रतिशत बालबालिकाको मृत्युमा कुपोषण प्रमुख कारण रहेको छ, जसको न्यूनीकरणमा स्तनपान प्रभावकारी उपाय मानिएको छ ।
नेपालमा अपूर्ण स्तनपानको समस्या न्यूनीकरण गर्न सरकारले ‘स्तनपान कक्ष तथा स्तनपान सञ्चालन कार्यविधि, २०८०’ लागू गरी सरकारी, निजी तथा सार्वजनिक कार्यालयमा स्तनपान कक्ष निर्माणलाई प्राथमिकता दिएको छ । हालसम्म ६५ भन्दा बढी अस्पतालमा स्तनपान कक्ष स्थापना भइसकेका छन् । साथै, जन्मिनेबित्तिकै आमाको दुध पाउन नसकेका शिशुका लागि अस्पतालमा मिल्क बैंक स्थापना, प्रसूति सेवासँगै स्तनपान परामर्शदाताको व्यवस्थालगायतका कार्यक्रममार्फत सरकारले स्तनपान प्रवद्र्धनलाई प्राथमिकतामा राखेको पोषण शाखाले जनाएको छ ।






प्रतिक्रिया