ढिकुरे । नौ वर्षपछि लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि बुधबार वडा नं ४ चौघडामा शिलान्यास भएको छ । अबको १८ महिनापछि लिखुको कार्यालय तथा सेवा आफ्नै नयाँ भवनबाट सञ्चालन हुने छ ।

अधिकारसम्पन्न स्थानीय तह भएको झन्डै एक दशकमा भवन निर्माणका लागि नुवाकोट जिल्लास्थित पालिकाले चौघडामा रहेको सरकारी जग्गा प्राप्त गरेको थियो । जिल्लाका लिखुबाहेक ११ पालिकाले भवन निर्माण सम्पन्न गरिसकेका छन् । भवन निर्माण सुरू गर्ने लिखु कान्छो पालिका बनेको छ । भूमि प्रशासन कार्यालय नुवाकोटले चौघडा सिंचाइ सबडिभिजनका नाममा कित्ता नं ३६८ र ९०१ मा रहेको कुल ६ रोपनी पाँच आना एक पैसा तिन दाम सरकारी जग्गा लिखुलाई प्रशासनिक भवन निर्माणका लागि उपयोग गर्न गत साउन ६ गते प्रमाणपत्र दिएपछि यही बुधबार शिलान्यास भएको हो । पालिकालाई जग्गाको उद्देश्यबेगर अन्य कार्यमा उपभोग गर्न नपाइने, जग्गाको उचित संरक्षण र संवद्र्धन हुनुपर्ने, कुनै नाफामूलक वा व्यवसायमूलक कार्यमा लगाउन नपाइने तथा ऐतिहासिक–पुरातात्त्विक–धार्मिक–सांस्कृतिक महत्त्वको स्थलको मौलिकतामा असर नपर्ने गरी उपभोग गर्नुपर्ने प्रावधान राखी भोगाधिकार दिइएको छ ।

पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भवन निर्माणका लागि जग पूजा गरेर शिलान्यास गरेको कार्यपालिकाका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष नरहरि पाण्डेले जानकारी दिनुभयो । निर्माण हुने भवनको जग्गा ३२ हजार छ सय ६३ वर्गफिट, भुइँतलाले ओगटेको जमिन सात हजार पाँच सय ९० दशमलव २८ वर्गफिट रहेको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । भवन चार तलाको १४ दशमलव २० मिटर उचाइको हुनेछ । भवन निर्माणको लागत अनुमान रू.११ करोड ३२ लाख भए पनि २८ प्रतिशत घटेर रू.सात करोड ९७ लाखमा सूर्यकिरण निर्माण सेवा, नख्खिपोट, ललितपुरले १८ महिनाभित्र अर्थात् विसं २०८४ माघ मसान्तसम्म निर्माण गर्ने सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।
बर्साैँदेखि आफ्नै प्रशासकीय भवनको अभाव झेल्दै आएको लिखुका लागि यो जग्गा प्राप्ति र भवन निर्माण सुरू हुनुलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ । भवन निर्माणको प्रक्रिया अघि बढेपछि स्थानीयवासी उत्साही बनेका छन् । लामो समयदेखि कहिले भाडाको घर तथा अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको लिखुले डेढ वर्षभित्र आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने बताइएको छ । हाल लिखु-३ भलाद्मीडाँडाबाट सञ्चालन हुँदै आएका लिखुको कार्यालय तथा सेवा निकट भविष्यमा आफ्नै भवनबाट सञ्चालन हुने भएपछि सेवाप्रवाह अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा उपाध्यक्ष सुभद्रा अधिकारीले व्यक्त गर्नुभयो ।






प्रतिक्रिया