धुन्चे । जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड तथा पार्वतीकुण्ड मेला अवधिभर केरुङ जाने मालवाहक कन्टेनरलाई धुन्चेस्थित रेडपान्डा पार्कमा पार्किङको व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र परियारका अनुसार भदौ १२ गते हुने गोसाइँकुण्ड तथा पार्वतीकुण्ड मेलालाई व्यवस्थित, मर्यादित र त्रुटिरहित रूपमा सम्पन्न गर्न पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेर केरुङ जाने मालवाहक डिब्बालाई रेडपान्डा पार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ ।

भक्तजनले ल्याउने सवारीसाधनको चापलाई ध्यानमा राख्दै रसुवामा व्यवस्थित पार्किङको व्यवस्था मिलाउने सडकको छेउछाउमा पार्किङ हुँदै आएका केरुङ जाने मालवाहक कन्टेनरलाई स्थानान्तरण गरी सडक यातायात सहज बनाइएको छ । धुन्चेस्थित प्रहरी चेकपोइन्टदेखि ब्राबलको भिरसम्म सडकको छेउकुना तथा डिलमा केरुङबाट मालसामान आयात गर्न जाने कन्टेनर पार्किङ गर्दा राजमार्गका नाली बिग्रने, सडक भासिने तथा सडक साँघुरो भई नियमित सवारी आवागमनमा समेत समस्या हुँदै आएको छ । भौगोलिक अवस्थाका कारण रसुवामा तत्काल समथर जमिन उपलब्ध गराउन कठिन रहेकाले हाललाई रेडपान्डा क्षेत्रमा अस्थायी पार्किङस्थल बनाइएको छ । सडकमा रहेका कन्टेनर व्यवस्थित पार्किङस्थलमा सारिएपछि पासाङल्हामु मार्गमा मालवाहक सवारीसाधन सहज रूपमा सञ्चालन हुनुका साथै दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामग्री तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता आउने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । बिरामी बोकेका एम्बुलेन्सलगायतका सवारीसाधनलाई समेत आवागमनमा सहज हुनेछ । यसैबिच, केरुङ जाने कन्टेनर पार्किङका कारण सडकका डिल तथा कुनातर्फ क्षति पुगेका नालीको डिभिजन सडक कार्यालयमार्फत मर्मत तथा पुनर्निर्माण गरिने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।






प्रतिक्रिया