+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली बाढी : राहत र उद्धारमा एकद्वार प्रणाली लागु

दुई तुइन स्थापना र जोडी झोलुङ्गे पुल दुई हप्ताभित्र राखिने

त्रिशूली बाढी : राहत र उद्धारमा एकद्वार प्रणाली लागु
शरण उत्सुक
५० मिनेट अगाडी

विदुर । चीनको स्वशासित क्षेत्र तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते आएको आकस्मिक बाढीका कारण आवागमन रोकिएकाले गल्छीदेखि वेत्रावतीसम्म तुइन र झोलुङ्गे पुल राखिने भएको छ । नदीको प्रवाह फराकिलो भएकाले लामो दूरीमा बेलिब्रिज राखिने सम्भावना भने न्यून रहेको अधिकारीहरूले जनाए पनि विभिन्न स्थानमा जडानका लागि सर्वेक्षण भने सुरु भएको जनाइएको छ ।

Utsuk Books & Stationery

सोअनुसार गल्छीदेखि वेत्रावतीसम्म तुइन ६ र झोलुङ्गे पुल चारवटा जडान हुने योजना छ । हाल सिम्मुटार-घुमाउने चौतारा तथा बट्टार गरी दुई ठाउँमा दुई तुइन जडान भइसकेको छ । नदी फराकिलो भएको, तर बढी दूरीको बेलिब्रिज वैदेशिक अनुदानमा प्राप्त नभएकाले सो स्थापना गर्ने सम्भावना नरहेको बताइएको छ । तुइन र झोलुङ्गे पुल उपयुक्त स्थानमा राख्न सर्वेक्षण भइरहेको छ । मानिसलाई वारपार गराउन इन्द्रेणी चौरबाट त्रिशूलीपारि तुइन जडान गरी औषधि र खाद्यान्न पठाउने कार्य भइसकेको छ । बुधबार मध्याह्नसम्म एक सयजना तुइनबाट वारपार गरेको जिल्ला प्रशासन कार्यालयले दिएको छ । यसैबिच हालसम्म पाँच जिल्लाका १५ पालिकामा अकल्पनीय जनधनको क्षति भएको खबर प्राप्त भएका छन् । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ पालिकाका ४९ वडा प्रभावित भएका छन् । गत हप्ता भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको बाढीले रसुवा, उत्तरगयाका वडा नं. १, २, ३, ४ र ५ सबै वडा, गोसाईँकुण्डका १, २, ३ र ५ आमाछोदिङ्मोको १, कालिकाको १, नुवाकोट जिल्ला, तारकेश्वरका २ र ४, किस्पाङको ५, विदुरका १, ४, ५, ९ र १०, बेलकोटगढीका ५, ७ र ८ वडालाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर खोज, राहत, उद्धारमा एकद्वार प्रणाली सुरु गरिएको छ । त्यसैगरी धादिङ जिल्ला, गल्छीका १, २, ४, ६ र ८, गजुरीका १, २, ५ र ६ बेनीघाट-रोराङका ३, ५, ७, ९ र १० तथा सिद्धलेकका ३, ४, ६ र ७, गोरखा जिल्ला, गण्डकीका १, २, ६, ७ र ८, तनहुँ जिल्ला, देवघाटका ४ र ५ एवम् आँबुखैरेनीका ४ र ५ वडा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर शव सङ्कलनको जिम्मा नेपाल प्रहरीलाई, राहत वितरण सशस्त्र प्रहरी बललाई तथा विद्युत्गृहका सुरुङ र अन्य स्थानमा फसेकाको खोज तथा उद्धारका लागि नेपाली सेनालाई जिम्मेवारी दिएर कार्य विभाजन गरिएको जानकारी दिनुभयो । नेपाल प्रहरी तालिमप्राप्त कुकुरसहित प्रभावित क्षेत्रमा शवको खोजीमा जुटिरहेको छ । त्यसैगरी बाढीबाट प्रभावित विदुर, बेलकोटगढी र किस्पाङ पालिकाका प्रमुख, उपप्रमुखलाई अनुगमन तथा सम्बन्धित वडाध्यक्षलाई निगरानी गर्ने गरी खोलिएका अस्थायी बसोबास, शिविर सञ्चालनको जिम्मा दिइएको छ । सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रतिनिधि रहेको संयन्त्रमार्पmत एकद्वार प्रणालीअनुसार आवश्यक क्षेत्रमा राहत वितरण भइरहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा पर्याप्त राहत सामग्री आएकाले विपत्ति प्रभावितलाई बस्न र खानाको समस्या नहुने जिकिर गरिएको छ । सुरक्षाकर्मीले सुरक्षा दिइरहेको अस्थायी शिविरमा खान र बसोबासको उचित व्यवस्था गरिएसँगै स्वास्थ्यकर्मीका टोली खटाइएको छ । ती शिविरमा स्वास्थ्य जाँच र औषधि वितरण सुरु भइरहेको छ । शिविरमा खाना र बास तथा राहतका सामान नपुगेमा प्रहरी प्रशासनलाई जानकारी गराउनसमेत प्रजिअ रेग्मीले विपत् प्रभावितलाई आग्रह गर्नुभयो । बाढी आएको दिन अघिल्लो बुधबारदेखि विदुरबाट महिला र पुरुष गरी रसुवा–नुवाकोटका तीन हजार एक सयभन्दा बढी नेपालीको बुधबार मध्याह्नसम्म उद्धार गरिएको छ । त्यसैगरी उद्धार गरिएका विदेशीको सङ्ख्या दुई सय ५५ छ । शव निकालिएको सङ्ख्या बुधबारसम्म दुई सय नाघेको छ भने घाइतेको सङ्ख्या ७०, बेपत्ताको सङ्ख्या दुई हजार तीन सय ५० रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

जिल्लाका सात स्थानबाट नेपाली सेनाले खोज तथा उद्धार र हरेक स्थानमा पुग्ने गरी विशेष टोली परिचालन गरेकोसमेत बताइएको छ । जिल्लामा बाढीबाट पुरिएका, बगेका, सडकको लेदो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । गल्छी-देवीघाट सडकखण्डको ठुलो खोला पुल तथा ढुङ्गेबजारदेखि तिरतिरे भिरसम्मको सडक मर्मत भइसकेको छ । सो सडकको वेत्रावतीसम्म मर्मत र तीन सय मिटर नदी कटानबाट बगेको स्थानमा वैकल्पिक सडक पहिचान भइरहेको छ । त्रिशूलीपारि क्षेत्र र रसुवा जोड्ने वैकल्पिक सडक सञ्चालनमा रहेकोसमेत उहाँले जानकारी दिनुभयो । त्रिशूली बाढीपछि पुरानै स्थानमा बग्न थालिसकेको र गहिरिँदै गएको प्राविधिकले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शरण उत्सुक