+
Search

ताजा अपडेट +

पपुलर +

१७ बस्ती स्थानान्तरणको प्रक्रियामा

१७ बस्ती स्थानान्तरणको प्रक्रियामा
त्रिशूली प्रवाह
५१ मिनेट अगाडी

धुन्चे । रसुवा जिल्लाका पाँच गाउँपालिकाका १७ बस्ती पहिरो र प्राकृतिक विपत्को जोखिममा छन् । जिल्ला विपत् व्यवस्थापन समितिको गत हप्ता सम्पन्न बैठकले बस्तीको संरक्षणका लागि पूर्वाधार विकास मन्त्रालय (सिंहदरबार र हेटौँडा) सँग बजेट माग गरेकोे छ ।

Utsuk Books & Stationery

समितिका अध्यक्ष एवम् रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार जिल्लाका जोखिमका बस्तीमा क्षति कम गर्न ती क्षेत्र खाली गरी लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय गरेर तत्कालका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ । बैठकले यही भदौ १२ गते लाग्ने गोसाईँकुण्ड मेलालाई व्यवस्थित र सुरक्षित बनाउन उपसमिति बनाएर परिचालन गर्ने निर्णय गरेको छ । बैठकमा सङ्घीय सांसद मोहन आचार्य, प्रदेश सभा सदस्य इन्द्र गोतामे, जिसस प्रमुख अशोककुमार घिमिरेलगायत पालिकाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सुरक्षा निकायका प्रमुख, विपत् र पूर्वाधारसँग सम्बन्धित कार्यालयका प्रमुखलगायत सरोकारवालाको उपस्थिति थियो । मेला अवधिभर जिल्लाभित्रको सवारी आवागमनलाई सुरक्षित बनाउन धुन्चेदेखि श्रीनाथ गण र धुन्चे चेकपोस्टतर्फ राखिएका मालवाहक सवारीसाधनलाई गोसाईँकुण्ड–६ स्थित रेडपान्डा पार्कअगाडिको खुला स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको छ । यसअघि भत्किएको वा बिग्रेको सडक तथा नाला मर्मतका लागि सडक डिभिजन नुवाकोटले आवश्यक कार्य अघि बढाउन बैठकले मिति तोकेर निर्देशन दिएको छ । गत साउन १४ गते र त्यसपछि पटक–पटक आएको बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गतको त्रिशूली–मैलुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्लाको उत्तरगया–५, नौबिसे पेट्रोलपम्पनजिक सडक कटान भएका कारण स्थानीय बस्ती, जलविद्युत् आयोजना र गाउँपालिकाको प्रशासनिक कार्यालयसमेत उच्च जोखिममा परेका छन् । जोखिमका बस्तीको संरक्षणका लागि पहल गरिने भएको छ । आमाछोदिङ्मोको फूलबारी बस्ती र पाजुङ घरबस्ती, उत्तरगयाको बलेखर्क बस्ती, बनुवा घुम्ती बस्ती र चिप्लेटी बस्ती, कालिकाको चित्रेपानी बस्ती, गोम्बा डाँडा घरबस्ती, बाँस्तोला घरबस्ती, पाख्रिन टोल, डिखेत घरबस्ती, रूपसेपानी र ग्राङ क्षेत्र रहेका छन् ।

त्यसैगरी, गोसाईँकुण्डको बहाल फेदी (साबिक थुमन–८), बाहुनी (साबिक स्याफ्रुबेँसी–१) र स्याफ्रुबेँसी बजार क्षेत्रलगायत नौकुण्डको थाङ्दोर पुच्छार, युब्रा बस्ती र एकपाखे बस्ती रहेको छ । यसका साथै, पासाङल्हामु सडकखण्डअन्तर्गत उत्तरगया–५, बनुवाघुम्ती क्षेत्रमा सडक डिभिजन नुवाकोटले निर्माण गरेको ग्याबिन पर्खाल वर्षाका कारण भत्किएकाले त्यसको दीर्घकालीन रोकथामका लागि विस्तृत अध्ययन गर्न समितिको बैठकले निर्देशन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह