विदुर । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटमातहतका कार्यालयबाट सवारी चेकजाँचको क्रममा बरामद गरिएका चोरीका मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरिएको छ । गत वर्ष काठमाडौँबाट हराएका तीन थान मोटरसाइकल नियन्त्रण लिई एक थान सम्बन्धित सवारीधनीलाई शुक्रबार हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रनाउ इकवाल हवारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८३/०८४ को सुरुवातसँगै दुवै कार्यालयले छुट्टाछुट्टै योजना तयारी गरी कार्यान्वयनमा ल्याएसँगै विभिन्न मितिमा काठमाडौँको विभिन्न स्थानबाट चोरी भएको तीनवटा मोटरसाइकल बरामद भएका छन् भने चोरीका मोटरसाइकलसहित नियन्त्रणमा लिएका व्यक्तिलाई कानुनबमोजिम चोरी मुद्दामा अनुसन्धान भइरहेकोसमेत प्रनाउ हवारीले बताउनुभयो । गत साउन २२ गते इलाका प्रहरी कार्यालय खरानीटार क्षेत्रबाट बा.४१ प.९३५३ नम्बरको टिभिएस कम्पनीको आरटिआर मोटरसाइकल नियन्त्रणमा लिनुका साथै मोटरसाइकल चलाउने चालक र सोही मोटरसाइकल पछाडि सवार हुने व्यक्तिलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो । नियन्त्रणमा लिएको मोटरसाइकल साउन ११ गते काठमाडौँ बुढानीलकण्ठबाट हराएको पुष्टि भएको छ । त्यस्तै, गत साउन २६ गते विदुर-५ माझीटारमा ट्राफिक प्रहरीसहितको संयुक्त प्रहरीको चेकजाँचको चेकिङ देखेर भाग्ने क्रममा आफैँ अनियन्त्रित भई सामान्य रूपमा लडी पल्टन जाँदा चालकसहित बा.प्र.०२-००१ प ५१४२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल र चालकसमेतलाई नियन्त्रण ल्याई तत्काल आवश्यक खोजतलास तथा जाँचबुझ गर्दा चोरीको ठहर भई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको थियो । थप आवश्यक अनुसन्धान गर्दा वास्तविक नम्बर लुम्बिनी प्रदेश ०२-००१ प ५१४२ प्लेटलाई परिवर्तन गरी बागमती प्रदेश ०२-००१ प ५१४२ नम्बरको बनाई चलाएको पाइएको र उक्त मोटरसाइकल विसं २०८२ माघ २८ गते रातिको ११ बजे काठमाडौँ-३१ शंखमूल गणेशपार्कबाट पार्किङमा राखेको अवस्थामा हराएको थियो । सम्बन्धित धनीलाई सवारीसाधन बुझिलिनका लागि खबरसमेत भइसकेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी, गत साउन १५ गते कागजपत्र नभएको कसुरमा नियन्त्रणमा ल्याइएको बा.प्र.०२-०५१ प ३०७५ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्दा वास्तविक नम्बर प्लेट बा.प्र.०२-०५० प ३७४२ लाई परिवर्तन गरी सञ्चालनमा रहेको र सवारीसाधन चलाउने चालकको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ । सो मोटरसाइकल विसं २०८२ फागुन १० गते राति काठमाडौँ बालाजुबाट हराएको पुष्टि भएको छ । उक्त मोेटरसाइकल गत साउन २९ गते शुक्रबार सम्बन्धित सवारीधनी किस्पाङ-२ बस्ने पूर्णबहादुर तामाङलाई प्रहरी कार्यालयमा प्रहरी प्रवक्ता प्रनाउ हवारी र ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले हस्तान्तरण गर्नुभएको थियो ।






प्रतिक्रिया