+
Search

ताजा अपडेट +

पपुलर +

रोकिराखिएको बस गुड्दा…

रोकिराखिएको बस गुड्दा…
त्रिशूली प्रवाह
३० मिनेट अगाडी

शिवपुरी । नुवाकोट जिल्लाको शिवपुरी–७, थानाभन्ज्याङस्थित छहरे–टोखा सडकखण्डमा काठमाडौँबाट दुप्चेश्वर मन्दिर दर्शन गर्न जाँदै गरेको बस रोकिराखेको अवस्थामा गुडेर दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा तीनजना घाइते भएका छन् ।

Utsuk Books & Stationery

उक्त बस गुड्दा रोकिराखेको इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सडकदेखि अन्दाजी ३०–४० मिटर भिरमा खस्दा बसमा सवार यात्रुमध्ये पाँचजना घाइते भएका थिए । घाइतेलाई ग्रिनसिटी अस्पताल काठमाडौँ उपचारका लागि लगेकोमा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सहप्रवक्ता प्रहरी निरीक्षक वीरबहादुर बुडाऐरले जानकारी दिनुभयो । मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापति डङ्गोल र रामेछापको खाँडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्री छन् । दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काँडाघारी, काठमाडौँ बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी काठमाडौँ बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू नुवाकोटस्थित दुप्चेश्वर महादेवको दर्शन गर्न हिँडेका थिए । सोहीक्रममा बा.प्र.०८–००१ ख.००५२ नम्बरको बस बिहान शिवपुरी–७ स्थित थानाभन्ज्याङमा खाजा खान रोकिएको थियो । बसमा सवार अन्य यात्रु खाजा खान निस्किएका थिए । मृत्यु हुने खत्री र डङ्गोल तथा घाइते हुने सुजाता, शर्मिला र ज्ञानु बसभित्रै थिए । सोही क्रममा बस अचानक आफैँ गुड्न थाल्यो । बसको पछाडि रहेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानलाई ठक्कर दियो । इभीसँगै बस खोल्सातर्फ खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक एसपी विनोद ढकालले पार्क गरी राखेको गाडी आफैँ गुड्दा दुर्घटना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुप्चेश्वर महादेवको दर्शन गर्न बसले तीर्थयात्री लिएर आएको रहेछ । शिवपुरी–७ स्थित थानाभन्ज्याङमा आएपछि खाजा खान बस रोकिएको रहेछ । भिरालो सडक भएको हुँदा बस ओट नाघेर गुड्न पुग्यो । पछाडि रहेको इभी गाडीलाई ठक्कर दियो र नजिकै रहेको खोल्सामा खस्यो । सोही क्रममा दुईजनाको मृत्यु र तीनजना घाइते हुन पुगे ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह