+
Search

ताजा अपडेट +

पपुलर +

५८ हजारले गरे रसुवाको भ्रमण

पर्यटन आगमन १३ प्रतिशतले वृद्धि

५८ हजारले गरे रसुवाको भ्रमण
त्रिशूली प्रवाह
१५ घण्टा अगाडी

धुन्चे । हिमाली प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित लाङ्टाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । रसुवा जिल्लाभित्रका पवित्र तीर्थस्थल गोसाईँकुण्ड, पार्वतीकुण्डसहित लाङ्टाङ उपत्यका तथा निकुञ्ज क्षेत्रको विभिन्न पर्यटकीय गन्तव्यमा गत वर्ष ५८ हजार पाँच सय १७ जना पर्यटकले भ्रमण गरेको तथ्याङ्क निकुञ्ज कार्यालयले सार्वजनिक गरेको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को ४३ हजार नौ सय ९२ को तुलनामा करिब १३ प्रतिशतले वृद्धि हो ।

Utsuk Books & Stationery

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राजधानी काठमाडौँबाट छोटो समयमै हिमाली सौन्दर्य र धार्मिक पर्यटनको अनुभव लिन सकिने भएकाले पछिल्ला वर्षमा रसुवा आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । सरकारले हप्तामा दुई दिन बिदा दिएकाले पनि घुमफिरमा निस्कनेको सङ्ख्या बढेको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । राजधानी काठमाडौँबाट यात्रा सुरु गरेको दोस्रो दिन गोसाईँकुण्ड र तेस्रो दिन लाङ्टाङको क्यान्जिन उपत्यकतासम्म पुग्न सकिने सहज पदमार्ग नै रसुवाको मुख्य आकर्षण बनेको छ । निकुञ्जका अभिलेखकर्ता रेन्जर केशव ढोडारीका अनुसार गत आर्थिक वर्षमा भ्रमण गर्ने पर्यटकमध्ये ४५ हजार सात सय २३ नेपाली, आठ सय २४ सार्क मुलुकका नागरिक तथा ११ हजार नौ सय ७० अन्य विदेशी पर्यटक रहेका छन् । पर्यटक आगमनसँगै निकुञ्जको राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव परेको छ । निकुञ्जले पर्यटन प्रवेश शुल्क, वन पैदावार, दण्ड–जरिवाना, हेलिकोप्टर अवतरण शुल्क, मूल्य अभिवृद्धि कर, प्रशासनिक सेवा शुल्क, होटेल कर तथा अन्य सेवाबाट राजस्व सङ्कलन गर्दै आएको छ ।

पर्यटनसँगै संरक्षणको उद्देश्य
विसं २०३२ मा स्थापना भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना हिमाली पारिस्थितिक प्रणाली, दुर्लभ वन्यजन्तु, जैविक विविधता, हिमाली वनस्पति तथा स्थानीय संस्कृति संरक्षण गर्ने उद्देश्यले गरिएको थियो । निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ । यसको एक हजार सात सय १० वर्गकिलोमिटर संरक्षित क्षेत्र र चार सय २० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ । निकुञ्जका रेन्जर रूपेश लामाका अनुसार निकुञ्ज क्षेत्रमा प्रवेश गर्दा अनुमति लिएर मात्र यात्रा गर्न, आफ्नो यात्रा विवरण खुलाउन तथा पदयात्राका क्रममा भेटिने वन्यजन्तुलाई नतर्साई प्राकृतिक वातावरणमै अवलोकन गर्न अनुरोध गरिएको छ । वरिष्ठ संरक्षण अधिकृत डा.श्यामकुमार साहले पदयात्राका क्रममा लठ्ठी बनाउन भन्दै वनस्पति नकाट्न, वन्यजन्तुमाथि कुनै प्रकारको हिंसा वा दुव्र्यवहार नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण एउटा रूख पूर्ण रूपमा हुर्किन करिब २० वर्ष लाग्ने भएकाले अनावश्यक रूपमा वनस्पति काट्दा हिमाली वातावरण र धार्मिक वन दुवैमा नकारात्मक असर पुग्ने गर्दछ ।

दुर्लभ वन्यजन्तुको सुरक्षित वासस्थान
रसुवागढीदेखि नुवाकोटको दुप्चेश्वर हुँदै सिन्धुपाल्चोकको स्याउलेसम्म फैलिएको निकुञ्ज जैविक विविधताको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यहाँ ४६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । विश्वकै दुर्लभ मानिने रातो हाब्रे (रेडपान्डा), हिमचितुवा, आसामी बाँदरलगायतका वन्यजन्तु यहाँका प्रमुख आकर्षण हुन् । निकुञ्जका अनुसार आर्थिक वर्ष २०३५/०३६ देखि यस क्षेत्रमा व्यवस्थित रूपमा पर्यटक आगमन सुरू भएको हो । त्यसयता पर्यटन शुल्कबाट प्राप्त राजस्वले संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

वन्यजन्तु संरक्षणमा चुनौती
गत आर्थिक वर्ष २०८१/०८२ मा गोसाईँकुण्ड-४ स्थित लाङ्टाङ क्षेत्रमा दुईवटा कस्तुरी मृग पासोमा परी मरेको भेटिएपछि निगरानी थप कडा बनाइएको निकुञ्जले जनाएको छ । त्यस अवधिमा कुकुरको आक्रमणबाट एक बाँदर र एक नीरबिरालो, पासोका कारण एक मलसाप्रो, सडक दुर्घटनाबाट एक रतुवा, भिरबाट लडेर एक घोरल तथा प्राकृतिक कारणले एक कोइरालो (उड्ने लोखर्के) मृत अवस्थामा फेला परेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । निकुञ्ज प्रशासनले संरक्षण र पर्यटन एक-अर्काका परिपूरक भएको उल्लेख गर्दै हिमाली प्रकृति, वन्यजन्तु र सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदाय, पर्यटक तथा सरोकारवाला सबैको साझा जिम्मेवारी रहेको जनाएको छ । प्राकृतिक सम्पदाको दिगो संरक्षण गर्न सके पर्यटन प्रवद्धनसँगै स्थानीय अर्थतन्त्र पनि थप सवल बन्ने विश्वास निकुञ्जको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह