+
Search

ताजा अपडेट +

पपुलर +

सिस्नु कृषक कृष्णको कथा

सिस्नु कृषक कृष्णको कथा
त्रिशूली प्रवाह
९ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्ला, घ्याङफेदीमा जन्मिएका कृष्ण स्याङ्तानको जीवनयात्रा सङ्घर्ष र दृढइच्छाशक्तिको एउटा अनुपम नमुना हो । आफ्नो गृहजिल्लामा प्रारम्भिक शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौँ प्रवेश गर्नुभएका उहाँले आफ्नो योग्यताका आधारमा एक प्रतिष्ठित बैंकमा रोजगारीसमेत प्राप्त गर्नुभयो । धेरैका लागि बैंकको सुरक्षित जागिर नै अन्तिम गन्तव्य हुन सक्थ्यो, तर उहाँभित्र समाज र राष्ट्रका लागि केही फरक र अर्थपूर्ण काम गर्ने हुटहुटी सदैव जीवित रह्यो । नयाँ अनुभव र सिपको खोजीमा बेलायतसम्म पुग्नुभएका उहाँलाई विदेशको भौतिक सुखले भन्दा आफ्नै माटाको सुगन्धले बढी आकर्षित गर्यो  जसका कारण उहाँ स्वदेश फर्किएर निर्माण, यातायात र सामाजिक सेवामा सक्रिय हुनुभयो ।

Utsuk Books & Stationery

कृष्णको व्यावसायिक जीवनमा विसं २०८० साउन १ गते एउटा ऐतिहासिक मोडका रूपमा देखा पर्यो। काठमाडौँको दरबारमार्गमा सञ्चालित ‘रैथाने कृषि हाटबजार’मार्फत उहाँले आफ्नै जन्मथलो विकट घ्याङफेदीका रैथाने उत्पादनलाई सहरिया उपभोक्तासम्म पुर्याउने अभियान सुरु गर्नुभयो । उहाँले गर्नुभएका यस्ता प्रशंसनीय प्रयास, कृषि प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणलाई कृषिसँग सम्बन्धित सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत निरन्तर प्रवद्र्धन भइरहेको छ । उहाँले बजारमा अन्न सँगसँगै घ्याङफेदीको सिस्नु, घिउ आलु र घट्टमा पिसेको कोदो-मकैको पिठो बिक्री गर्दै रैथाने खाद्य संस्कृतिको महत्त्वसमेत स्थापित गराइरहनुभएको छ । विशेषगरी विगतमा ‘गरिबको आहारा’ भनेर उपेक्षित गरिएको सिस्नुलाई उहाँले एक विशिष्ट औषधीय र पौष्टिक ‘सुपरफुड’का रूपमा पुनः परिभाषित गर्नुभयो । सिस्नुको सुप र मःमजस्ता नवीन परिकारको अवधारणा ल्याएर उहाँले घ्याङफेदीको सिस्नुलाई काठमाडौँका आधुनिक भान्साको हिस्सा बनाउन सफल हुनुभएको छ । उहाँले गर्नुभएको यही लगावले गर्दा आज समाजले वास्तविक नामभन्दा पनि आदर र मायाले ‘सिस्नु स्याङ्तान’ भनेर चिन्छन् । उहाँले स्थानीय कृषक र युवालाई आफ्नै स्रोत र साधनको मूल्य बुझाउँदै आत्मनिर्भर बन्न र रैथाने सम्पदाको संरक्षण गर्न उत्प्रेरित गरिरहनुभएको छ ।

कृष्णको यो यात्राले सफलताका लागि ठुलो लगानीभन्दा पनि आफ्नै सेरोफेरोमा रहेका साधारण वस्तुको असाधारण मूल्य चिन्न सक्नु ठुलो कुरा हो भन्ने प्रमाणित गरिदिएको छ । उहाँ आज रैथाने सम्पदा संरक्षण र कृषि उद्यमशीलताका एक सच्चा नायकका रूपमा स्थापित हुनुभएको छ । समग्रमा, कृष्णकोे जीवनयात्रा र सिस्नुको प्रवद्धनले स्थानीय स्रोतको सदुपयोगमार्फत कसरी राष्ट्रिय आत्मनिर्भरता र व्यक्तिगत पहिचान निर्माण गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेर ग्रामीण अर्थतन्त्रको सबलीकरणमा ठोस टेवा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह