विदुर । नुवाकोट जिल्लामा आठ शाखा रहेको ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफा, सञ्चालन मुनाफा तथा अन्य प्रमुख सूचकमा बलियो वृद्धि हासिल गरेको छ । विगत चार वर्षदेखि सेयर सदस्यलाई मुनाफा दिन नसकेको ज्योतिले यस वर्ष बोनस दिने भएको छ ।

बैंकको नुवाकोटमा छहरे, रातमाते, समुन्द्रटार, बट्टार, त्रिशूली, कोलनी, देउराली र सामरीमा शाखा सञ्चालनमा रहेका छन् । सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म बैंकले रू.एक अर्ब ५९ लाख ५२ हजार खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको रू.१२ करोड २० हजारको तुलनामा नौ सय ५.७५ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी पनि ११.७७ प्रतिशतले बढेर रू.दुई अर्ब ३४ करोड १९ लाख ७० हजार पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी रू.दुई अर्ब नौ करोड ५३ लाख १३ हजार रहेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशतले वृद्धि भई रू.दुई अर्ब ८१ करोड ३५ लाख ६६ हजार पुगेको छ, जुन अघिल्लो वर्ष रू.२ अर्ब ४७ करोड ६ लाख ४४ हजार थियो । सञ्चालन मुनाफामा अझ ठुलो सुधार देखिएको छ । बैंकको सञ्चालन मुनाफा तीन सय ६०.१४ प्रतिशतले बढेर रू.एक अर्ब ७९ करोड ३७ लाख ५० हजार पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा रू.३८ करोड ९८ लाख २१ हजार मात्र थियो ।
बैंकको वितरणयोग्य मुनाफा पनि सकारात्मक अवस्थामा फर्किएको छ । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा रु. १४ करोड ४३ लाख ६४ हजार पुगेको छ । अघिल्लो वर्ष भने यो रू.९९ करोड ९४ लाख ऋणात्मक रहेको थियो । सम्पत्ति गुणस्तरतर्फ पनि सुधार देखिएको छ । बैंकको निष्क्रिय कर्जा (एनपिएल) अघिल्लो वर्षको ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दानी (इपिएस) रू.दुई पैसा २८ बाट बढेर रू.२२ पैसा ८८ पुगेको छ । प्रतिसेयर नेटवर्थ एक सय ७०.९७ रहेको छ भने पिई रेसियो १४.८२ गुणा कायम भएको छ ।






प्रतिक्रिया