+
Search

ताजा अपडेट +

पपुलर +

यसै वर्ष त्रिशूलीसहित चार अस्पतालमा जलन उपचार

यसै वर्ष त्रिशूलीसहित चार अस्पतालमा जलन उपचार
त्रिशूली प्रवाह
४२ मिनेट अगाडी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका त्रिशूली, हेटौँडा, सिन्धुली र भक्तपुर अस्पतालमा छिट्टै जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ । चालू आवमा सरकारले १३ प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालनको तयारीसमेत अघि बढाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Utsuk Books & Stationery

१३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट नियमित मिर्गौला डायलाइसिस सेवा सञ्चालन भइरहेको जानकारी गराइएको छ । उपकरण र जनशक्तिको अभावका बाबजुद प्रदेशवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशका प्रादेशिक अस्पतालबाट दैनिक आठ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिइरहेका छन् । पछिल्लो समय हेटौँडा अस्पतालमा बारा, पर्सा, रौतहट र महोत्तरीबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । प्रदेशमा हाल १४ प्रकारका औषधि उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ । गर्भवती महिलाको स्वास्थ्य सेवा सहज बनाउन ग्रामीण क्षेत्रमा तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर अस्पताल, त्रिशूली अस्पताल, धादिङ अस्पताल र रसुवा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालनमा रहेका छन् । साथै, चौतारा अस्पताल र हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग सेवा सञ्चालन गरिएको तथा भक्तपुर अस्पतालबाट अल्जाइमर्ससम्बन्धी सेवा सुरू गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेश सरकारले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरेको छ । नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेश तथा जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ भने काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुला व्यायामशाला स्थापना गरिएको छ । चितवनको माडी, खैरहनी र रत्ननगर नगरपालिकामा एक हजार ६ सय दुईजनाको सिकलसेल एनिमिया र थालेसिमियाको निःशुल्क परीक्षण गरिएको तथा नेपाल सरकार र स्थानीय तहसँगको सहकार्यमा दुई लाख ५६ हजार चार सय ७० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री किरण थापामगरले आगामी आर्थिक वर्षमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा क्याथ ल्याबसहित मुटुरोग उपचार सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँले पिछडिएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि पौष्टिक आहार कार्यक्रमलाई निरन्तरता दिइने र धादिङको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा लेभल–५ ट्रमा सेन्टर स्थापना गर्न बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह