काठमाडौँ । नेपालको पहिलो सुरूङमार्ग बनेको झन्डै एक वर्षपछि नागढुङ्गा–सिस्ने खोला गत महिना औपचारिक रूपमा उद्घाटन भएर तीन महिनाका लागि परीक्षण सञ्चालन भइरहेको छ । सुरूङमार्गमा परीक्षणकालको अवधिभर एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधन मात्र गुडिरहेका छन् । पूर्ण सञ्चालनपछि पनि मोटरसाइकल र इन्धन बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ । परीक्षणकालभर गुड्ने गाडीको प्रवेश निःशुल्क गरिएको छ ।

विसं २०७६ मा शिलान्यास गरिएको शिलालेख जेन–जी आन्दोलनका क्रममा नष्ट भएको दाबी गरिएको छ । जापानी ठेकेदार हाजमा–आन्दो जेभीले निर्माण गरेको आयोजनामा जाइकाको रू.१६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको मुआब्जालगायत थप लगानी छ । सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन–एआरटी जेभीलाई दिइएको छ, जसले पाँच वर्षमा सरकारलाई रू.एक अर्ब १० करोड राजस्व बुझाउने प्रतिबद्धता जनाएको छ । सुरूङमार्ग सञ्चालनसँगै नागढुङ्गा–थानकोट क्षेत्रको लामो जाम घट्ने, यात्रा समय करिब आधा घण्टामा सीमित हुने र दूरी पनि करिब दुई दशमलव पाँच किलोमिटर छोटिने अपेक्षा गरिएको छ । विसं २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । ओलीले शिलान्यास गरेको शिलालेख जेन–जी आन्दोलनको क्रममा हराएको थियो । तत्कालीन प्रधानमन्त्रीले शिलान्यास गरेको शिलालेख विभागका कर्मचारीको चरम लापरबाहीले गायब भएको स्थानीयवासी बताउँछन् ।
कति खर्च
विसं २०७६ देखि निर्माण सुरू गरिएको सुरूङमार्ग परियोजनाको पटक–पटक म्याद थप भइसकेको छ । सुरूङमार्ग निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ । आयोजनामा रू.१६ अर्ब जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप रू.नौ अर्ब खर्च गरेको छ । आयोजनाका अनुसार निर्माणमा साढे १८ अर्ब रुपैयाँ खर्च भएको छ भने मुआब्जामा करिब रू.६ अर्ब खर्च भएको छ । पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा चाइनिज कम्पनी युसिन एआरटी जेभीलाई दिएको छ । युसिन नेपाली कम्पनी हो भने एआरटी चाइनिज कम्पनी हो । टेन्डर प्रक्रियाबाट उक्त कम्पनी छनोट गरिएको थियो । युसिन कम्पनीका अनुसार सुरूङमार्ग सञ्चालन गर्न आवश्यक देखिएका एक सय ५० जना कर्मचारीलाई हाल तालिम दिइरहेको छ । ती कम्पनीका अनुसार एक सय ५० मध्ये सातजना कर्मचारी विदेशी छन् । विदेशी प्राविधिक कर्मचारीसँग यसअघि सुरूङमार्ग सञ्चालन गरेको अनुभव हुनेछ । नेपाली कर्मचारीका लागि भने पहिलो अनुभव हुनेछ । सरकारले सुरूङमार्ग भएर गुड्ने सवारीसाधनले बुझाउनुपर्ने शुल्कसमेत तोकिसकेको छ । उक्त शुल्क राजपत्रमा प्रकाशित भएको छ । विभागका अनुसार रू.६० देखि रू.६ सय तोकिएको छ । काठमाडौँ प्रवेश गर्दा र बाहिरिँदा फरक–फरक शुल्क राखिएको छ । सुरूङमार्गबाट शुल्क उठाएबापत एआरटी युसिन कम्पनीले पाँच वर्षमा सरकारलाई रू.एक अर्ब १० करोड राजस्व बुझाउने प्रतिबद्धता गरेको छ ।
किन ढिलो सञ्चालनमा
सुरूङमार्ग सञ्चालन गर्न सेवा प्रदायक छान्न नै केही महिना ढिलो भएको थियो । यसले पनि सुरूङमार्ग ढिलो सञ्चालन भएको आयोजनाका कर्मचारी बताउँछन् । गत पुस १७ गतेबाट सरकारले सुरूङमार्ग सञ्चालन गर्ने तयारी गरेको थियो, तर विभिन्न कारण देखाउँदै सरकारले सुरूङमार्ग सञ्चालन गर्ने मिति पर सार्दै गएको छ । सुरुङमार्ग सञ्चालन गर्न कार्यविधि बनाउने विषयमा पनि केही समय ढिलो भएको थियो । गत असोजमा मात्र सरकारले नागढुङ्गा सुरूङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि सेवा प्रदायक परिचालन गर्न टनेल सञ्चालन र व्यवस्थापन (टनेल अप्रेसन एन्ड मेनेजमेन्ट) कार्यविधि पास गरेको थियो । सडक विभागका कर्मचारीका अनुसार सुरूङमार्ग सञ्चालन भएपछि काठमाडौँबाट बाहिरिने र बाहिरबाट काठमाडौँ भित्रिने सवारीसाधनलाई थानकोट–नागढुङ्गामा घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता हट्नेछ । सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनले उक्त दूरी आधा घण्टामै पार गर्नेछन् । विभागका अनुसार बलम्बुदेखि सिस्ने खोलासम्मको दूरी सात दशमलव पाँच किलोमिटर छ, तर सुरूङमार्ग सञ्चालन भएपछि साढे दुई किलोमिटर बाटो छोट्टिएर पाँच किलोमिटरमा सीमित हुनेछ ।
आयोजनाका अनुसार एआरटी युसिन कम्पनीले नै सुरूङमार्गभित्र अक्सिजन, अग्नि नियन्त्रक, सुरक्षा, सञ्चारलगायतका सुविधा र शुल्क उठाउने व्यवस्था मिलाउनुपर्नेछ । सुरूङमार्गभित्र बिजुलीको व्यवस्था पनि शुल्क उठाउने कम्पनी÷निकायले नै गर्नेछ । मन्त्रालयका एक कर्मचारीले यो सुरूङमार्ग नेपालको पहिलो अनुभव भएकाले कानुनको मस्यौदा गर्नेलगायतका तयारीमै केही समय अलमल भएको बताउनुभयो ।






प्रतिक्रिया